सबैको समाचार
सोमवार, कार्तिक १७, २०८३
  • होमपेज
  • मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर, १५० भन्दा बढी लाभान्वित

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर, १५० भन्दा बढी लाभान्वित

30
Shares
मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर, १५० भन्दा बढी लाभान्वित

काभ्रे; काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० भन्दा बढी नागरिक लाभान्वित भएका छन् ।जिल्ला सहकारी सङ्घ लिमिटेड काभ्रेको आयोजना तथा पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सह आयोजनामा शनिबार संस्थाको कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो ।


संस्थाको वार्षिक साधारणसभाको अवसरमा आयोजित शिविरमा रेयुकाई मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोग रहेको थियो । शिविरमा सहभागीको आँखा परीक्षण गर्नुका साथै आँखा सम्बन्धी समस्या पहिचान गरी स्वास्थ्य परामर्श तथा आवश्यक उपचारका लागि सुझाव प्रदान गरिएको थियो ।


जिल्ला सहकारी सङ्घ र रेयुकाई मासुनागा आँखा अस्पताल बीच भएको सम्झौता अनुसार शिविरमा परीक्षणका क्रममा मोतिबिन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको छ ।जिल्ला सहकारी सङ्घका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले सहकारी संस्थाले आर्थिक तथा संस्थागत गतिविधि सँगै समुदायको स्वास्थ्य र सामाजिक हितका कार्यक्रमलाई पनि प्राथमिकता दिँदै आएको बताउनुभयो ।


उहाँले सदस्य सहकारी संस्था सँगको समन्वय र सहकार्यमा स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरूप आँखा शिविर आयोजना गरिएको जानकारी दिनुभयो । समयमै आँखा परीक्षण र रोगको पहिचान गरी उपचार गर्न सके दृष्टि सम्बन्धी समस्या न्यूनीकरणमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।


स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरबाट ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा आँखा परीक्षण तथा परामर्श सेवा लिन सहयोग पुगेको आयोजकले जनाएको छ ।

30
Shares

ट्रेन्डिङ