काठमाडौँ, २९ जेठ: सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्थाअनुसार भोलिदेखि जोरबिजोर प्रणाली लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाले विज्ञप्ति जारी गर्दै भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र मात्र निजी सवारी साधन जोरबिजोर प्रणालीमा चलाउन पाइने भएको जानकारी दिएको हो। उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई भने एकै जिल्ला मानी यो व्यवस्था लागू गरिने छ। अन्यत्र एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार शुक्रबारदेखि सञ्चालन हुने जोरबिजोर प्रणालीमा निजी सवारी साधन मात्र चल्न पाइने छ। जसअनुसार ४ पांग्रे सवारी साधनमा चालकसहित ३ जना मानिस र २ पांग्र सवारी साधन (मोटरसाइकल, स्कुटर, मोपेड) मा चालक १ जना मात्र राखेर सञ्चालन गर्न पाइने उनले बताए।
जोरबिजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महाशाखाले जनाएको छ।अत्यावश्यक सवारी साधनबाहेक निजी सवारी साधनहरू बेलुका ९:०० बजेदेखि बिहान ५:०० बजेसम्म चलाउन भने रोक लागाइएको छ।
तर कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधनः बस, माइक्रो, हायस, ट्याक्सी, ट्याम्पो भने चल्न पाउने छैन। यसअघि पास लिएर सञ्चालन भएका निजी सवारी साधनहरू पनि जोरबिजोर प्रणालीअनुसार मात्र चल्न पाउने कुरा महाशाखाले उल्लेख गरेको छ। उनले उपत्यका भित्रिने र बाहिरिने सवारी साधनले भने अनिवार्य पास लिएको हुनुपर्ने पनि महाशाखाले जनाएको छ।