जनतालाई धनी बनाउन नसक्ने कम्युनिस्टको काम छैन : प्रचण्ड

चितवन,२५, पुष ,  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई धनी बनाउन नसक्ने हो भने कम्युनिस्टको काम नभएको बताएका छन्।

बुधबार चितवन महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन्।

‘अहिले कम्युनिस्ट नेतृत्वको बहुमत सरकार छ’, प्रचण्डले भने, ‘अब जनतालाई धनी बनाउन नसक्ने हो भने कम्युनिस्ट पार्टीको काम छैन।’

प्रचण्डले अब विकासका लागि गम्भीर भएर लाग्ने बेला भएको उल्लेख गरे। सबैले जिम्मेवारी लिएर विकासका कामलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए। ‘गम्भीर भएर विकासमा लाग्नु पर्छ’, उनले भने, ‘हामीले देशका लागि केही गर्नुपर्छ भनेर बुझ्नुपर्छ।’

प्रचण्डले आफ्नो सपनासमेत १० वर्षमा देश समृद्ध बनाउने रहेको उल्लेख गरे। ‘मेरो सपना १० वर्षमा देशलाई समृद्ध बनाउने हो’, उनले भने, ‘यो अवधिमा देशसँगै चितवनलाई पनि समृद्ध बनाउन सक्छौँ।’

Related News