सबैको समाचार
आइतवार, जेष्ठ ५, २०८२
  • होमपेज
  • ठूला व्यापारीमा जुवाको लत, लकडाउनमा होटेलबाट नौ व्यापारी पक्राउ

ठूला व्यापारीमा जुवाको लत, लकडाउनमा होटेलबाट नौ व्यापारी पक्राउ

5580
Shares
ठूला व्यापारीमा जुवाको लत, लकडाउनमा होटेलबाट नौ व्यापारी पक्राउ

काठमाडाैं, २१ जेठ : चाडपर्वका वेला हरेक वर्ष ठूला व्यापारी र ठेकेदारहरू जुवाखालबाट पक्राउ पर्छन् । चाडपर्वका वेला जुवा खेल्नुलाई कतिपयले सामान्य पनि मान्छन् । तर, अहिलेको संकटको वेलामा पनि कतिपय व्यापारी दैनिक जुवा खेल्ने गरेको सोमबार कमलादीको एक होटेलबाट केही प्रतिष्ठितसहित नौ व्यापारी पक्राउ परेपछि प्रस्ट भएको छ । यसले केही ठूला व्यापारी जुवाको लतमै रहेको देखाउने प्रहरी अधिकृतहरू बताउँछन् ।

गंगौर रिजेन्सी होटेलबाट प्रहरीले होटेल सञ्चालक निक्की जोगाईसहित एनआइसी बैंकका सञ्चालक रामचन्द्र संघाई, विशाल ग्रुप तथा एलआइसी नेपालका सञ्चालक अशोककुमार अग्रवाललगायतलाई पक्राउ गरेको हो । अग्रवाल नेपालका लागि गिनीका अवैतनिक वाणिज्य दूतसमेत हुन् । ज्योति लाइफ इन्स्योरेन्सका अध्यक्ष नन्दकिशोर शर्मा पनि पक्राउ परेका छन् । विमल खेतान, पुरुषोत्तम अग्रवाल, विमल अउजा, गोविन्दराम सरिया, सुरेशकुमार अग्रवाल पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कार्यालय जाने बहानामा घरबाट निस्कने र उनीहरू नियमित रूपमा होटेलमा भेला भएर जुवा खेल्दै आएका थिए । दरबारमार्ग वृत्तका डिएसपी रञ्जन दाहाल भन्छन्, ‘जुवाखालबाट क्वाइनसमेत बरामद हुनुले उनीहरू पेसेवर रूपमै जुवा खेल्ने देखिन्छ ।’ लकडाउनका वेला उनीहरू नियमितजसो होटेलमा जम्मा भएर जुवा खेल्दथे । उनीहरूमध्ये धेरैजसोमा जुवाको लत नै रहेको अनुसन्धानमा आबद्ध एक प्रहरीले बताए ।

प्रहरीले उनीहरूबाट एक सय ७९ वटा क्वाइन बरामद गरेको छ । लेनदेनको हिसाब उनीहरूले अनलाइन बैंकिङबाट गर्दै आएकोसमेत प्रारम्भिक अनुसन्धानमा खुलेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको काठमाडौं परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । प्रभावशाली व्यापारी भएकाले उनीहरूले मन्त्रीदेखि सत्तारुढ दलका उच्च व्यक्तिमाथि दबाब दिएर हाजिरी जमानीमा छाड्ने प्रयास गरेका थिए । तर, प्रहरीले नमानेको स्रोत बताउँछ ।

यसअघि गत ९ कात्तिकमा महाराजगन्जस्थित ठेकेदार विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा व्यापारीहरू श्रवण गोयल, पवित्रकुमार कार्की, सुमन अग्रवाल, सोहेल कार्की, इन्द्र श्रेष्ठलगायत पक्राउ परेका थिए । उनीहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानबिन गरिरहेको छ ।

काठमाडौंमा लामो समय काम गरेका एक प्रहरीको अनुभवमा प्रायः गलत बाटोबाट धेरै सम्पत्ति जोडेका व्यापारीहरूमा जुवाको लत देखिन्छ । ‘मिहिनेत गरेर कमाउने र इमानदारीका साथ कर तिर्नेहरू यतातिर लाग्दैनन्,’ ती प्रहरी भन्छन्, ‘राज्यलाई नै मारेर कमाउने व्यापारी र रातारात सम्पत्ति कमाएकाहरूमा जुवाको लत देखिन्छ ।’ हुन्डीको कारोबारी तथा जग्गा कारोबारबाट छोटो समयमै धेरै पैसा कमाएकाहरूसमेत नियमित जुवा खेल्ने समूहमा छन् । कतिपय व्यापारी जुवाकै लतका कारण कंगालसमेत भएका छन् । कतिपय कलाकार तथा केही नेतासमेत नियमित मिनी क्यासिनो धाउनेमा पर्दछन् ।

क्यासिनोमा नेपालीलाई प्रवेशमा केही वर्षयता पूर्णरूपमा बन्देज लगाइएको छ । यस्तो अवस्थामा विभिन्न होटेल तथा घरहरू भाडामा लिएर मिनी क्यासिनो शैलीमा जुवा खेलाइने गरेको छ । त्यसमा धेरैजसो व्यापारी र ठेकेदार नै हुने गरेका छन् । नियमित रूपमा जुवा खेल्ने दर्जनौँ समूह राजधानीमा रहेको स्रोत बताउँछ । ‘खेलकुदमा सट्टाबाजीमा पनि यही समूह सक्रिय छ,’ ती प्रहरी अधिकारी भन्छन्, ‘कहिलेकाहीँ विवाद हुँदा मात्र सुराकी आउने भएकाले यस्तो पत्ता लगाउन कठिन छ ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

5580
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका