असोज ७ ,काभ्रे : काभ्रेपलाञ्चोकमा कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार, व्यावसायिक खेती तथा उत्पादित कृषि उपजको बजारीकरणमा जोड दिइएको छ ।
कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा चालु आर्थिक वर्ष २०८३/८४ को कार्यक्रम सार्वजनिक गर्दै उत्पादनसँगै प्रविधि, बजार, पूर्वाधार र कृषकको आम्दानी वृद्धिलाई प्राथमिकतामा राखिएको जनाएको हो ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा वर्षे धान १० हजार २१० हेक्टरमा खेती भई ३९ हजार ५१३ मेट्रिक टन उत्पादन भएको छ । चैते धान ८५५ हेक्टरमा तीन हजार ८५० मेट्रिक टन, मकै २६ हजार १२० हेक्टरमा ९४ हजार १२० मेट्रिक टन र गहुँ आठ हजार २५० हेक्टरमा २३ हजार ९२५ मेट्रिक टन उत्पादन भएको छ ।

त्यसैगरी कोदो तीन हजार २५० हेक्टरमा चार हजार २२५ मेट्रिक टन, फापर ५९० हेक्टरमा ६०२ मेट्रिक टन, जौ ३४७ हेक्टरमा ३४१ मेट्रिक टन, आलु १० हजार १०० हेक्टरमा दुई लाख नौ हजार ७० मेट्रिक टन तथा तरकारी ११ हजार ३२५ हेक्टरमा एक लाख ९३ हजार ६५८ मेट्रिक टन उत्पादन भएको कार्यालयको तथ्याङ्क छ ।
फलफूलतर्फ कागती ६२२ हेक्टरमा चार हजार ९१४ मेट्रिक टन, सुन्तला एक हजार २६४ हेक्टरमा सात हजार ६८० मेट्रिक टन र किवी ८५ हेक्टरमा ५२७ मेट्रिक टन उत्पादन भएको छ । कफी २८५ हेक्टरमा ६२ मेट्रिक टन उत्पादन भएको कार्यालयको वार्षिक समीक्षाले देखाएको छ ।
कार्यालयको खाद्यान्न वासलातअनुसार जिल्लामा विभिन्न खाद्यान्न बालीको कुल उत्पादन एक लाख ५८ हजार ५९१ मेट्रिक टन रहेको छ । प्रशोधन तथा अन्य प्रयोजनपछि खुद उपभोग्य खाद्यान्न ६२ हजार ३२० मेट्रिक टन रहेकोमा जिल्लाको वार्षिक आवश्यकता ७२ हजार ५९१ मेट्रिक टन रहेको छ । यस आधारमा जिल्लामा प्रशोधित खाद्यान्नतर्फ १० हजार २७० दशमलव २७ मेट्रिक टन अपुग देखिएको छ ।
बीउतर्फ पनि प्रमुख बालीमा आवश्यकता र उत्पादनबीच अन्तर देखिएको छ । कार्यालयका अनुसार धानको आवश्यक बीउ ४७४ दशमलव ६ मेट्रिक टन रहेकामा उत्पादन ६६ मेट्रिक टन, गहुँको आवश्यकता ८२२ दशमलव ८ मेट्रिक टन रहेकामा उत्पादन चार मेट्रिक टन र मकैको आवश्यकता ५०६ दशमलव ७६ मेट्रिक टन रहेकामा उत्पादन १७ मेट्रिक टन छ । कोदो, फापर र जौको बीउ उत्पादन शून्य रहेको छ । आलुतर्फ भने एक हजार मेट्रिक टन बीउ उत्पादन भएकोमा आवश्यकता एक हजार १२ मेट्रिक टन रहेको छ ।
रासायनिक मलतर्फ युरिया सात हजार २७६ दशमलव ५५ मेट्रिक टन, डिएपी चार हजार ४४७ दशमलव ८५ मेट्रिक टन र पोटास ४५० दशमलव ७५ मेट्रिक टन आपूर्ति भएको तथ्याङ्कले देखाएको छ ।
कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा कृषकका लागि आठ वटा स्थलगत तालिम, बालीसम्बन्धी छ वटा कृषक पाठशाला, तीन वटा अन्तरजिल्ला कृषक भ्रमण तथा बीउ, विषादी, कृषि बीमा र सहुलियतपूर्ण कर्जासम्बन्धी दुई वटा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
बीउ व्यवसाय सञ्चालनतर्फ ३० जना सहभागी हुने गरी एक पटक तालिम सञ्चालन गरिएको थियो । कार्यालयले ८९ वटा बीउ व्यवसायसम्बन्धी इजाजतपत्र जारी तथा नवीकरण, तीन पटक बीउ बजार अनुगमन र ३४ वटा इजाजतपत्र खारेज गरेको छ । विषादी व्यवसायीतर्फ इजाजतपत्र जारी तथा नवीकरणका लागि २४ वटा सिफारिस र दुई पटक बजार अनुगमन गरिएको छ ।
स्थानीय उत्पादनको बजारीकरणका लागि बनेपा र धुलिखेलमा साप्ताहिक हाटबजार सञ्चालन, महाभारत, खानीखोला र भुम्लुमा कफीका नर्सरी तथा नमुना बगैँचा स्थापना तथा पाँचखाल, बनेपा, पनौती र बेथानचोकमा संरक्षित संरचनामा तरकारी खेती विस्तार गरिएको कार्यालयले जनाएको छ ।
स्थानीयस्तरमा गुणस्तरीय बिरुवा उत्पादन तथा आपूर्ति सहज बनाउनुका साथै बेमौसमी तरकारी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ का लागि कृषि विकास कार्यालयले रु. पाँच करोड ५५ लाख ८६ हजारको कुल बजेट प्राप्त गरेको छ । त्यसमध्ये कार्यक्रमतर्फ रु. तीन करोड ७५ लाख ६९ हजार विनियोजन गरिएको छ ।
कार्यालयले चालु आवमा कृषि प्राविधिकका लागि जलवायु उत्थानशील तथा नवीनतम प्रविधिसम्बन्धी तालिम, विभिन्न बालीमा नवीनतम प्रविधि प्रदर्शन, आकस्मिक बाली संरक्षण सेवा, मेला, महोत्सव तथा दिवस सञ्चालन, स्मार्ट कृषि प्रविधि अवलम्बनमा सहयोग तथा कृषि यन्त्र र औजार मर्मतसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
प्रवद्र्धन तथा विकासतर्फ साना सिँचाइका २२ आयोजना सञ्चालनका लागि रु. ५६ लाख विनियोजन गरिएको छ । त्यस्तै १० हेक्टरमा कफी प्रवद्र्धन तथा क्षेत्र विस्तारका लागि रु. २० लाख, २० हेक्टरमा व्यावसायिक तरकारी खेती प्रवद्र्धनका लागि रु. ४० लाख, ३५ वटा मागमा आधारित जीविकोपार्जन कार्यक्रमका लागि रु. ३५ लाख र पाँच वटा समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन’ कार्यक्रमका लागि रु. एक करोड विनियोजन गरिएको छ ।
कार्यक्रमअन्तर्गत उन्नत बीउ तथा बिरुवा, सुरक्षित विषादी, कृषि चुन, नर्सरी तथा स्रोत केन्द्र स्थापना, प्लास्टिक घर, ग्रीन हाउस तथा सेमी हाइटेक संरचना निर्माण, बगैँचा व्यवस्थापन, साना तथा थोपा सिँचाइ, कृषि यान्त्रिकीकरण, सङ्कलन केन्द्र, भण्डारण तथा प्रशोधन, उत्पादनपछिको प्रविधि, बजारीकरण, माटो परीक्षण, कृषक तालिम तथा प्रदर्शन र बाली बीमालगायतका गतिविधिमा सहयोग गर्ने योजना रहेको छ ।
कार्यालयले कृषि उत्पादनमा देखिएका रोग तथा समस्याको पहिचान र व्यवस्थापनमा समेत काम गरिरहेको जनाएको छ । धानमा ‘ड्राइ प्यानिकल’, सुन्तलाजात फलफूलमा फल झर्ने तथा मकैमा दाना नलाग्ने समस्या देखिएको कार्यालयको प्रगतिमा उल्लेख छ । गोलभेँडामा फ्युजारियम विल्ट, पिथ नेक्रोसिस तथा टोमेटो ब्राउन रुगोज फ्रुट भाइरस पहिचान गरी व्यवस्थापनका लागि समन्वय गरिएको छ ।
त्यस्तै केरामा ओइलाउने तथा मर्ने समस्या देखिएपछि नमुना परीक्षणबाट भाइरस पहिचान गरी व्यवस्थापनका लागि समन्वय गरिएको तथा कफीमा हाँगा सुक्ने, भाँचिने र बोट मर्ने समस्या देखिएपछि ह्वाइट बोरर तथा कफी रस्ट पहिचान गरी व्यवस्थापनका लागि समन्वय गरिएको कार्यालयले जनाएको छ ।
‘एक वडा एक कृषि उत्पादन’ कार्यक्रम कार्यान्वयनमा लागत साझेदारीको रकम जम्मा गर्नुपर्ने व्यवस्था, स्थानीय तहको भूमिका तथा छनोट भएका कार्यक्रमको प्राविधिक उपयुक्तताबारे स्पष्टता आवश्यक रहेको कार्यालयले जनाएको छ । यसका कारण समयमै कार्यक्रम सम्झौता तथा कार्यान्वयनमा कठिनाइ हुने गरेको कार्यालयको समीक्षा छ ।
त्यस्तै स्वीकृत वार्षिक बजेटमा समस्या, कार्यक्रम तथा अख्तियारी ढिलो प्राप्त हुनु र बजेट रोक्का तथा कटौतीजस्ता कारणले कार्यक्रम कार्यान्वयनमा कठिनाइ हुने गरेको सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निर्देशनालयमा पत्राचार गर्ने र प्राप्त बजेटअनुसार कार्यक्रम कार्यान्वयन गर्दै आएको कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले कृषि क्षेत्रका कार्यक्रम उत्पादन बढाउने मात्र नभई नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
कृषि विकास कार्यालय, काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले कृषि उत्पादनलाई आधुनिक प्रविधि, बजार र कृषकको आम्दानीसँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले उत्पादन बढे पनि उचित बजार, भण्डारण, प्रशोधन तथा मूल्य प्राप्ति सुनिश्चित नभए कृषकले अपेक्षित लाभ लिन नसक्ने भएकाले उत्पादनदेखि बजारीकरणसम्मको मूल्य शृङ्खलामा ध्यान दिनुपर्ने बताउनुभयो ।
कृषि उत्पादन वृद्धि, सिँचाइ, बीउ, प्रविधि, भण्डारण, प्रशोधन र बजारीकरणलाई एकीकृत रूपमा अघि बढाउन सके जिल्लाको कृषि क्षेत्रलाई थप व्यावसायिक बनाउन सकिने कार्यालयको निष्कर्ष छ ।
कार्यक्रम सार्वजनिक तथा प्रगति समीक्षा कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, कृषि क्षेत्रका सरोकारवाला तथा कृषकको सहभागिता रहेको थियो ।


