आफ्नै अभिनय देखेर हास्ने कलाकार मध्ये एक मै हु :प्रदिप खड्का(भिडीयो सहित )

काठमाडौं, चैत २९ धेरैले आश्वासनमा अल्झाइरहेपछि उनी आफैंले हिम्मत गरेर ‘स्केप’ बनाए। शहरका भित्ताहरूमा फिल्मका पोस्टर टासिए। फिल्म कहिले आयो कहिले गयो धेरैले चाल पाएनन्। उनी पनि पोस्टरमा आएको आफ्नै फोटोसँग सेल्फी खिचेरै रमाए।

घरमा विदेश जान सल्लाह दिइरहेका थिए। यसै बीच उनी ‘प्रेम गीत’ फिल्मका लागि मुख्य कलाकारमा छानिए। फिल्म रिलिज भयो, दर्शकले मन पराए। उनको विदेश जाने बाटो रोकियो, फिल्ममा जम्ने बाटो खुल्यो। आज प्रदिप खड्का ‘डिमान्डेड’ अभिनेतामा पर्न थालेका छन्।

अहिले उनका लागि महंगो पारिश्रमिक खर्चन निर्माताकै तछाडमछाड पर्छ। उनी अभिनित पछिल्लो फिल्म ‘लिली बिली’ रिलिजको संघारमा छ। उनै प्रदिपसँग उनको फिल्मी करियर र उनलाई लिएर चल्ने हल्लाका बारेमा  गरेको कुराकानीको सम्पादित अंशः

‘इस्केप’ फिल्म के सोचेर गरिएको थियो?

आफूले चाहेको कुरा पाउन कुनै न कुनै किसिमको बाटो समात्नै पर्छ। यस्तै फिल्ममा आउन कि एक्टर, कि डाइरेक्टर कित, प्रोडक्सन कम्पनीको पछि लाग्नुपर्‍यो होइन भने आफैं फिल्म बनाउनुपर्‍यो।

म कसैसँग गएर मलाई यस्तो उस्तो गर्दिनुपर्‍यो भनेर पछि लागिरहन सक्दिनँ। लगभग डेढ दुई वर्ष अरूको आश्वासनलाई पत्याए र बसिरहेँ। तर, काम भएन। अनि केही न केही गर्ने पर्‍यो। त्यसैले फिल्म बनाउनु नै मेरा लागि ‘वेस्ट अप्सन’ थियो।

त्यसबाट मैले फिल्म कसरी बन्दोरहेछ पनि बुझेँ र त्यो क्रममा फिल्म खेलाउँछु भन्नेहरू पनि थिए। धेरैलाई पैसा हालेर फिल्म बनाउने लाग्ला तर मेरा लागि यो पाइलट बन्नलाई गरिएको लगानी जस्तै थियो।

फिल्म बनाउँछु भन्दा कतिको प्रेसर सहनुपर्‍यो?

गाली त धेरै आयो। तर, मेरो घरमा यति सोझा सिधा मान्छे छन् कि, म सानो छँदा ‘ह्यन्ड राइटिङ’ नराम्रो भएर गाली खाँदा घरमा आएर मेरो लेख्ने पेन नराम्रो भयो भन्दै महंगो पार्कर पेन किनाइदिने मान्छे मै हुँ। फिल्म बनाउन पनि त्यसैगरी ‘कन्भिन्स’ गरेँ।

त्यो समयमा विदेश जाने लहर चलेको थियो मैले पनि विदेश जाने हो भने एउटा फिल्म गरेर जान्छु भन्ने सर्त राखेँ।

१०+२ सकेपछि टिभीमा काम गर्न थालेको पाँच वर्ष भइसकेको थियो। मैले ‘जिन्दगी रक्स’ ‘खोजी प्रतिभाको’ जस्ता विभिन्न काम गरेँ। म्युजिक भिडियोको पनि क्यामरा पछाडि काम गरिरहेको थिएँ। मास्टर्स सकिसकेको थिएँ। घरमा पढेलेखेको छोरो बिग्रियो भन्ने थियो। फिल्म गरेर विदेश जाने सहमतिमा मैले लगानीका लागि कन्भिन्स गराएको थिएँ। नत्र मेरो मामाघर, आफन्तहरूले म बिग्रिए भनेर कुरा गर्थे। ममीलाई सुनाउँथेँ।

फिल्म रिलिजपछि के भयो?

फिल्म रिलिज भयो। तर, फिल्म चलेन। फिल्म नचले पनि बुबा ममी दु:खी हुनुभएन, अब छोरो विदेश जान्छ भन्ने सोचेर खुसी हुनुभयो। म पनि खुशी भएँ, फिल्म चल्दा हलमा लास्ट सोसम्म हेरेर म आफैं दंग परेँ।

रिलिजको साता ह्यात होटलतिर पुग्दा मेरो फिल्मको पोस्टर टाँसिएको थियो, त्यो सँग फोटो खिचेँ। म बस्ने टोलमा धेरै भन्दा धेरै फिल्मको पोस्टर टाँस्न लगाएँ। म त्यस्तैमा रमाएँ। फिल्म खेलेर ठूलो हिरो हुन्छु के के न गर्छु भन्ने थिएन। मैले फिल्म किन गरेँ भन्दा मैले एउटा समय यसका लागि दिइसकेको थिए सो अन्तिम प्रयास नगरी किन छोड्नु? एउटा ठाँउमा लगेर टुङ्ग्याउ भनेर गरेको हो।

‘प्रेमगीत’मा कसरी आइपुग्नु भयो?

‘इस्केप’ माघतीर रिलिज भयो। त्यसपछि वैशाखमा भुँईचालो आयो। बाहिर जान लोन आदिको लागि बैंकले भ्यालुएसन गर्न मानेका थिएनन्। म यतिकै काममा थिएँ।

बाहिर जाने चक्करमै थिएँ। सुदर्शन दाइले ‘प्रेम गीत’ को लागि हिरोहरूको अडिसन मागिरहनु भएको रहेछ। मिडियामा एक दुई जना दाइसँग राम्रै सम्बन्ध थियो, मैले उहाँसँग अडिसन दिन तयार रहेको भने। उहाँहरूले त्यसलाई समाचार बनाएर सहयोग गरिदिनुभयो।

फ्लप भइसकेको भए पनि आफू फ्रेस जस्तै भएकाले अडिसन दिन्छु भनेको थिएँ। मलाई प्रस्ताव आउँला भन्ने एक प्रतिशत पनि विश्वास थिएन। फिल्मका निर्माता सन्तोष सेनले मेरो फोटो हेर्नुभएछ र सम्भावित १० को सूचिमा मलाई राख्नुभएछ।

सुदर्शन दाइले पनि मेरो इन्टरभ्यूहरू हेर्नुभएको रहेछ। अडिसन दिने ९ जना नयाँ थिए। उनीहरूसँग फेस, लुक्स आदि सबै थियो। तर, एउटा कुरा थिएन। उनीहरूलाई क्यामरा फेस गरेको अनुभव थिएन। त्यही कुराको प्लस पोइन्ट मलाई भयो।

म यी कुराहरूमा अभ्यस्त थिएँ। मसँग ठिकैको लुक्स, फिजिक्स र अभिनय थियो। उहाँहरूलाई म क्यामरा अगाडि नर्भस हुँदैन भन्ने लागेछ।

फेरि ‘स्केप’ फिल्म आएको गएको धेरैलाई थाहा भएन। यहाँसम्म मिडियाका सबैलाई पनि थाहा भएन। यस्तोमा म पनि फ्रेस सरह नै हुन्छु, डेब्यूजस्तै हुन्छ भन्ने उहाँहरूलाई लागेछ। र म छानिएँ।

‘प्रेमगीत’ चलेपछि घरबाट कस्तो प्रतिक्रिया आयो?

उहाँहरूले फिल्म पनि चल्यो अब त विदेश जान्छस् होला नि भनेर सोध्नुभयो। म त्यो फिल्म गर्दा आर्थिक रूपमा कमजोर थिएँ। पारिश्रमिक धेरै थिएन सबै पकेट खर्चमै सकियो।

२४-२५ वर्षको भइसकेको थिएँ। घरमा मेरै उमेरका कसको छोराले कहाँ घुम्न बोलायो रे, कसकोले आइफोन पठायो रे, कसकोले कति पैसा पठायो रे भन्ने सुनेर मलाई तनाव हुन थाल्यो। मामाघरतीर पनि उस्तै। सँगैको साथीहरू सीए पढेर यतिउति कमाउने भइसके, तिम्रो छोरो बिग्रियो भनेर ममीलाई सुनाउँदा रहेछन्। यी कुराले घरबाट प्रेसर भइरहेको थियो। ‘प्रेमगीत’ पछि भने गइहाल, गइहाल भनेर दबाब त दिनुभएन तर कहिले जान्छस् भनेर सोध्नुहुन्थ्यो।

यो समय मैले विदेश जान आवेदन नदिएको पनि होइन। मैले फ्रान्स, डेनमार्क आदिमा अप्लाई गरे, अमेरिकाबाट त दुई पटक अस्वीकृत भएँ। अष्ट्रेलिया अप्लाई गर्नै पाइएन। म अन्तत: कतै नभएर दुबई जानसमेत तयार थिएँ।

प्रेमगीत चलेपछि आफन्तले खोज्न थाल्नुभयो त्यसपछि घरबाट विदेश जाने कुरा गर्न छोड्नु भयो।

३ वटा फिल्म आइसके, अभिनेताका रूपमा प्रदिपको हैसियत के हो?

अभिनेताको काम अभिनय गर्ने हो। मैले हँसाउन सकिरहेको छु, रूवाउन सकिरहेको छु, मेरा अभिनय ‘अड’ देखिएका छैनन्। सायद, म अहिलेसम्म सफल एक्टर हो कि!

म आफूलाई भयंकर एक्टर भन्दिनँ। तर मेरो अभिनयलाई दर्शकले मन पराइदिनुभएको छ। यद्यपी अझ राम्रो गर्ने ठाँउ अझै धेरै छ। त्यसका लागि आतुर छु।

तपाईँलाई आफ्नै अभिनय कस्तो लाग्छ?

मलाई आफ्नै अभिनय देखेर हाँस उठ्छ। यो के गरेको होला भन्ने लाग्छ। लाज लाग्छ। तर, यसैलाई दर्शकले मनपराइदिनु भएकाले सन्तुष्ट हुनुपर्छ आफ्नो अभिनयबाट भन्ने लाग्छ। म मेरा फिल्म, आफू हाँस्नका लागि हेर्छु।

तीन फिल्ममा लगातार ‘लभर व्वाइ’ इमेज भयो? त्यसको एउटा लिमिट हुन्छ, अभिनेताका रूपमा आगामी योजना के छ?

हाललाई म मेरो फेस, उमेर र शरीरले दिने काम नै गर्छु। अहिले मेरो उमेर सुहाउँदो भूमिकाको डिमान्ड छ। पछि उहाँहरू माग अनुसार परिवर्तन हुँदै जानेछु। मेरो पनि ग्रोथ होला अनि त्यो बेला अरू भूमिका गर्छु। आर्ट, एक्सन पनि गर्छु। अहिलेलाई भने जेमा बिकिरेहको छ , त्यही गर्छु।

आफूलाई मनपर्ने जनरा कुन हो?

मलाई व्यक्तिग तरूपमा गर्न मन लाग्ने जनरा बायोपिक हो। बायोपिकका पात्रहरू ममा देखियो भने कलाकारका रूपमा जीवन्त भइन्छ भन्ने लाग्छ। त्यसैले त्यस्ता फिल्म गर्ने इच्छा छ। ‘दीपेन्द्र सरकार’ मैले त्यही भएर गर्न लागेको हुँ।

पात्रमा छिर्ने प्रदिपको प्रक्रिया के हो?

मेरो त्यस्तो केही छैन। मलाई त्यस बारेमा केही थाहा पनि छैन्। त्यो कसरी गर्ने भनेर मैले सिकेको पनि छैन। त्यसमा छिर्न पर्छ भनेर लाग्दा पनि लाग्दैन र आजसम्म गरेका फिल्ममा गरेको पनि छैन। ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ हेर्दा पनि त्यस्तो फरक म देखिएको छैन। केही फरक त छ। तर, त्यस्तो मानक नै हुने गरी म फरक देखिएको छैन। मैले टेकमा जिस्किँदा जिस्किदै आफ्नो पात्रहरूको अभिनय गरिहेको छु।

यसरी एउटा एक्टरले आफूलाई निखार्न सक्छ भन्ने लाग्छ?

त्यसरी ग्रोथ नहोला। तर, अहिले मेरो डिमान्ड अनुसार मैले जे गरिरहेको छु , त्यसैले काम गरिरहेको छ। भोलिको दिनमा जब मैले वास्तविक देखिनुपर्ने हुन्छ, त्यो बेलामा म त्यो पनि गर्छु।

अभिनेता क्रिएटिभ हुनुपर्छ भन्नेमा अर्को फरक बुझाइ त छैन् तर त्योसँगै मूख्य कुरा भनेको ‘एक्टर’ ‘एडप्टिभ’ हुनुपर्छ जस्तो लाग्छ। फिल्म गर्ने शैली निर्देशक पिच्छे फरक हुन्छ। एक्टर ती निर्देशकको माग अनुसार भइदिने हो, उनीहरूको भिजनलाई ‘एडप्ट’ गर्ने हो।

एक्टरले आफैं क्रियटिभ हुन लाग्यो भने एउटा बिन्दुमा पुगेर ऊ ‘रिपिटेटिभ हुन्छ। एक्टर त्यसमा ‘जिरो’ भएको राम्रो। ऊ आफ्नो भन्दा पनि निर्देशकको कलाकार हुनुपर्छ। निर्देशकले के माग्छ, त्यो गर्न सक्ने हुनुपर्छ। मलाई सिलसिला मिलाएर पात्रमा छिर्न आउँदैन। निर्देशकले भनेको कुरा एडप्ट गर्न आउँछ। मैले जानेको त्यही हो।

बजारमा अभिनेताका पारिश्रमिकलाई लिएर आउने समाचार, हल्ला हुन कि वास्तविक हुन्? तपाईको सन्दर्भमा के हो?

पहिलो कुरा अभिनयलाई पैसासँग मात्र जोडेर नहेरौं। मेरो केसमा शतप्रतिशत सही हो, अरूको थाहा छैन। मैले पाइरहेको छु भने अरूले पाइरहेको कुरा झुट नहोला भन्ने मेरो बुझाइ छ।

पुराना निर्माताहरूले बजार अनुसार नेपाली कलाकारको पारिश्रमिकले ढाड सेक्ने भएको गुनासो गर्ने गरेका छन्?

यसमा उहाँहरूको मेन्टालिटी नै गलत छ। मार्केट छैन भनेर प्रोडक्ट लो क्वालिटीको बनाउने होइन। हाइ क्वालिटीको बनाउने हो। यसबाट मार्केट बढ्ने मैले देखेको छू। ‘प्रेगगीत २’ को मेरो अनुभवले त्यही देखाएको छ।

त्यसैलाई मध्यनजर गरेर फिल्मको सुटिङ थाइल्यान्ड र बर्मा गरेका हौ। प्रेमगीतको बेलामा ती देशमा फिल्म हेर्ने दर्शकहरूको संख्या देखेर नै ‘प्रेम गीत २’ त्यो स्केलमा बनाउने हिम्मत आएको हो। बजार खोज्नुपर्‍यो, खाली गुनासो गरेर भएन।

अहिले बजार हेर्दा करिब २ करोड बजेटसम्मको फिल्म बच्ने स्पष्ट देखिएको छ। अहिले वितरकहरूले मेरो फिल्मको ६० देखि ७० लाख मिनिमम ग्यारेन्टी दिन नहिच्किचाउने भइसकेका छन्। विदेशमा १ करोडसम्मको राइटमा फिल्म किन्न पनि मानिसहरू तयार छन्। १० करोडसम्म कमाइ भएको हामीले देखिसकेकै हो। मुख्य ध्यान राम्रो फिल्म बनाउनेमा दिने हो भने यस्ता कुरा अल्झिनुपर्ने अवस्था छैन्।

विशेष गरेर तपाईँका समकालिन अभिनेता अनमोल केसीसँग नाम जोडेर गसिप आउने गर्छन्, कस्तो लाग्छ?

अहिलेसम्म ‘फेस टु फेस’ भेटघाट र बोलचाल भएको छैन। मेरो भनाइ के हो भने आफूले गल्ती गरेर सिक्नु राम्रो हो भने अर्काको गल्तीबाट सिक्नु झन राम्रो हो।

जस्तो बलिउडमा अमिताभ र शत्रुघन सिन्हाको कुनै समय मिडियाले बनाइदिएको गतिलै दुष्मनी थियो। उमेरको एउटा समयमा आएपछि उनीहरूले पनि यस्ता चिज बक्वास भन्ने बुझे।

सायद एउटा अन्तर्वार्तामासँगै आएर त्यो भनेको जस्तो लाग्छ। मलाई पनि भोलिपर्सी यो चिजले खास अर्थ लाग्दैन भन्ने थाहा छ। आज हामी नयाँ छौ भोलिपर्सि अर्को नयाँ मान्छे आउँछ। यसले हामीले पाइरहेको मानसम्मान कम हुँदैन।

त्यसैले ऊ आफ्नो काममा गरिरहेको अवस्था छ, म आफ्नो। १०० वटा फिल्म बन्छन्, त्यो सबै हामीले गर्ने पनि हैन। त्यसैले म के भन्छु भने बजार विस्तार हुन्छ भने सँगै फिल्म गर्न म तयार छु। यो हामीसँगै आएर अझ गतिलो हिट दिने उपाय हुनसक्छ ।

अनमोलको सबै फिल्म हेर्नुभएको छ?

पछिल्लो ‘कृ’ हेरेँ। ‘गाजलु’ र ‘ड्रिम्स’ पनि हेरेको छु। ‘होस्टल’ चाँहि यूट्यूबमा हेरेको छु।

कस्तो लाग्छ?

राम्रो छ। फेरि फिल्म कहिल्यै कुनै कलाकारको मात्र हुँदैन। फिल्म कविता भए पो जसले लेख्यो उसैको मात्र हुन्छ। मैले गरेको फिल्म पनि मेरो एक्लोको मात्र होइन। व्यक्तिगत रूपमा अनमोलको फिल्म राम्रो र नराम्रो भन्दिनँ, त्यो मूल्याकंन गर्ने हैशियत मसँग छँदा पनि छैन तर सत्य के हो भने टिम राम्रो हुँदा अनमोलको फिल्म राम्रो भएको छ नहुँदा सोचेजस्तो भएको छैन्। यो कुरा त मेरो पहिलो फिल्मलाई हेर्दा पनि थाहा हुन्छ। अभिनेताका रूपमा अनमोल र म उस्तैखाले अभिनेता हौं। भर्खर ३-४ वटा फिल्म गरेका छौं। हामी फिल्म पिच्छे ग्रोथ भइरहेका छौं।

जुन फिल्ममा प्रदिप हुन्छ ,त्यो प्रोजेक्टमा प्रदिपले झगडा पार्दिन्छ भन्ने आरोप लाग्ने गरेको छ नि!

हो मैले पनि सुन्दै आएको छु। हेर्नुहोस् मैनबत्ती बाल्नुअघि जति हुन्छ त्यो बलेपछि हुँदैन। त्यसबाट उडेर जाने भनेको प्रदुषित कार्बन नै हो पियोर मैन त्यही बाँकी रहन्छ। मैले भन्न खोजेको के हो भने जो जेन्यूइन छ, त्यो मसँगै बस्छ, र जो कार्वन जस्तै पल्यूट छ त्यो उडेर जाने गरेको मात्रै हो।

ठीक छ मैले आफैलाई आरोप लगाएजस्तो नै गरेँ रे। त्यसो हो भने उहाँहरू जसले मलाई आरोप लगाउँदै हिड्नुहुन्छ, उहाँहरू कुनै चाँही व्यक्तिसँग दोहोरिएर काम गरिरहनुभएको छ। त्यसमा म नभए पनि उहाँहरू त हुनुपर्ने हो नि हैन र?

हाल पूजा शर्मासँग भएको भेट संयोग थियो कि सुनियोजित?

भिडियो सहित ,,,,,,

https://www.youtube.com/watch?v=DyAQJ8ZZ_SM

म आफूलाई लागेको कुरा ड्याङ ड्याङ बोल्ने मान्छे हो। हुनसक्छ यो बानीले कोही मसँग खुशी नहुन सक्छन्। धेरै कुरा समाचारका हेडलाइनले पनि बिगारे। म एउटा अन्तर्वार्ता सकेर फोटो खिच्दै थिएँ। त्यही बेलामा पूजाको प्रवेश भएको मैले देखेँ। उनी नेट चलाइरहेकी थिइन्, म त्ययतिकै निस्किए। बीस मिनेटपछि म फेरि त्यहाँ फर्किएँ, ऊ बाहिर नै थियो। त्यस अवस्थामा मैले चिनेको मान्छे देखेपछि नदेखेजस्तो गरेर हिँडन मिलेन।

त्यहाँ म के रियाक्सन दिन्छू भनेर साथीहरू बस्नु भएको रहेछ। त्यहाँ म क्यामरा नभएको भए पनि बोल्थे। मैले बोलाएँ। पूजा ४-५ मिनेट बोलेन अरू साथीहरूले बोल्नुपर्छ भनेपछि हामी बोल्यौं, भएको यत्ति हो। त्यसपछि हामीबीच कुरा भएको छैन।

अहिलेसम्म काम गरेको निर्देशकमा सबैभन्दा वेस्ट को हो?

मैले चार निर्देशकसँग काम गरेँ। चार जनाको आ-आफ्नै विशेषता छ। अन्नत घिमिरे सम्पादक बढी हुनुहुन्थ्यो, त्यो फिल्म उहाँ र मैले आफ्नो अनुभवको आधारमा बनायौं। सुदर्शन थापा सही निर्णय गर्न सक्ने निर्देशक हो, लिडर हो। रामशरण पाठक क्रियटिभ मान्छे हो। तर, निर्देशकका रूपमा ‘डिसिसिभ’ पावर कमजोर छ। मिलन चाम्ससँग एउटा क्रियटिभिटी छ, डिसिजन मेकर पनि हो र सबै डिपार्टमा आफैं काम गर्न तम्सिने स्वभाव छ। यी चिजमा तपाईँले हेर्ने हो डिसिसिभ पावर भएको मान्छे राम्रो हो।

हिरोइनलाई लिएर आएको एउटा कमेन्ट विवादित भयो? किन?

मैले भन्न खोजेको म त्यसमा हस्तक्षेप गर्दिनँ भन्ने हो। ‘लिली बिली’मा पनि प्रियंका लिने कुरा हुँदा अनेक टिकाटिप्पणी भएँ। मैले प्रियंकालाई लिन हुन्न भनेर कहिल्यै भनिनँ। मैले त निर्देशक र क्रियटिभ टिमलाई विश्वास गर्ने हो। उनीहरूलाई राख्दा ठीक हुन्छ भन्ने कुरामा मैले ज्यादा हस्तक्षेप गर्ने कुरा हुँदैन। त्यही भनेको हो।

धेरैले यसलाई प्रदिपले आफू सुहाउँदो हिरोइन नराखेकोमा आएको असन्तुष्टि भनेर बुझें नि!

होइन, मैले त्यो हिरोइन छान्ने काम मेरो भन्ने लागेन र होइन पनि। मैले काम गरेका हिरोइनहरूसँग मलाई केही गुनासो छैन्। उनीहरू सबैसँग राम्ररी काम गरियो, सबै आ-आफ्नै किसिमले ट्यालेन्ट हुनुहुन्छ। उहाँहरू फ्यान फ्लोइङबाट यो कुरा देखिएकै छ। त्यसैले त्यो अर्थमा नलिन मेरो अनुरोध छ।

फेरि फिल्ममा अभिनयले अर्थ राख्छ रूपले भन्दा पनि दर्शकलाई अभिनय कन्भिन्स गरेपछि रूप गौण हुन्छ भलै सुरूमा त्यसले केही अर्थ लागोस्।

 

 

-सेतो पाटि बाट

Related News