कोटेश्वर-भक्तपुर सुरुङमार्ग बनाउन जापान तयार

काठमाडौँ,१२,मङि्सर,राजधानीको कोटेश्वर क्षेत्रमा भइरहेको चर्को सवारी जाम अन्त्यका लागि सुरुङमार्ग बनाउन जापान सरकार तयार भएको छ । कोटेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङमार्ग बनाउन जापान तयार भएपछि सम्झौताको तयारी गरिएको छ ।

पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतका अनुसार केही समयअघि भएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भ्रमणका क्रममा जापान सरकारले यो सुरुङमार्ग बनाउने अनौपचारिक सहमति गरेको हो । परराष्ट्र मन्त्रीको भ्रमणका क्रममा भएको सहमति अनुसार कोटेश्वर सुरुङमार्ग र सूर्यबिनायक-धुलिखेल ६ लेनको सडक निर्माणका लागि चाँडै हस्ताक्षर हुने भएको छ ।

परराष्ट्र मन्त्रीको भ्रमणका क्रममा अनौपचारिक सहमति जुटेपछि नेपालस्थित सडक विभागको वैदेशिक सहायता महाशाखामा भएको बैठकमा जापानी प्रतिनिधिहरुले कोटेश्वर-भक्तपुर सुरूङ मार्ग बनाउन अध्ययन थाल्ने बताएका थिए । सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले एक महिनापछि सुरूङमार्गको अध्ययन थालिने जानकारी दिएका छन् ।

त्यस्तै अरनिको राजमार्गको कोटेश्व-सूर्यविनायक खण्डस्थित चारदोबाटो चोक, मनोहरा पुल, लोकन्थली र राधेराधे चोकमा आकाशे पुल निर्माण गरिने भएको छ । जडीबुटी चोकदेखि टंकप्रासाद आचार्यको शालिकसम्म र ठिमीस्थित क्षयारोग अस्पताल क्षेत्रमा सर्भिस ट्र्याक निर्माण र सडक ट्राफिक बत्ती राखिने भएको छ।

जडीबुटी, लोकन्थली, कौशलटार, ठिमी लगायत ठाउँमा दुईतल्ले सर्भिस ट्र्याक र निर्मणाधीन राधेराधेको हनुमन्ते पुल र लोकन्थलीको मनोहरा पुल निर्माणलाई तीब्रता दिने निर्णय भएको थियो। बैठकमा सांसद महेश बस्नेत, उप-महानिर्देसक सञ्जय श्रेष्ठ, कोटेश्वर-सिन्धुली सडकको डिभिजन इन्जिनियर राकेश महर्जन लगायत थिए । ‘यसबारे जापानी टिमले अध्ययन गर्दैछ, अध्ययनपछि कहाँदेखि कहाँसम्म बनाउने टुंगो लाग्छ,’श्रेष्ठले भने ।

उनका अनुसार सुरूङ मार्ग जडीबुटी, तीनकुने हुँदै बालकुमारीसम्म निकाल्ने गरी बनाउने तयारी पनि गरिएको छ। ‘तत्काललाई मनोहरा खोलामा अस्थायी पुल बनाएर मोटरसाइकलका लागि नयाँ सर्भिस ट्र्याक पनि खोल्ने तयारी गरेका छौँ ।’

 

 

 

 

 

-अनपूर्ण पोस्ट बाट

Related News