सडक दुर्घटना सूचना व्यवस्थापन प्रणालीको परीक्षण शुरु

काठमाडौँ,५,मङ्सिर,काठमाडाँै उपत्यकामा ट्राफिक प्रहरीले ‘सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली’को आजदेखि परीक्षण शुरु गरेको छ ।

प्रहरी प्रधान कार्यालय र ट्राफिक निर्देशनालयले यातायात व्यवस्था विभागसँगको सहकार्यमा उक्त प्रणालीको परीक्षण थालेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

अहिलेसम्म ट्राफिक प्रहरीले हातैले लेखेर दुर्घटनाको सूचना सङ्कलन गर्ने र कम्युटरमा तथ्याङ्क राख्ने गरेकामा यो प्रणाली सफल भए घटनास्थलबाटै प्रविधिको प्रयोग गरी वास्तविक अभिलेख एकैचोटी प्रहरीमा आइपुग्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनाको वास्तविक र पूर्ण सूचना अभिलेख गर्नका लागि नयाँ प्रणालीको शुरुआत गरिएको हो । उक्त प्रणालीले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउनसमेत सहयोग पुग्ने आशा प्रहरीको छ ।

उक्त प्रणाली प्रयोगका लागि एक वर्षअघि नै यातायात व्यवस्था विभागसँग सम्झौता गरिएको थियो । एक प्रकारको सफ्टवेर निर्माण गरेर ट्याबलेटमार्फत दुर्घटनाका सूचना तत्कालै प्रहरी कार्यालयमा पठाइनेछ ।

यसको प्रयोगका लागि पहिलो चरणमा विभागले उपत्यकाको ट्राफिक प्रहरीलाई ३४ वटा कम्युटर र १०३ वटा ट्याबलेट उपलब्ध गराएको छ । आवश्यक ट्राफिक प्रहरीलाई प्रशिक्षणसमेत दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Related News