कुवेतमा आममाफीको १७ दिनमा घर फर्किन १४ हजारको निवेदन

फागुन २६, काठमाडौँ । कुवेतमा अवैधानिक विदेशी कामदारले आममाफीको १७ दिनमा १४ हजार जनाले स्वेदश फर्किन निवेदन दिएका छन् । जनवरी २९ तारिखदेखि फेब्रवरी १४ तारिखसम्म सबैभन्दा धेरै भारतीय नागरिकले निवेदन दिएको कुवेतको गृहमन्त्रालयले जनाएको छ ।

सुरुमा २९ जनवरी २०१८ देखि फेब्रुवरी २२ सम्मको आममाफीको समय दिइएको थियो । यो समय अहिले दुई महिना थपिएको छ । कुवेतमा अवैधानिक भएर बसेका विदेशीले अाउँदाे अप्रिल २२ सम्ममा स्वदेश फर्किन वा त्यही वैधानिक अवस्था बनाउन सक्नेछन् ।

कुवेतमा अवैधानिक भएर बसेका विदेशी कामदारले घर फर्किन नागरिकताको प्रतिलिपि, राहदानी (पासपोर्ट)को प्रतिलिपी, निलो पर्दामा खिचिएको २ प्रति फोटो आवश्यक पर्नेछ ।

उनीहरुले दूतावासबाट ट्राभल डकुमेण्ट लिइसकेपछी आफूले काम गरिरहेको ठाउँ वा आफू भागेको ठाउँको पासपोर्ट अफिसमा गएर ट्राभल डकुमेन्ट बुझाउनु पर्नेछ ।

ट्राभल डकुमेन्ट बुझाई सकेपछी पासपोर्ट अफिसबाट सिधै क्लियरेन्स दिएमा टिकट काटेर घर जान सकिने तर फिङ्गर प्रिन्ट गर्न पठाएमा फिङ्गर प्रिन्टर रिपोर्ट लिएर फेरि पासपोर्ट अफिसमा जानुपर्ने छ ।

जरिवाना तिरेर भिसा लगाएर बस्न चाहनेहरुले भने आफ्नो क्षेत्रको रेसिडेन्सी अफेयर्समा पासपोर्ट र नयाँ स्पोन्सर लिएर जाने र तोकिएको जरिवाना (ग्रामा) तिरेर भिसा लगाउन सकिने कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनले बताउनुभयो ।

तर विद्रोह सम्बन्धी कुनै मुद्दा लागेको हुन नहुने उहाँले बताउनुभयो । यस्तो मुद्दा खेपिरहेकाले आममाफीबाट लाभ लिन सक्ने छैनन् ।

Related News