सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

पिकनिक ‘हब’ बन्दै काभ्रे

8735
Shares
पिकनिक ‘हब’ बन्दै काभ्रे

काभ्रे, १३ माघ । राजधानीपूर्वको पर्यटकीय जिल्ला काभ्रे पछिल्लो समय पिकनिक पारखीहरुको हब बन्दै गएको छ । कात्तिक देखि बैशाख महिना सम्म जिल्लाको विभिन्न स्थानमा पिकनिकका लागि आउनेको घुइँचो नै लाग्ने गरेको छ ।

जिल्लाको धुलिखेल, दोलालघाट, पलाञ्चोक र नगरकोट क्षेत्रमा पिकनिक पार्क खोल्ने क्रम समेत ह्वात्तै बढेको छ । “तीन वर्षअघि सम्म पिकनिक पार्क औँलामा गन्न सकिने थियो, देवीस्थान पिकनिक स्पोटका सञ्चालक मनदिल काजी श्रेष्ठले भने “अहिले दिनप्रतिदिन पिकनिक स्पोट नयाँ खुल्दैछन् ।” उनले धुलिखेलको देवीस्थान डाँडामा आफ्नै काकासँगको पार्टनरमा १४ रोपनी जग्गामा पिकनिक स्पोट चलाई रहेका छन् । त्यसका साथै उनले धुलिखेलमै अर्को १० रोपनी क्षेत्रफल जमिन लिजमा लिएर पिकनिक स्पोट सञ्चालनमा ल्याएका छन् ।

धुलिखेलकै अड्डा बजार, हजार सिँढी, देवीस्थान डाँडा, बनेपाको गोसाईथान, भकुण्डेको नौबिसे, पनौती लगायतका स्थानमा शनिबार र बिदाको दिन निकै भिड लाग्ने गरेको छ । काभ्रेमा राजधानी काठमाण्डौ सहित देशका विभिन्न भागका विद्यालय, क्याम्पस, क्लब, सहकारी, महिला समूह, कृषक समूह, टोल सुधार समिति पिकनिकका लागि आउने गरेका छन् ।

“राजधानीबाट नजिक, शान्त ठाउँ भएकाले पिकनिका लागि धुलिखेल आएका हौँ, शनिबार धुलिखेलमा देवीस्थान डाँडामा पिकनिकका लागि आएका झापा भद्रपुर नगरपालिका ९ जनज्योति माविको पूर्व विद्यार्थी समाजका देवेन्द्र पराजुलीले भने “हामी रमाइलो मात्रै गर्दैनौँ, साथीभाईसँग एकै ठाउँमा भेला हुने, विद्यालयको शैक्षिक गुणस्तर सुधार्न नयाँ योजना बनाउने, नयाँ र पुराना पुस्ताबीच घुलमिल गाउन पनि पिकनिकले निकै सहयोग पुर्याएको छ ।”

साथीको विदाई, साधारण सभा, पारिपारिक भेटघाट, विभिन्न जातजातिका समूह समेत पिकनिकका लागि धुलिखेल आउने गरेका छन् । हाजिरी जवाफ, बादविवाद, नृत्य प्रतियोगिता गरेर समेत पिकनिकलाई रमाइलाई गराइरहेका भेटिन्छन् । यहाँका पिकनिक पार्कहरु १५ देखि २० दिन अघि नै बुकिङ हुने गरेका छन् ।

दोलालघाटमा जल पिकनिक


नदीसँग खेल्दै पिकनिकको आनन्द लिनेहरु जिल्लाको दोलालघाट पुग्ने गरेका छन् । जहाँ इन्द्रवाती र सुनकोशी नदी किनारमा पिकनिकमा रमाउन पाइन्छ । नदी किनारमा बढी युवा पक्तिं पिकनिकका लागि पुग्ने गरेका छन् । नदी किनारमा पानी पर्याप्त हुने भएकाले पनि पानीको संकट नझेल्न धेरै दोलालघाट पुग्ने गरेका छन् ।

बालुवाको बिजमा रमाउनेहरुलाई इन्द्रवाती र सुनकोशी नदीले लोभ्याई रहेको छ । तर सवाधानी नपनाउँदा र नदीको बहावका बारे जानकार नहुदाँ बर्षेनी जसो पिकनिक गर्न गएका मध्ये एक न एक जनाको नदीमा डुबेर ज्यान गइरहेको छ ।

पलाञ्चोक र नमोबुद्धमा धार्मिक पिकनिक
जिल्लाको दुई प्रसिद्ध धार्मिक स्थल पलाञ्चोक भगवती र नमोबुद्धमा पनि पिकनिक खान जानेको संख्या पछिल्लो समय निकै बढेको छ । उच्च भागमा रहेको पलाञ्चोकमा चिसो मौसममा पारिलो घाम ताप्दै, नाचगान गरेर रमाउनेको जमात ठूलै देख्न पाइन्छ । यहाँबाट पाँचखाल, कोशीपारी लगायतका स्थान मज्जाले अवलोकन गर्न पनि पाइन्छ ।

यी दुई ठाउँमा पारिवारिक पिकनिक गर्न आउने बढी हुन्छन् । अहिले पाँचखालको लामिडाँडा देखि पलाञ्चोक मन्दिर परिसरसम्म सडकलाई फराकिलो बनाउने क्रम भइरहेको छ । त्यस्तै काभ्रेभञ्ज्याङ देखि नमोबुद्ध जाने सडक पनि विस्तार भइरहेको छ । सडक विस्तार भएसँगै सर्वसाधरणलाई गतन्ब्यमा पुग्न निकै सजिलो भएको छ ।

आम्दानी पनि राम्रो
पिकनिक खाने शैली बढेसँगै जिल्लाको आम्दानी पनि निकै बढेको छ । पिकनिक पार्क सञ्चालकहरुको कमाई पनि राम्रै देखिन्छ । कात्तिक देखि बैशाख महिनासम्म पिकनिक स्पोटहरु भरिभराउन देखिन्छन् ।

बनेपा ७ का रेमण्ड र विवेक कर्माचार्य दाजुभाई मिलेर देवीस्थान डाँडामा पिकनिक स्पोट सञ्चालन गरिरहेका छन् । अर्को वर्षदेखि रिर्सोट समेत सञ्चालनमा ल्याउने योजना सहित उनीहरुको पिकनिक स्पोटमा ८ सय जनासम्म मानिस अट्ने ठाउँ रहेका रेमण्डले बताए । उनका अनुसार मासिक खर्च कटाएर १ लाख ३० हजारसम्म आम्दानी हुने गरेको छ । ५ देखि ७ जनासम्मले रोजगार पाएका छन् । उनीहरुले ट्रस्ट भवन निर्माण गरेर पक्कि पिकनिक स्पोट सञ्चालनमा ल्याएका हुन् । जसले गर्दा पिककिन पारखीहरु ब्र्खाको समयमा समेत आउन सक्छन् । “हामीले पैसा मात्रै लिनुहुदैँन, विवेकले भने “पैसा लिए अनुसारको भरपूर सेवा दिन हामी तत्पर छौँ ।”

पानीको चरम समस्या
जिल्लाका अधिकाशं पिकनिक स्पोट सञ्चालकहरु पानी किन्दैमा हैरान भएका छन् । अधिकाशं पिकनिक स्पोट डाँडा, डाँडामा सञ्चालनमा रहेका छन् । “पिकनिकको सिजनमा दुई देखि ३ लाखसम्म पानी किन्नमै खर्च हुन्छ, देवीस्थान डाँडामा पिकनिक स्पोट सञ्चालन गर्दै आएका निश्चल तिवारीले भने “ठाउँ मात्रै दिन्छौँ, पानी चाँहि तपाईहरु नै लिएर आउनोस् भन्न मिल्दैन्, पानीको निकै समस्या छ ।”

जल पिकनिकका लागि नदी किनारमा पुग्ने बाहेक पलाञ्चोक भगवतीमा पनि पानीको उस्तै हाहाकार छ । नमोबुद्ध, गोसाईथानमा पनि पानी पर्याप्त नहुदाँ पिकनिक खान पुग्ने र सञ्चालकहरु निकै मर्कामा परिहेका छन् । पिउनका लागि जारको पानी र सरसफाईका लागि गाडीबाट पानी लैजान गरेको देवीस्थान पिकनिक स्पोटका सञ्चालक मनदिल काजी श्रेष्ठले बताए ।

8735
Shares

ट्रेन्डिङ