काभ्रे । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. २ मा चुनावी सरगर्मी बढेको छ। यसै क्रममा ‘उज्यालो नेपाल पार्टी’ ले प्रविधि र विकासको स्पष्ट भिजनसहित इन्जिनियर ज्योत्सना सैँजुलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा चुनावी मैदानमा उतारेको छ। “सशक्त महिलाले राष्ट्रलाई सशक्त बनाउँछ” भन्ने मूल नाराका साथ सैँजुले आफ्नो प्रचार अभियानलाई तीव्र पारेकी छिन्।
सैँजु पेसाले कम्प्युटर इन्जिनियर र सफल होटल व्यवसायी हुन्। सूचना प्रविधि (IT), अध्यापन र बैंकिङ क्षेत्रमा लामो अनुभव सँगालेकी उनले आफूलाई ‘गफ र भाषणभन्दा पनि नतिजा दिने’ नेतृत्वको रूपमा चिनाएकी छिन्। उनी रोटरी क्लब, महिला उद्यमी संघ र उद्योग वाणिज्य संघ जस्ता विभिन्न सामाजिक तथा व्यावसायिक संघ–संस्थाहरूमा समेत सक्रिय रूपमा आबद्ध छिन्।
यस्ता छन् सैँजुका मुख्य चुनावी एजेण्डाहरू
उम्मेदवार सैँजुले काभ्रेको विकास र समृद्धिका लागि ९ बुँदे महत्त्वाकांक्षी योजना सार्वजनिक गरेकी छिन्। उनले विशेषगरी प्रविधि र नवप्रवर्तन (Innovation) लाई प्राथमिकता दिँदै देशको कुल राजस्वको १ प्रतिशत बजेट एआई (AI), रोबोटिक्स र स्टार्टअपको अनुसन्धानमा खर्च गर्ने नीति ल्याउने बताएकी छिन्। साथै, वैदेशिक लगानी (FDI) भित्र्याउन कानुनी सहजीकरण गर्ने उनको योजना छ।


पूर्वाधार विकासतर्फ सैँजुले विगत ५ वर्षदेखि अलपत्र परेको अरनिको राजमार्ग र बनेपा–बर्दिबास सडकलाई द्रुत गतिमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएकी छिन्। काभ्रेका नागरिकका लागि खानेपानीको आधारभूत समस्या समाधान गर्नुका साथै जिल्लाको भूगोललाई पर्यटनमैत्री बनाउने र राष्ट्रिय ध्वजावाहक हवाई सेवालाई सुदृढ बनाउने उनको घोषणापत्रमा उल्लेख छ।
ऊर्जा क्षेत्रमा क्रान्ति ल्याउने लक्ष्यका साथ उनले आगामी १० वर्षमा १० देखि १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने र सुनकोशी–३ जस्ता ठुला आयोजनाहरू अघि बढाउने योजना अघि सारेकी छिन्। कृषि क्षेत्रको आधुनिकीकरणका लागि मल, बीउ र सिँचाइमा सहजीकरण गर्ने तथा महाभारत लेक क्षेत्रमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरी जिल्लालाई आत्मनिर्भर बनाउने उनको संकल्प छ।
सैँजुले सामाजिक मुद्दाहरूलाई पनि उत्तिकै प्राथमिकता दिएकी छिन्। महिलाहरूको शिक्षा, सुरक्षा र राजनीतिक समावेशीकरणका साथै वैदेशिक रोजगारीका कारण घरमा एक्लै रहेका वृद्ध–वृद्धाहरूको सम्मानजनक बसोबास र सामाजिक संरक्षणका लागि उनले विशेष पहल गर्ने बताएकी छिन्।
चुनाव चिह्न र पार्टीको तयारी
उज्यालो नेपाल पार्टीको तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी सैँजुको चुनाव चिह्न ‘चिम’ (बल्ब) रहेको छ भने सोही पार्टीको समानुपातिकतर्फको चुनाव चिह्न ‘बाँसुरी’ रहेको छ। शिक्षित र प्रविधिमैत्री युवा उम्मेदवारका रूपमा सैँजुको आगमनले काभ्रे–२ को चुनावी प्रतिस्पर्धालाई थप रोचक र अर्थपूर्ण बनाएको स्थानीय विश्लेषण छ।