सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१

कांग्रेस अझै अनिर्णीत

4575
Shares
कांग्रेस अझै अनिर्णीत

काठमाडौं, फाल्गुन २१ः विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ ।

बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकबाटसमेत कांग्रेसले पछिल्लो राजनीतिक वातावरणमा आफूलाई कसरी अघि बढाउने भन्ने विषयमा कुनै निर्णय गर्न नसकेको हो ।

संसद् पुनस्र्थापनापछि बनेको नयाँ राजनीतिक कोर्षमा कांग्रेस नै नयाँ सरकार गठनको प्रक्रियामा निर्णायक हुने देखिएको छ । तर, कांग्रेसले विवादको भुमरीमा रहेको नेकपाको कुन पक्षसँग खुल्ने भन्ने विषयमा निर्णय लिइसकेको छैन ।

सो विषयमा कांग्रेसले छलफल गर्न बिहीबार पदाधिकारी तथा पूर्वपदाधिकारीलाई छलफलमा बोलाएको थियो । छलफलमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको समूहलाई पार्टीले सहयोग गरेर अघि बढ्ने कि विघटनको विरोधमा खुला रूपमा लाग्ने नेकपाकै पुष्पकमल दाहाल र माधव नेपाल समूहलाई सहयोग गर्ने भन्नेमा नेताहरू विभाजित देखिएका छन् ।

बैठकमा धारणा राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असंवैधानिक कदम अघि बढाउने पक्षलाई साथ दिन नहुने भन्दै पार्टीले प्रतिपक्षमा नै बस्ने गरी निर्णय लिनुपर्ने बताएका थिए । उनले प्रचण्ड—नेपाल पक्षले दर्ता गराएको अविश्वासको प्रस्तावमा कांग्रेस लचिलो बन्नुपर्ने मत राखेका थिए ।

तर, सभापति देउवाले भने बैठकमा नेताबाट आएका राय सुन्दै स्थिति परिपक्व भएपछि खुल्ने जवाफ दिएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीले बैठकले कुनै निर्णय नगरेको जानकारी दिए ।

‘कसरी अघि बढ्ने भन्नेमा छलफल जारी छ, कुनै टुंगोमा पुगिसकेको अवस्था छैन, मूल कुरा असंवैधानिक कदम चाल्ने पक्षलाई सघाउन हुन्न भन्ने हो, पार्टीले बृहत् छलफलबाट यो विषयमा निर्णय गर्नुपर्छ,’ नेता केसीले भने ।

बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई प्रधानमन्त्री पदले ढोका ढकढकाइरहेको भए पनि संयमतापूर्वक झ्यालबाट हेरिरहेको प्रतिक्रिया दिए ।

कांग्रेसले संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न शुक्रबार संसदीय दलको बैठकसमेत बोलाएको छ । दलको बैठकमार्फत कांग्रेसले २३ गते बस्ने संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा आधिकारिक निर्णय गर्ने अनुमान छ । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

4575
Shares

ट्रेन्डिङ