काठमाडौं, पुस २९ । अनसनरत डा गोविन्द केसी र सरकारबीच शुक्रबार राति पाँचबुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार बिहान १० बजे डा केसीले अनसन तोड्ने भएका छन्। शुक्रबार राति ८ बजेदेखि सुरु भई करिब २ घन्टासम्म चलेको वार्तामा चिकित्सा शिक्षा आयोग एक साताभित्रमा गठन गर्ने, सर्वोच्च अदालतको आदेश अनुसार आइओएमका डीनमा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिने लगायत पाँचबुँदे सहमति भएको छ।
सरकारी वार्ता टोलीमा स्वास्थ्यमन्त्री दीपक बोहरासँगै स्वर्णिम वाग्ले, डा गोविन्द पोखरेल सहभागी थिए भने डा केसीका पक्षबाट डा अभिषेश सिंह, डा सुमन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याल र डा कालु सिंहको सहभागिता थियो। आइतबार सर्वोच्च अदालतले आइओएमका डीनमा चार वर्षअघि बर्खास्त भएका प्रा डा शशि शर्मालाई चार दिनका लागि पुनर्वहाली गरेसँगै डा केसीले न्यायको किनबेच भएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको मागसहित सोमबारदेखि आमरण अनसन थालेका थिए।
डा केसीले फैसला विपरीत अभिव्यक्ति दिएर अदालतको अवलेहलना गरेको भन्दै सर्वोच्चको आदेशमा उनलाई अनसन थालेकै राति पक्राउ गरेर भोलिपल्ट अदालत उपस्थित गराइएको थियो। बुधबार सर्वोच्चको इजलासले प्रधानन्यायाधीश पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक प्रमाणपत्र तथा डा शर्माको पुनर्वहालीको फैसला झिकाउने आदेश गरेको थियो।
यस्तो छ पाँचबुँदे सम्झौताः
१) चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति आजको मितिले ७ दिनभित्र गठन गर्ने।
२) श्री सर्वोच्च अदालतको मिति २०७४।९।२३ गतेको मुद्दा नं ०७०–WO–०५७१ को उत्प्रेषण मुद्दामा आदेश हुँदा “जहाँसम्म हाल नियुक्त भएका प्रा डा जगदीश प्रसाद अग्रवालको नियुक्ति छ, सो नियुक्तिलाई गैर कानुनी हो भन्ने पुष्टि गर्ने आधार नभएको” भनी गरिएको आदेश अनुसार नै निज डिन अग्रवालको नियुक्ति वैध भएको हुँदा निजको नियुक्तिलाई नै निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने।
३) त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यस अगाडि गरिएका सम्झौताहरु कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालयका कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने। आइओएमको अधिकार फिर्तासम्बन्धी त्रिवि नियमावली संशोधन गर्नका लागि तत्काल त्रिवि सभा (सिनेट)को विशेष बैठक बोलाउने।
४) त्रिवि शिक्षण अस्पताल सुधार सम्बन्धी मागसम्बन्धमा त्रिवि शिक्षण अस्पतालको भौतिक पूर्वाधारको सुधार र अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा र सुविधामा बिस्तारका लागि आइओएम डिन कार्यालयले राख्ने बिस्तारित प्रस्तावमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले आवश्यक आर्थिक व्यवस्था गर्ने।
५) डा गोविन्द केसीले आमरण अनशनको कार्यक्रम अन्त गर्ने ।