सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • श्रीलंका हिँडेका आठ युवती ‘अफ लोड’

श्रीलंका हिँडेका आठ युवती ‘अफ लोड’

4470
Shares
श्रीलंका हिँडेका आठ युवती ‘अफ लोड’

काठमाडौँ, साउन ६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यामगन कार्यालयले क्यासिनोको तालिम लिन भन्दै श्रीलंका हिँडेका आठ नेपाली युवतीलाई फिर्ता (अफ लोड ) गरेको छ । गत मंगलबार भारतको मुम्बई हुँदै श्रीलंकाको राजधानी कोलम्बोमा क्यासिनोको तालिम लिन हिँडेका आठ युवतीको यात्रा शंकास्पद भएको भन्दै अध्यागमनले फिर्ता गरेको हो । अध्यामगन कार्यालयले सबिना कार्की, सिर्जना तामाङ, निर्मला लामा, नमुना केसी, चन्द्रा काफ्ले, सिर्जना गुरुङ, उर्मिला गुरुङ र विमला भण्डारीलाई श्रीलंका भ्रमणको उद्देश्य स्पष्ट नभएको भन्दै प्रस्थान अनुमति रोकेको हो ।
अाजको अन्नपूर्ण पोस्टमा खबर छ– पछिल्लो समय मानव तस्करहरूले नेपाली युवतीलाई कुवेत, साउदीलगायतका खाडी मुलुक पठाउन श्रीलंकालाई ‘ट्रान्जिट’ बनाउने गरेका छन् । भारतको अध्यामगनले समेत कडाइ गर्न थालेपछि तस्करहरूले श्रीलंकालाई ट्रान्जिट बनाएका हुन् । ती युवती क्यासिनोको तालिम लिन नभई क्यासिनो खेलाउन श्रीलंका जान लागेको स्रोतले बताएको छ । गत वर्षसमेत अध्यामगनले क्यासिनो खेलाउन श्रीलंका हिँडेका सात युवतीलाई विमानस्थलबाटै फिर्ता गरेको थियो । अध्यागमन स्रोतका अनुसार राम्रो काम पाए उतै बस्ने योजनासहित ती युवती क्यासिनो खेलाउन श्रीलंका हिँडेको र पछि उतैबाट अन्य मुलुक जाने ती युवतीको तयारी थियो ।
विमानस्थल अध्यामगन कार्यालयका प्रमुख होमनाथ थपलियाले ती युवतीको भ्रमण शंकास्पद देखिएकाले प्रस्थान अनुमति नदिएको बताए । थपलियाले भने, ‘क्यासिनोको तालिम लिन श्रीलंका जाने भन्थे । उनीहरूको यात्रा शंकास्पद देख्यौं, अनि रोकिदियौं ।’ ती युवतीले आफूहरू कुनै मानव तस्करको चंगुलमा नपरेको र क्यासिनोको तालिमका लागि नै श्रीलंका जान लागेको भन्दै ‘कन्भिन्स’ गर्ने प्रयत्न गरेका थिए । यात्राको उद्देश्य स्पष्ट नभई कसैलाई पनि भिजिट भिसामा प्रस्थान अनुमति नदिएको र श्रीलंकाबाट उनीहरू फर्कने बलियो आधारसमेत नभएकाले प्रस्थान अनुमति नदिएको अध्यामगन स्रोतले बताएको छ ।
यसैबीच विमानस्थल प्रहरीले बिहीबार भिजिट भिसामा कुवेत हिँडेकी शोभा गिरीलाई अध्यागमन पार गरेपछि पक्राउ गरेको छ । मानव तस्करको सेटिङमा कुवेत हिँडेकी गिरीले जेट एयर र एयर अरेबियाको बोर्डिङ पास लिएकी थिइन् । एयर अरेबियाको बोर्डिङ पास लुकाएर गिरीले भारत जाने भन्दै नागरिकता देखाएकी थिइन् । श्रम स्वीकृतिसमेत नक्कली भएको आशंकामा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । भारतको दिल्लीमा छोराछोरी र श्रीमान बस्ने भएकाले उनीहरूलाई भेट्न जाने भन्दै नागरिकता देखाएर अध्यामगनबाट उनी फुत्किएकी थिइन् ।
उनले दिल्लीसम्मको जेट एयरको टिकट काटेकी थिइन् । अध्यागमन पार गरेपछि गिरी जेट एयर नचढी एयर अरेबियाको जहाज चढ्न लागेकी थिइन् । विमानस्थल प्रहरीले उनीसँग दुईवटा बोर्डिङ पास भएको गोप्य सूचना पाएपछि पक्राउ गरेको हो । विमानस्थल प्रहरी प्रमुख डीआईजी पंकज श्रेष्ठले जेट एयर नचढी एयर अरेबिया चढ्न लागेको थाहा पाएपछि गिरीलाई पक्राउ गरिएको बताए । श्रेष्ठले भने, ‘उनलाई पठाउन संगठित गिरोह नै सक्रिय रहेको हुन सक्छ । थप अनुसन्धानका लागि महानगरीय प्रहरी अपराध महाशाखा पठाएका छौं ।’

4470
Shares

ट्रेन्डिङ