सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजपा रणनीति : आन्दोलन भन्दै चुनावको तयारी

राजपा रणनीति : आन्दोलन भन्दै चुनावको तयारी

2930
Shares
राजपा रणनीति : आन्दोलन भन्दै चुनावको तयारी

काठमाडौं, २३ जेठ । राष्ट्रिय जनता पार्टीका एक वरिष्ठ नेता यति बेला आफ्नो गृहक्षेत्र सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिकाका मेयर–उपमेयरलगायत विभिन्न पदमा आफूअनुकूलको प्रभावशाली प्यानल मिलाउन व्यस्त छन्। मधेस आन्दोलनका सहिद परिवारका एक सदस्यलाई उम्मेदवार बनाउन उनी दुई दिनअघि भारदहमा रातको समयमा घन्टौं सक्रिय रहेको पार्टीनिकटकै स्रोतको दाबी छ। ‘मधेस आन्दोलनका एक सहिदकी पत्नीलाई पार्टीको टिकटमा उम्मेदवार बनाउन उहाँ सक्रिय देखिनुभा’छ’, स्रोतले भन्यो, ‘पार्टीले चुनाव बहिष्कार गर्ने बताइरहँदा केन्द्रीय स्तरका वरिष्ठ यी नेताको रबैयाले स्थानीय कार्यकर्ता नै अन्योलमा परेका छन्।’
६ मधेसवादी दल एकीकरण भएर निर्माण भएको राजपा अझैै पनि औपचारिक रुपमा चुनावको विरोधमै छ। शनिबार मात्रैै राजपा सप्तरीले विज्ञप्ति जारी गर्दै संविधान संशोधन नभई चुनावमा नजाने तथा संविधान संशोधन प्रक्रियामा बाधक देखिएको एमालेले सप्तरीमा गर्ने जुनसुकै कार्यक्रमको प्रतिवाद गर्ने जनाएको थियो। यसरी सार्वजनिक रुपमा चुनावको विरोध गरिराखेको भए पनि राजपाको केन्द्रीयदेखि जिल्ला तहसम्मको नेतृत्व पंक्ति भित्रभित्रै चुनाव तयारीमा जुटेको स्रोतको दाबी छ। स्रोतका अनुसार भारतीय राजदूतले चुनावमा जान राजपालाई गरेको आग्रह, स्थानीय कार्यकर्ताको दबाबलगायतका कारण पार्टी नेतृत्वले आन्तरिक रुपमै भए पनि चुनाव तयारीलाई निरन्तरता दिएको हो।
‘दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि निर्धारित मिति सारिएलगत्तै पार्टीभित्र चुनावी रणनीति निर्माणले तीव्रता लिएको हो’, नाम नछाप्ने सर्तमा एक केन्द्रीय नेताले भने, ‘पर्ख र हेरको नीतिअनुरुप हामी अघि बढिरहेका छौं, चुनावमै भाग लिनुपर्‍यो भने तयारी त चाहिन्छ नै, नभए आन्दोलन त छँदै छ नि।’
पछिल्लो एक सातायता राजपाले सप्तरीस्थित विभिन्न गाउँपालिका, नगरपालिकादेखि वडा तथा बस्तीस्तरमा समेत आन्दोलन परिचालन समिति गठनलाई उच्च प्राथमिकता दिएर अघि बढाएको पार्टी सचिव गजेन्द्र मण्डलले बताए। उनले भने, ‘पार्टी एकीकरणपश्चात् त्यसै पनि संगठन विस्तार तथा सुदृढीकरण गर्नुपर्‍यो, त्यसमाथि चुनाव र आन्दोलन त झन् संगठनबिना कहाँ सम्भव हुन्छ र?’
आफूहरु चुनावविरोधी नरहेको मण्डलको भनाइ छ। ‘हामी चुनावविरोधी होइनौं’, मण्डलले भने, ‘चुनावको विकल्प खुला राखेरै हामी आन्दोलनमा होमिएका हौं, माग सम्बोधन भयो भने चुनावमा जानै पर्छ। त्यति बेला संगठन नभए निकै समस्या सामना गर्नुपर्ने हुन्छ।’ सप्तरीका १७ स्थानीय तहमध्ये सुरुंगा र सप्तकोसी नगरपालिकाबाहेक सबैजसो तहमा आन्दोलन परिचालन कमिटी गठन गरिसकेको राजपा सप्तरीका अध्यक्ष सुनिलकुमार झाले जानकारी गराए। ‘सुरुंगा र सप्तकोसीमा पनि जेठ २५ गतेसम्म गठन हुन्छ’, झाले भने, ‘साथै ६० प्रतिशत वडामा पनि आन्दोलन परिचालन समिति गठन भइसकेको छ, बाँकि २५ गतेसम्म टुंग्याउँछौं।’
-नागरिक दैनिक

2930
Shares

ट्रेन्डिङ