सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • हलेसीको ककनीडाँडामा ‘रक गार्डेन’

हलेसीको ककनीडाँडामा ‘रक गार्डेन’

5370
Shares
हलेसीको ककनीडाँडामा ‘रक गार्डेन’

खोटाङ, २८ जेठ :धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीस्थित ककनीडाँडामा ढुङ्गे बगैँचा (रक गार्डेन) निर्माण कार्य शुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी मन्दिर नजिकै पर्ने ककनीडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले ढुङ्गे बगैँचा निर्माण गर्न थालिएको हो ।

क्रमागत योजनाका रूपमा करिब रु पाँच करोड ५० लाखमा सम्पन्न हुने ‘चुरेडाँडा रक गार्डेन’ निर्माणको आइतबार नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राईले शिलान्यास गर्नुभएको थियो । ककनीडाँडाका करिब १६० रोपनी सरकारी जग्गामा फैलिएको चट्टानै–चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनी जग्गालाई समेटेर रक गार्डेन बनाइने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ ।

स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने र नगरपालिकाको आम्दानीको दीर्घकालीन स्रोतका रूपमा विकास गर्न ककनीडाँडालाई रक गार्डेनका रूपमा विकास गर्ने योजना अघि सारिएको नगरप्रमुख राईले बताउनुभयो । “यस आर्थिक वर्ष चुरेडाँडा रक गार्डेनको वरिपरि पर्खाल र रेलिङ हालेर घेरा हाल्ने तयारी गरिएको छ”, उहाँले भन्नुभयो, “अर्को वर्षबाट स्ट्रक्चर र गार्डेनिङको काम शुरु गरिनेछ ।”

रक गार्डेन बनाउन प्राकृतिरूपमा बनेका ककनीडाँडामा रहेका कुनै पनि ढुङ्गालाई नबिगारी सजावटका काम गरिने नगरपालिकाले जनाएको छ । त्रिधार्मिकस्थल हलेसी मन्दिरभन्दा करिब आधा घण्टा पैदल हिँडेर पुगिने ककनीडाँडा सिङ्गो डाँडा खोपेर बनाइएजस्ता चुच्चो–चुच्चो परेका ढुङ्गाले ढाकिएको छ । झट्ट हेर्दा बालुवा सिमेन्टले बनाइएजस्तो देखिने सेतो रङका ढुङ्गाले ढाकिएको ककनीडाँडा वारपार गर्न करिब ३० मिनेटदेखि ४५ मिनेट लाग्छ । मध्यपहाडी लोकमार्गबाट पैदल उकालो करिब ३० मिनेटमा पुग्न सकिने सो स्थानमा स्थानीयवासी घुमफिर र पिकनिक (वनभोज) जाने गरेका छन् ।

हलेसीमा आएलगत्तै फर्किने पर्यटकलाई घुमफिर गराउने र केही दिन अलमल्याउने उपायको खोजीमा ककनीडाँडामा रक गार्डेनको परिकल्पना अघि सारिएको वडाध्यक्ष चइन्द्र राईले बताउनुभयो । “ककनीडाँडा अहिले पनि विश्वको सर्वोच्च शिखर सगरमाथा तथा उच्च हिमशृङ्खला, तराईका फाँट एवम् वरपरका दृश्यावलोकन गर्न उपयुक्त र चर्चित छ”, उहाँले भन्नुभयो, “पर्यटकीयस्थल ककनीडाँमा रक गार्डेन निर्माणका लागि प्रदेश सरकारबाट यस वर्ष रु ४० लाख बजेट विनियोजन भएको छ ।”

ककनीडाँडालाई आकर्षकस्थल बनाउन प्राकृतिकरूपमै सजिसजाउ ढुङ्गालाई थप सजाउने, ढुङ्गाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ–ठाउँमा ढुङ्गेगेट बनाउने, ढुङ्गेधारा निर्माण गर्ने, ढुङ्गा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति बनाउने, प्राकृतिक ढुङ्गालाई नचलाइकन कालो, सेतो र रातो ढुङ्गा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला संस्कृति झल्कने सजावट गर्ने तयारी गरिएको छ ।

यस्तै सगरमाथालगायत हिमालको तस्वीर खिच्न, दृश्यावलोकन गर्न र रम्नका लागि ढुङ्गाकै स–साना गेट निर्माण गर्ने, रक गार्डेनको चारैतिर तारबार तथा पर्खाल लगाउने, एक क्षेत्रबाट अर्को क्षेत्र पुग्न ढुङ्गाकै कलात्मक सिँढी निर्माण गर्ने, पर्यटक बिसाउने वा मनोरञ्जन गर्नका लागि डाँडाडाँडामा काठबाट बनेको बिसौनी राख्नेगरी तयारी गरिएको छ ।
यसबाहेक रक गार्डेनमा विद्युत्, पिउनेपानी, विश्रामस्थल, केवलकार, भोजनालय, कफीसपसम्मको परिकल्पना गरिएको वडाध्यक्ष राईले बताउनुभयो । भस्मासुर राक्षसले महादेवलाई लखेट्दा ककनीडाँडामा महादेवको पाइला परेपछि ढुङ्गाको कलात्मक आकृति निस्किएको किंवदन्ती छ ।

ककनीडाँडा हलेसी भएर जाने नेपाल सरकारको १०० पर्यटकीय गन्तव्य मुन्दुम ट्रेलको प्रवेशस्थलमा पर्दछ । किराँती सभ्यतासँग सम्बन्धित मुन्दुम ट्रेल हलेसीबाट शुरु भएर रुपाकोट, टेम्के, मैयुङ हुँदै सालपा सिलिचुङसम्मको निर्धारण गरिएको छ ।

हलेसी र ककनीडाँडा नजिकै किराँत सभ्यताको उद्गमस्थल तुवाचुङ–जायजुम अवस्थित छ । ढुङ्गैढुङ्गाले बनेको रमणीयस्थल ककनीडाँडामा निर्माण शुरु गरिएको रक गार्डेनलाई निक्कै महत्वका साथ हेरिएको छ । लामो समयदेखि प्रयोगविहीन रहेको ककनीडाँडामा नगरपालिकाको पहलमा आधुनिक किसिमको रक गार्डेन निर्माणको काम शुरु गरिएपछि आसपासका स्थानीय बासिन्दासमेत हर्षित छन् । रक गार्डेन निर्माण शुरु गरिएलगत्तै आसपासका जग्गा घडेरीका रूपमा किनबेचसमेत शुरु भएको छ ।

5370
Shares

ट्रेन्डिङ