सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • हुम्लाको लिमी गाउँ पाँच महिनाका लागि बन्द

हुम्लाको लिमी गाउँ पाँच महिनाका लागि बन्द

5610
Shares
हुम्लाको लिमी गाउँ पाँच महिनाका लागि बन्द

हुम्ला, माघ २ः हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ ।

लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी जाने अर्को कुनै विकल्प नभएपछि पाँच महिनाका लागि बन्द भएको हो । दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी उपत्यका लकडाउनमा परेको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

केही दिन अगाडिको हिमपातले लिमी प्रवेश गर्ने बाटोमा रहेको चार हजार ६०० मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकको बाटो बन्द भएको छ । यी दुवै बाटो अब आगामी जेठ महिनामा मात्रै खुल्ने छ । पाँच महिनाका लागि बन्द भएपछि लिमी आउने जाने कार्य बन्द भएको छ ।

दुवै नाकामा चारदेखि पाँच फिटसम्म हिउँ जम्ने भएकाले लिमी जाने बाटो बन्द भएका हुन् । नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवा बादल लाग्दा र हिमपात हुँदा बन्द हुने भएपछि लिमी सञ्चार सम्पर्कविहीन भएको छ । यद्यपि बेलाबेला आउजाउ भइरहने वल्र्डलिङ्कको इन्टरनेट सेवा भने अहिले सम्पर्कको माध्यम भएको हल्जी गाउँका स्थानीयवासीले बताएका छन् ।

सडक बन्द भएपछि बिरामी तथा अत्यावश्यक काम पर्दा हेलिकोप्टर रिजर्भ गर्नुको अन्य विकल्प छैन । हिमपातपछि बाटो बन्द हुने भएका कारण छ महिनाका लागि दैनिक उपभोग्य सामानदेखि अन्य आवश्यक बन्दोबस्तीका सामान तयारी अवस्थामा राखिने भए पनि यस वर्ष कोरोनाको कारणले त्यो काम पनि हुन नसकेको बताइएको छ ।

गत मङ्सिरमा खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीबाट ढुवानी अनुदानको ७०० क्विन्टल खाद्यान्न लिमी पुगेको थियो । लिमी उपत्यकाका साथै हिल्सा नाका पनि हिमपातपछि बन्द भएको छ । रासस

5610
Shares

ट्रेन्डिङ