सरकारले ‘सी म्यान’ राहदानीको व्यवस्था गर्दै

कठमाडौं,पुस ,२९,   सरकारले ‘सी म्यान’ राहदानीको पनि व्यवस्था गर्ने भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पानी जहाजमा काम गर्ने नागरिकहरुका लागि ‘सी म्यान’ राहदानीको व्यवस्था गर्न लागिएको जानकारी गराएका हुन् ।

आईतबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘राहदानीसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,२०७५’ माथिको छलफलमा भाग लिँदै उनले पानी जहाजमा काम गर्ने नेपाली नागरिकहरुको अभिलेख राख्न पनि सो साहदानी दिने कानुनी व्यवस्था गर्न लागिएको स्पष्ट पारेका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले राहदानी लागि दुरुपयोग हुन नदिन विद्युतीय राहदानीको पनि व्यवस्था गर्न लागिएको पनि बताए । राहदानी मुलुकको प्रतिष्ठासँग जोडिएको डकुमेन्ट भएकाले यसको स्तरोन्नति पनि गर्ने मन्त्री ज्ञवालीको योजना छ ।

बैठकमा समितिका सदस्यहरुले सांसदहरुलाई कूटनीतिक राहदानी लिन अप्ठयारो बनाउने गरी विधेयकमा प्रावधान राखिएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य एवम् नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले कानुनले परिभाषित गरेका ‘सांसदहरुलाई पनि कूटनीतिक राहदानी लिन संसद सचिवालयको सिफारिस चाहिने’ भनि विधेयकमा गरिएको व्यवस्थाप्रति आपत्ति जनाएका हुन् । उनले कानुनी मान्यता प्राप्त सांसदहरुलाई सांसद भएकै मितिबाट जहिले पनि कूटनीतिक राहदानी लिन पाउने सहज व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

समितिका अर्का सदस्य राधेश्याम अधिकारीले स्पष्ट ऐनमै व्यवस्था गर्नुपर्ने कतिपय विषयलाई पनि सरकारले निर्देशिका र कार्यविधिको भरमा अघि बढाउने गरी सो विधेयक आएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले राहदानीको कानुनी व्यवस्था गर्दा नियमावली र कार्यविधितर्फ भर नपर्ने प्रावधान राख्न पनि सरकारलाई सचेत गराए ।

समितिका सदस्यहरुले राहदानीको दुरुपयोग हुन नदिन पनि सरकारलाई सचेत गराएका थिए ।

Related News