छविरमणको ‘ग्रीनविचको साँझ’

रामगोपाल आशुतोष
काठमाडौँ/ कवि छविरमण सिलवालको नवीनतम् पुस्तक सार्वजानिक भएको छ । ‘ग्रीनविचको साँझ’ नामक उनको नियात्रा राजधानीको डिल्लीबजारस्थित सर्वनाम नाटकघरमा लोकार्पण भएको हो । कार्यक्रमका अतिथि एवम् दर्शकदिर्घाका साहित्यप्रेमिहरूले संयुक्तरूपमा लोकार्पण गरिएको उक्त कृति आफ्नो सात दिने लण्डन भ्रमणका क्रममा लेखिएको नियात्राकार सिलवालले बताए ।

कार्यक्रममा लघुकथा समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ रोदन, समालोचक डा.लक्ष्मण प्रसाद गौतम, समालोचक ज्ञानु अधिकारी, कवि, आख्यानका एवम् पत्रकार फुलमान बललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका अतिथि साहित्यकार रोदनले जङ्गबहादुर राणाकै पालादेखिनै लेखिँदै आएको नियात्रा पढ्दा वाक्क लाग्ने भइसकेको अवस्थामा नियात्राकार सिलवालको नियात्राले नयाँ आयाम थपेकोमा खुशी व्यक्त गरे । ‘जङ्गबहादुरको बेलायत भ्रमण’ बाट लेख्न सुरु गरिएको नियात्रा पछिल्लो समय साहित्यका विविधक्षेत्रमा कलम चलाइरहेका सिलवालले पाठकस्वयम्लाई लण्डनको भ्रमण गरेको अनुभव गराउन सफल कृति भएको दावि गरे ।

समालोचक गौंतमले साहित्यिकक्षेत्रमा छविले आफ्नो नयाँ छवि बनाउन सफल भएकोमा बधाई दिँदै उनको नियात्रा सुरुदेखि अन्तिमसम्म त्रुटी नभेटिएकामा खुशी व्यक्त गरे । त्यस्तै अर्का अतिथि ज्ञानु अधिकारीले छविरमणको नियात्रा ‘आँखा र मन दुबैले लेखिएको भएकाले बेलायतको लण्डन पर्यटन व्यवसाय, कृषि बजार, भौतिक संरचनालगायतका विषयलाई सुन्दर ढङ्गले प्रस्तुत भएको बताए । सोही कार्यक्रममा साहित्यकार सुमन सौरभले लोकार्पित कृतिको एक अंश वाचन गरेका थिए । आफ्नो छोटो भ्रमणलाई नियात्राका रूपमा बजारमा ल्याउन सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वलाई धन्यवाद दिँदै उनले भने, “मेरो अर्को नियात्रा चाइना थाइपोला एक्सप्रेस पनि चाँडै पाठकसामु आउँदै छ ।” दश वटा नियात्रा समेटिएको उक्त पुस्तक शाब्दिक बूूकले बजारमा ल्याएको हो ।

Related News