सबैको समाचार
सोमवार, कार्तिक १७, २०८३
  • होमपेज
  • बिहान १ बजेदेखि च्याउ टिप्दै, स्वदेशमै भविष्य खोज्दै देवराज

बिहान १ बजेदेखि च्याउ टिप्दै, स्वदेशमै भविष्य खोज्दै देवराज

5
Shares
बिहान १ बजेदेखि च्याउ टिप्दै, स्वदेशमै भविष्य खोज्दै देवराज

काभ्रे ; बिहानको १ बजेको हुन्छ। धेरै मानिस गहिरो निद्रामा हुन्छन्। गाउँघर शान्त हुन्छ र सडकमा चहलपहल सुरु भएको हुँदैन । तर, पनौती नगरपालिका–९, बिजुली हाइड्रोपावर स्थित रोशी कृषि फार्मका २९ वर्षीय देवराज स्याङ्तान भने च्याउ टिप्न व्यस्त हुनुहुन्छ । बिहान ३ः३० बजेसम्म च्याउ टिपि सके पछि उहाँलाई उत्पादित च्याउ तरकारी बजार सम्म पु¥याउने चटारो हुन्छ । परिवार सँगै बसेर आफ्नै देशमा केही गर्ने अठोटका साथ उहाँले अँगाल्नु भएको व्यावसायिक च्याउखेतीको दैनिकी यही हो ।

वैदेशिक रोजगारीमा १० वर्ष बिताएर स्वदेश फर्किनु भएका स्याङ्तान अहिले च्याउखेती मार्फत आफ्नै गाउँठाउँमा भविष्य खोजि रहनुभएको छ । विदेशमा रहँदा परिवारबाट टाढा बिताएका दिन र भोग्नु परेको अभावले उहाँलाई आफ्नै परिवार सँग बसेर जीवन बिताउने चाहना जगायो । लामो समय परदेशमा श्रम गर्दा परिवार सँगै बसेर सुख दुःख बाँड्ने अवसर कम पाए पछि उहाँले स्वदेशमै केही गर्ने निर्णय गर्नुभयो । त्यस पछि विदेशमा अरूका लागि श्रम गर्नु भन्दा आफ्नै गाउँमा पसिना बगाएर आत्मनिर्भर बन्ने बाटो रोज्नुभयो ।

“विदेशमा परिवारको अभावमा बिताएका दिन बिर्सन सकिनँ । त्यसैले आफ्नै परिवारको काखमा रहेर सुख दुःख भोग्दै, कसैको दबाब र प्रभावमा नपरी यो पेसामा लागेको हुँ”, स्याङ्तानले भन्नुभयो ।

परिवारले गर्दै आएको पेसालाई निरन्तरता दिने सोचका साथ च्याउखेतीमा लाग्नु भएका उहाँका लागि यो व्यवसाय नयाँ भने थिएन । उहाँका बुवाआमाले विसं २०६५ देखि नै च्याउखेती गर्दै आउनु भएको थियो । परिवारले गर्दै आएको यही पेसा उहाँका लागि परिचित थियो । विदेशबाट फर्किए पछि उहाँले पारिवारिक व्यवसायलाई निरन्तरता दिँदै विस्तार गर्ने योजना बनाउनुभयो । परिवारबाट प्राप्त अनुभव र सीपलाई व्यावसायिक रूपमा अघि बढाउने उहाँको प्रयास अहिले च्याउखेतीमा केन्द्रित छ ।

करिब साढे दुई रोपनी जग्गा भाडामा लिएर च्याउखेती सुरु गर्नु भएका स्याङ्तानले सुरुमा रु २० हजार लगानीमा पाँचवटा टनेल बनाउनुभएको थियो । अहिले उहाँ सँग २७ वटा टनेल छन् । ती टनेल निर्माणमा कुल रु २१ लाख ६० हजार लगानी भएको उहाँले बताउनुभयो ।
व्यवसाय विस्तार गर्दै जाँदा आफ्नै पुँजीले नपुगे पछि उहाँले सहकारीबाट ऋण समेत लिनु भएको छ । सानो लगानीबाट सुरु भएको व्यवसायलाई अहिलेको अवस्थामा पु¥याउन निरन्तर मेहनत सँगै थप पुँजी आवश्यक परेको उहाँको अनुभव छ । कृषि व्यवसायमा उत्पादन बढाउन लगानी सँगै समय, श्रम र व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण हुने उहाँ बताउनुहुन्छ ।

यस व्यवसायमा उहाँलाई परिवारको साथ र सहयोग छ । बुवा, आमा, भाइ र बुहारी मिलेर टनेलको काम तथा हेरचाह गर्नुहुन्छ । च्याउ टिप्ने, टनेलको हेरचाह गर्ने र उत्पादन व्यवस्थापन गर्ने काममा परिवारका सदस्यको सहकार्य रहँदै आएको छ । मुख्य सिजनमा वा कामको चाप बढेका बेला ज्यालामा अतिरिक्त कामदार समेत राख्ने गरिएको छ ।


च्याउखेती सुरु गर्नुअघि उहाँकी आमाले आवश्यक तालिम लिनु भएको थियो । परिवारमा पहिले देखि नै च्याउखेती हुँदै आएकाले यस सम्बन्धी आधारभूत जानकारी प्राप्त गर्न उहाँलाई सहज भयो । पारिवारिक अनुभवलाई आधार बनाएर व्यवसाय अघि बढाउनु भएका स्याङ्तान खेती सम्बन्धी ज्ञान थप विस्तार गर्न पनि सक्रिय हुनुहुन्छ । उहाँले अहिले अनलाइन मार्फत समेत कक्षा लिइ रहनु भएको छ । परम्परागत अनुभव सँगै नयाँ प्रविधि र ज्ञान सिक्न सके उत्पादनलाई व्यवस्थित बनाउन सकिने उहाँको विश्वास छ ।


च्याउखेतीमा उत्पादन गर्नु मात्र पर्याप्त हुँदैन । उत्पादित च्याउको गुणस्तर कायम राख्न नियमित हेरचाह र बजार व्यवस्थापनमा समेत ध्यान दिनुपर्छ । स्याङ्तानले च्याउलाई रोग तथा कीराबाट जोगाउन र टनेल भित्र आवश्यक वातावरण कायम राख्न विशेष ध्यान दिने गर्न ुभएको छ । उत्पादनका विभिन्न चरणमा उचित हेरचाह गर्न सके मात्रै बजारमा बिक्री योग्य च्याउ उत्पादन गर्न सकिने उहाँको अनुभव छ ।


उहाँका अनुसार च्याउको बीउ राखेको करिब २१ दिन देखि चार साता भित्र च्याउ टिप्न मिल्ने हुन्छ । एउटा टनेलमा करिब ४४० प्याकेट राख्ने गरिएको छ । त्यसबाट एक लटमा करिब ८०० देखि ९०० किलोसम्म च्याउ उत्पादन हुने गरेको उहाँले बताउनुभयो । एक वर्षमा एउटा टनेलमा दुई लटमा मात्रै च्याउ उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । उत्पादनको मात्रा बढाउन र गुणस्तर कायम राख्न टनेलको व्यवस्थापन देखि च्याउ टिप्ने समय सम्म उहाँ आफैँ सक्रिय रहनुहुन्छ ।


च्याउखेतीका लागि आवश्यक पराल डिलर मार्फत ल्याउने गरिएको छ भने च्याउको बीउ काठमाडौँ र भक्तपुरबाट खरिद गरिन्छ । अर्डर गरे पछि बीउ सहजै उपलब्ध हुने गरेको उहाँले बताउनुभयो । खेतीका लागि आवश्यक सामग्रीको व्यवस्थापन देखि उत्पादित च्याउ बिक्री गर्ने प्रक्रिया सम्म उहाँले आफैँ जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।


उत्पादनलाई बजार सम्म पु¥याउन उहाँको दैनिकी बिहानै देखि सुरु हुन्छ । राति १ बजेदेखि च्याउ टिप्न थाल्ने उहाँ बिहान ३ः३० बजे सम्म टिपि सक्नु हुन्छ । त्यस पछि तरकारी बजार खुल्ने बित्तिकै उत्पादित च्याउ बजार पु¥याउनु हुन्छ । अरूका लागि आराम गर्ने समय उहाँका लागि काम गर्ने समय बनेको छ । च्याउखेतीमा उत्पादन सँगै समय व्यवस्थापन र बजार सम्मको पहुँच पनि उत्तिकै महत्त्वपूर्ण हुने उहाँको दैनिकीले देखाउँछ ।
स्याङ्तानले उत्पादन गर्दै आउनु भएको कन्या (अयस्टर) च्याउ अहिले थोकमा प्रतिकिलो रु १५० मा बिक्री हुने गरेको छ । बजारमा च्याउ बिक्री भए पनि उत्पादन लागत र आफ्नो श्रम अनुसार उचित मूल्य पाउन नसक्दा व्यवसायबाट अपेक्षित प्रतिफल लिन चुनौती भइरहेको उहाँको अनुभव छ । खेतीमा लगानी, श्रम र समय खर्च गर्नुपर्ने भएकाले बिक्री मूल्यले त्यसको उचित प्रतिफल दिनुपर्ने उहाँको अपेक्षा छ ।
उहाँका अनुसार च्याउ बिक्रीबाट एक वर्षमा रु १३ लाख सम्म कुल आम्दानी हुने गरेको छ । यो रकम उत्पादन लागत, टनेल व्यवस्थापन, श्रम तथा अन्य खर्च कटाउनु अघिको आम्दानी हो । एउटा टनेलबाट एक वर्षमा उत्पादन हुने दुई लटको कुल आम्दानी करिब रु ५० हजार हुने उहाँले बताउनुभयो ।


गत वर्ष स्थानीय सरकारबाट अनुदान स्वरूप रु दुई लाख प्राप्त भए पछि व्यवसाय विस्तारमा सहयोग पुगेको उहाँले बताउनुभयो । आगामी दिनमा पनि स्थानीय तहबाट आवश्यक सहयोग प्राप्त भए च्याउखेती थप विस्तार गर्न हौसला मिल्ने उहाँको अपेक्षा छ । च्याउखेतीमा आवश्यक प्राविधिक ज्ञान, सीप, उत्पादन व्यवस्थापन र बजारसम्बन्धी सहयोग सँगै सरकारी अनुदान तथा सहुलियत पूर्ण ऋणको व्यवस्था हुन सके आफ ूजस्ता किसानलाई व्यावसायिक रूपमा अघि बढ्न थप सहज हुने उहाँ बताउनुहुन्छ । सरकारी निकायबाट प्रविधि र आवश्यक सहयोग प्राप्त भए उत्पादन बढाउनुका साथै व्यवसायलाई थप व्यवस्थित बनाउन सकिने उहाँको विश्वास छ ।


वैदेशिक रोजगारीमा एक दशक बिताएर फर्किनु भएका स्याङ्तानले परिवार सँगै रहेर आफ्नै गाउँमा उद्यम गर्ने बाटो रोज्नुभएको छ । परिवारले गर्दै आएको च्याउखेतीलाई निरन्तरता दिँदै सुरुमा पाँच वटा टनेलबाट थालिएको व्यवसायलाई अहिले २७ वटासम्म विस्तार गर्नुभएको छ । बिहान १ बजेदेखि सुरु हुने उहाँको दैनिकी उत्पादन र बजारीकरणसँग जोडिएको छ ।


परदेशको अनुभवलाई स्वदेशको श्रमसँग जोडेर कृषि व्यवसायमा भविष्य खोजि रहनु भएका स्याङ्तानको यात्राले आफ्नै गाउँठाउँमा उद्यम गर्ने सम्भावना देखाएको छ । परिवारको साथ, पारिवारिक अनुभव र निरन्तर मेहनतलाई आधार बनाएर उहाँले स्वदेशमै व्यवसाय अघि बढाइरहनुभएको छ । विदेशमा श्रम गरेर फर्किएका व्यक्तिले आफ्नो सीप र अनुभवलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न सक्ने सम्भावनाको एउटा उदाहरण उहाँको प्रयास बनेको छ ।

5
Shares

ट्रेन्डिङ