सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विश्वका अर्बपतिहरूको नयाँ अनुहार

विश्वका अर्बपतिहरूको नयाँ अनुहार

6540
Shares
विश्वका अर्बपतिहरूको नयाँ अनुहार

अमेरिकी अखबार फोब्र्सको यो वर्षको विश्वका अर्बपतिहरूको सूचीमा १ सय ९५ जना नयाँ अनुहार परेका छन् । तिनीहरूको सम्पत्तिको स्रोत अस्थायी एजेन्सीहरू सिर्जना गर्नुदेखि विमान सेवा सञ्चालनसम्म रहेको छ ।
तर, अधिकांशलाई र्‍यांकमा पुर्‍याउने स्रोतहरूमा रियल इस्टेट, वित्तीय तथा प्रविधि क्षेत्र नै रहेको देखिएको छ ।
सूचीमा परेका नवप्रवेशी उद्यमीहरूमध्ये तीन चौथाइको सम्पत्ति ‘स्क््रयाच’ हो ।
अर्थात् तिनीहरूमध्ये धेरैले नसोचेको व्यापार, कम्पनी र उद्योग खोलेर धनाढ्य बनेका छन् । तीमध्ये वाइभोन चौउनार्ड पनि एक हुन् । खेलकुदका लागि चाहिने कपडा उत्पादन बेच्ने कम्पनी ‘प्याटागोनिया’ का उनी संस्थापक र मालिक पनि हुन् ।
सन् १९६५ मा एक पर्वतारोहीसमेत रहेका उनले पहाड चढ्दा आवश्यक पर्ने सामग्रीहरूको व्यापार थालेका थिए । त्यसको आठ वर्षपछि उनले अमेरिकाको क्यालिफोर्नियास्थित भेन्टुरामा ‘प्याटागोनिया’ कम्पनी खोले । सीमित बजार रहेको यो क्षेत्रमा हात हाल्नु उनका लागि ठूलो चुनौती थियो ।
तर, दत्तचित्त भई काम गरे सफल भइँदो रहेछ, उनी सफल भए । सन् २०१५ सम्म आइपुग्दा उनको कम्पनीको आम्दानी ७५ करोड अमेरिकी डलर (७७ अर्ब ९२ करोड २० लाख रुपैयाँ) पुग्यो । चौउनार्ड अमेरिकाबाट प्रतिनिधित्व गर्ने २५ (कुल नवप्रवेशी अर्बपतिको १३ प्रतिशत) मध्येका एक हुन् ।
सूचीमा अन्य २० प्रतिशत नर्वेका नागरिक टोरस्टिन ह्यागनसहित युरोपेली छन् । सन् १९९७ मा ह्यागनले नदी र समुद्रको यात्रा गराउने ‘भाइकिङ क्रुसेस’ कम्पनी सुरु गरेका थिए । अर्बपति बन्ने माध्यम भाइकिङ पनि हुन सक्छ भन्ने विश्वास धेरैलाई नलाग्न सक्छ । तर, ह्यागन यसैलाई आफ्नो व्यापारको प्रमुख लक्ष्य बनाई अग्रसर हुँदा सफल भए ।
यी त अमेरिका र युरोपका ‘मोडेल बिलियनर्स’ का उदाहरण भए । सूचीमा परेकाहरूमा एसियालीहरूको प्रतिनिधित्व पनि उल्लेख्य छ ।
६० प्रतिशतभन्दा बढी नवप्रवेशीहरू एसिया अर्थात प्रशान्त क्षेत्रका छन् । तीमध्येका म्यान्नी स्टुल पनि एक हुन् । उनी युरोपको नाजी कालमा नरसंहारबाट बचेका परिवारका सदस्य हुन् ।
स्टुलको बाल्यकाल अस्ट्रेलियाली शरणार्थी शिविरमा बितेको थियो । जीवनमा धेरै संघर्ष गरे, उनले । सत्र वर्ष उमेरमै स्टुलले खेलौना (मुज टोइज) बिक्री गर्ने कम्पनी खोले । हाल उनको कम्पनी ८० भन्दा बढी मुलुकमा लोकप्रिय छ । उनको सम्पत्तिको स्रोत तिनै खेलौनाको बिक्री हो ।
यसैगरी अर्बपतिको सूचीमा ७६ जना नवप्रवेशी चीनबाटै परेका छन् । अन्य मुलुकको तुलनामा यो धेरै हो । सूचीमा परेका मध्येका लुसी पेङ पनि एक हुन् । ई–कमर्स क्षेत्रमा ठूलो कम्पनीका रूपमा स्थापित अलिबाबा समूहका सहसंस्थापक हुन्, उनी । गत वर्ष उनको कम्पनीको सम्पत्तिको मूल्यांकन ६० अर्ब अमेरिकी डलर गरिएको थियो ।
उनी चिनियाँ २१ जना ‘सेल्फ–मेड’ महिला अर्बपतिमध्येकी पनि एक हुन् । आफ्नै परिश्रमबाट उनले सम्पत्ति जोडेकी हुन् । पेङसहित यो वर्षको ‘फोब्र्स’ सूचीमा २४ नव प्रवेशी महिलाहरू छन्, तीमध्ये ९ जना त चीनकै छन् ।
यसो त अमेरिकापछि चीन दोस्रो सबैभन्दा बढी अर्बपति उत्पादन गर्ने मुलुक हो । पछिल्लो समय चीन अर्बपतिको ‘कारखाना’ नै बनेको छ । महिला नवप्रवेशीमा भियतनामकी नगुयेन थी फुओङ थाओ पनि परेकी छन् । उनको सम्पत्तिको स्रोत ‘बजेट एयरलाइन्स सेवा’ हो । सूचीमा जापानकी योसिको सिनोहारा पनि परेकी छन् ।
सन् १९७३ मा टोकियोस्थित अपार्टमेन्टमा आंशिक कर्मचारीका रूपमा उनले काम गरेकी थिइन् । सिनोहारा जापानकी पहिलो सेल्फ–मेड महिला अर्बपति बनेकी छन् । उनको ‘टेम्प होल्डिङ’ कम्पनीको सेयर मूल्य गत वर्ष ५० प्रतिशतले बढेको थियो ।
यो वर्षको सर्वाधिक धनाढ्य सूचीमा परेकाहरूका अमेरिकी तीन दिदीबहिनी पनि छन् । ती हुन्– अमी गोल्डम्यान फोलर, ज्याने गोल्डम्यान र डिआने केम्पर । यिनका पिताले न्युयोर्कमा सञ्चालन गरेको रियल इस्टेट कम्पनी ‘सोसिल म्यानेजमेन्ट’ को सम्पत्ति अंशका रूपमा पाएर धनाढ्य बनेका हुन् ।
यिनीहरूको कुल सम्पत्ति ३ अर्ब अमेरिकी डलर छ । वल्र्ड टेड सेन्टरसहित कम्तीमा ४ सयवटा प्रपर्टिजका मालिक हुन् । त्यस्तै यो वर्ष आइरिसका दुई युवा दाजुभाइ जोन र प्याट्रिक कोलिजन सबैभन्दा कान्छा अर्बपति बनेका छन् । यिनीहरू भुक्तानी प्रक्रियामा सहयोग गर्ने ‘स्ट्रिप’ नामक कम्पनीका सह–संस्थापक हुन् ।
२६ वर्षीय जोन र २८ वर्षीय प्याट्रिकको कुल सम्पत्ति १ दशमलव १ अर्ब अमेरिकी डलर रहेको फोब्र्सले जनाएको छ । जोन विश्वकै सबैभन्दा कान्छा अर्बपति हुन् । उनी इन्स्टाग्रामका संस्थापक ३३ वर्षीय केभिन सिस्ट्रमलाई पछ्याउँदै सूचीमा परेका छन् ।
मेक्सिकोमा रक्सी उत्पादन गर्ने कम्पनीका मालिक जुआन फ्रान्सिस्को बेकमान भिदाल ७७ वर्षमा पहिलोपटक परेका छन् । उनको कुल सम्पत्ति ५ दशमलव २ अर्ब अमेरिकी डलर रहेको छ ।
नव प्रवेशीहरूमा १६ जना उत्तराधिकारी भएर सूचीमा परेका छन् । ‘फोब्र्स’ का अनुसार यो वर्षको नव प्रवेशीहरूको औसत सम्पत्ति १ दशमलव ५ अर्ब अमेरिकी डलर र सबैको जोड्दा ३ सय २ दशमलव १ ट्रिलियन अमेरिकी डलर हुन आउँछ ।  (एजेन्सीहरू) इकान्तिपुरको साथमा

6540
Shares

ट्रेन्डिङ