मेलम्चीको सुरुङमा कमसल चट्टान भेटियो, ढलान समय लम्बिने

राजधानीमा पानी झर्न वैशाख लाग्न सक्ने

काठमाडौं,मंसिर,१२,मेलम्ची खानेपानी आयोजनाको सुरूङ ढलानमा फेरि ढिलाइ सुरू भएको छ। अहिले मेलम्चीको अन्तिम दुई किलोमिटर सुरूङको ढलानको काम भइरहेको छ। योमध्ये ३८ मिटर सुरुङमा कमजोर चट्टान भेटिएपछि ढलान सुस्त हुन पुगेको आयोजनाले जनाएको छ।

‘हामी युद्धस्तरमा काम गर्दै थियौं, सुरूङको बीचमा कमजोर चट्टान भेटियो,’ खानेपानी सचिव गजेन्द्र ठाकुरले सेतोपाटीसँग भने।

ठाकुरका अनुसार यो चट्टानमा प्लास्टर राम्ररी अडिन सकिरहेको छैन।

‘दिनमा एक मिटरमात्र ढलान भइरहेको छ,’ ठाकुरले भने, ‘यस हिसाबले प्लास्टर गर्न मात्र ३८ दिन लाग्छ।’

यो ३८ मिटर बाहेक सुरुङको अरू भागमा भने प्लास्टर भैरहेको छ। यो भागको प्लास्टर भने प्रतिदिन २०० मिटरका दरले भैरहेको छ।

ढलान सकिएपछि पनि सुक्न एक महिना लाग्ने भएकाले बहुप्रतिक्षित मेलम्ची खानेपानी राजधानी झर्ने समय झनै लम्बिने देखिएको छ।

ढलानमा समय लाग्ने देखिएपछि सचिव ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मेलम्चीको पानीमा समय मागेका छन्। यसअघि दिएको ४५ दिनको समय नसकिँदै ठाकुरले प्रधानमन्त्रीसँग १५ दिन समय बढाएका हुन्।

तिहारअघि मुख्यसचिवले तागेता गरेपछि ठाकुले ४५ दिनको समय मागेका थिए।

मंसिर ६ गते सचिवहरूसँगको कार्यप्रगति समीक्षा बैठकमा ठाकुरले फेरि प्रधामन्त्रीसँग थप पन्ध्र दिन म्याद मागेको स्रोतले बतायो।।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्रोतका अनुसार ठाकुरले मेलम्ची आयोजनामा भइरहेको कामको भिडियो प्रस्तुत गर्दै थप पन्ध्र दिनको समय मागेका थिए। ‘परिणाम चाँडै आओस्, मेलम्चीको मात्र हैन, समग्र खानेपानी समस्या समाधान गर्नुस्,’ प्रधानमन्त्री ओलीले निर्देशन दिँदै भनेका थिए।

तिहारअघि नै मागेको ४५ दिनको म्यादमा एक महिना सकिसकेको छ। सचिव ठाकुरले पाएको थप १५ दिन गरेर पनि उनीसँग एक महिना समयमात्र छ।

सुरुङ ढलानमै अझै ३८ समय लाग्ने र त्यसपछि सुक्न एक महिना लाग्ने भएपछि मेलम्चीको पानी कम्तीमा अर्को दुई महिना आउने छैन।

सुरुङ सुकेपछि पनि विज्ञ टोलीले परीक्षण गरेर त्यहाँ पानी हाल्न मिल्ने/नमिल्ने राय दिन्छ। त्यो परीक्षण सुरुङको २६ किमिमै पूरा गर्न करिब तीन साता लाग्ने मेलम्ची विकास समितिका प्रमुख सुर्यराज कँडेल बताउँछन्।

प्रधानमन्त्रीसँग १५ थप म्याद मागेका ठाकुरले सेतोपाटीसँग भने मेलम्चीको पानी झर्ने समय तोक्न नसकिने बताए।

‘कार्यप्रगति समीक्षा हुँदा मैले पन्ध्र दिन समय चाहिन्छ भनेको हुँ,’ ठाकुरले भने, ‘तर थप समय लाग्न सक्छ। प्राविधिक कुरामा समय तोक्न सक्दिनँ, म जादुगर हैन।’

धेरै वर्षदेखि ढिला हुँदै आएको बहुचर्चित मेलम्ची खानेपानी आयोजनाले दसैँअघि नै काठमाडौंमा पानी झार्ने प्रतिवद्धता जनाएको थियो।

प्रधानमन्त्री कार्यालयका एक अधिकारीले अहिलेको गतिमा मेलम्चीको पानी राजधानीमा वैशाखअघि झर्न कठिन रहेको बताए।

मेलम्ची खानेपानी आयोजना सन् २००१ बाटै सुरू भएको हो। सुरूमा यो आयोजना सन् २००७ मा सकिन्छ भनिएको थियो। सन् २००८ सम्ममा सुरूङ निर्माण क्षेत्रमा बाटो पुर्याइएको थियो। सन् २०१३ मा चिनियाँ कम्पनीले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको थियो।

चिनियाँ कम्पनीले समयमा काम गर्न नसकेको भन्दै सरकारले इटालियन कम्पनी सिएमसीलाई जिम्मा लगाएको थियो। इटालियन कम्पनीले तीव्र गतिमा काम गरेको भनिए पनि समय–समयमा व्यवधान देखाउँदै आएको छ।

यसैबीच, खानेपानी सचिव ठाकुरलाई स्वीकृतिबिना बेलायत भ्रमण गएकोबारे प्रधानमन्त्री कार्यालयले स्पष्टीकरण सोधेको छ। मन्त्रिपरिषदको स्वीकृतिबिनै भदौ १२ गते एउटा निजी कम्पनीको निमन्त्रणामा बेलायत गएको उजुरी परेपछि उनलाई कारण खुलाउन स्पष्टीकरण सोधिएको एक अधिकारीले सेतोपाटीलाई बताए।

‘यो उजुरी हाइलेभल नोटिसमा छ,’ ती अधिकारीले भने, ‘उहाँ बिदा स्वीकृति नगरी हिँड्नुभएको रहेछ।’पछिल्लो समय सचिवहरूले बिरामी बिदा पनि मन्त्रिपरिषदबाट स्वीकृति गराउनुपर्ने नियम छ।

 

 

 

-सेतो पाटी बाट

Related News