सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • नक्कली सरकारी नम्बर प्लेट राखेर गाँजा तस्करी

नक्कली सरकारी नम्बर प्लेट राखेर गाँजा तस्करी

300
Shares
नक्कली सरकारी नम्बर प्लेट राखेर गाँजा तस्करी

सुनसरी । सुनसरी प्रहरीले मंगलबार राति बरामद गरेको करिब ७ सय केजी गाँजा लोड गरिएको गाडी सरकारी नभएको पुष्टि भएको छ ।

सुनसरी प्रहरीले बिहीबार इलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गरी सरकारी नम्बर प्लेट राखिएको दुई वटा गाडी सरकारी नभएको जनाएको हो ।

इलाका प्रहरी कार्यालय धरानको टोलीले चार राउन्ड गोलीसमेत चलाएर नियन्त्रणमा लिएको उक्त गाडी कारोबारीले सरकारी किर्ते नम्बर प्लेट राखेर चलाएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

प्रहरीले कोशी राजमार्गअन्तर्गत धनकुटाबाट गाँजा लिएर धरानतर्फ आउँदै गरेको सरकारी नक्कली नम्बर प्लेट भएको बा १ झ ४६०५ नम्बरको स्कारपियो र बा १ झ ५१२७ नम्बरको कार मंगलबार राति रोकेर चेक गर्ने क्रममा गोली चलाएर नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएको दुवै गाडीको च्यासिस नम्बर र इन्जिन नम्बर हालसम्म दर्ता भएका गाडीहरूको हो कि होइन भन्ने यकिन हुन नसकेको र थप विस्तृत अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिमल्सिनाले जानकारी दिए ।

बरामद भएका गाडी सरकारी अड्डाका नम्बर प्लेट राखेर गाँजा तस्करीका लागि प्रयोग भएको खुल्न आएकाले मुलुकी अपराध संहिताको परिच्छेद–२५ को दफा २७६ को उपदफा २ को ‘ख’ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।

सरकारी किर्ते नम्बर भएको बा १ झ ४६०५ नम्बरको गाडी चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मा पक्राउ परे पनि अर्का चालक गाडी छाडेर फरार रहेका छन् । उनको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

300
Shares

ट्रेन्डिङ