काभ्रे; नेपाल संवत् तथा शुभदीपावली छठ पर्वको अवसरमा काभ्रेपलाञ्चोकको बनेपामा शुभकामना आदानप्रदान तथा कविता सङ्ग्रह माथि परिचर्चा कार्यक्रम आयोजना गरिएको छ ।नेवा पत्रकार राष्ट्रिय दबू शाखाको आयोजनामा मङ्गलबार भएको कार्यक्रममा शाखाका सल्लाहकार सूर्यप्रसाद लाकोजूद्वारा लिखित ‘एक झुल्को घाम’ कविता सङ्ग्रहमाथि परिचर्चा गरिएको हो ।
कार्यक्रममा साहित्यकार तथा पत्रकार लाकोजूले कविता सङ्ग्रहमा नेपाली समाज, राजनीति, संस्कृति, मानवीय संवेदना, प्रेम, प्रकृति र समयका विविध आयामलाई सरल तर प्रभावकारी भाषामा अभिव्यक्त गरिएको बताउनुभयो । सङ्ग्रहको शीर्षक ‘एक झुल्को घाम’ले अँध्यारो समयका बीच देखापर्ने आशाको सानो किरणलाई सङ्केत गरेको उल्लेख गर्नुभयो । जीवन कठिन र चुनौतीपूर्ण भए पनि मनमा उज्यालो प्रतिको विश्वास कहिल्यै हराउन नहुने भाव सङ्ग्रहमा समेटिएको उहाँले बताउनुभयो ।
नेवा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सचिव राजु नापितले नेपाली साहित्यको विकास र समृद्धिमा सूर्यप्रसाद लाकोजू जस्ता आदिवासी जनजाति समुदायका स्रष्टाको योगदान उल्लेखनीय रहेको बताउनुभयो। नेवा कला, संस्कृति र परम्पराको संरक्षण तथा जागरणका लागि पत्रकारिता मार्फत आफ्नो समुदायको पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले नेवा पत्रकारको हकहितका साथै भाषा, संस्कृति र पहिचानको संरक्षणमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको सभापतित्व शाखाका अध्यक्ष शम्भुलाल श्रेष्ठले गर्नुभएको थियो ।


