सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • तत्कालै लाइसेन्स दिने व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

तत्कालै लाइसेन्स दिने व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

1155
Shares
तत्कालै लाइसेन्स दिने व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी चालकको लागि फाराम भरेर परीक्षा समेत उत्तीर्ण गरिसकेका सेवाग्राहीलाई तुरून्तै लाइसेन्स दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

सोमबार प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्री दाहालले फारम भरेर परीक्षासमेत उत्तीर्ण गरिसकेकाहरुलाई तुरुन्तै लाइसेन्स दिने गरी व्यवस्था गर्न निर्देशन दिए ।

उनले १४ लाख सेवाग्राहीले सवारी चालक अनुमतिपत्र फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरिसक्दा पनि लाइसेन्स नपाउनु गम्भीर विषय भएको भन्दै सचेत गराए ।

‘अहिलेको युग प्रविधिको युग हो। त्यसमा पनि सूचना–प्रविधि महत्वपूर्ण छ। हामीले इन्टिग्रिटेड टेक्नोलोजीमा केन्द्रीत भएर परिणाम दिनुपर्छ। त्यसका लागि राज्यका संयन्त्रबीच एकीकृत र समन्वयात्मक काम गर्नुपर्छ,’ प्रधानमन्त्री दाहालले भनेका थिए ।उनले सेवा प्रदायक कार्यालयहरुमा लामा-लामा लाइन हटाउन वैकल्पिक उपायहरुको खोजी गर्न आग्रह गरे ।

‘सबै कार्यालयमा मैले काम गर्ने होइन, काम त तपाईहरूले नै गर्ने हो। मैले नीति निर्माण र योजनाको काम गर्ने हो, कर्मचारीतन्त्रलाई परेको अप्ठ्यारोमा गाँठो फुकाउने हो। नीतिगत निर्णय लिने हो।

त्यसैअनुसार काम गर्नुस्,’ प्रधानमन्त्री दाहालले निर्देशनमा भने, ‘काम तपाईहरूले नगर्ने गाली चाहिँ मैले खाने भइरहेको छ। लाइसेन्स नपाएका युवाले सरकार खत्तम देख्छन्। प्रधानमन्त्रीको आलोचना गर्छन्। तर, काम नगरेको प्रधानमन्त्रीले होइन, विभागले हो भन्ने बुझ्दैनन्। यसमा लापरवाही नगर्नुस्।’

1155
Shares

ट्रेन्डिङ