सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल प्रवेश गर्ने नाकामा एन्टिजेन किटको अभाव

नेपाल प्रवेश गर्ने नाकामा एन्टिजेन किटको अभाव

5520
Shares
नेपाल प्रवेश गर्ने नाकामा एन्टिजेन किटको अभाव

धनगढी,१९ वैशाख । भारतमा देखिएको कोरोना कहरका कारण रोजगारीको सिलसिलामा त्यहाँ रहेका नेपालीहरु यतिबेला धमाधम घर फर्किरहेका छन् । भारतबाट नेपाल प्रवेश सुदूरपश्चिम प्रदेशका नाकाबाट फर्किने नेपालीहरूको संख्या बढिरहेका बेला कोरोना परीक्षणको लागि प्रयोग गरिँदै आएको एन्टिजेन किटको अभाव भएको छ ।

किट अभावमा भारतबाट फर्किएकाहरूको परीक्षण गर्न समस्या भएको छ । किट अभावका कारण सबैको परीक्षण नहुँदा कोरोना भाइरस संक्रमित यहाँका गाउँगाउँमा पुगेर स्थिति भयावह हुनसक्ने स्वास्थ्यकर्मीको भनाई छ ।

सुरूवातदेखिनै नाकामा कोरोना परीक्षणका लागि एन्टिजेन किटको अभाव हुँदै आएको छ । आफूहरुले बारम्बार सरोकारवाल निकायमा किटको माग गर्दा पनि पाउन नसकेको स्वास्थ्यकर्मीहरुले गुनासो गरे ।

भारतसँग सीमा जोडिएका यहाँका कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका, तथा बैतडीको झुलाघाट नाका र दार्चुलाको कुलघाट नाका गरी दैनिक भण्डै तीन हजारको संख्यामा नेपालीहरू भित्रिरहेका छन् । तीमध्ये थोरैको मात्र कोरोना परीक्षण हुने गरेको छ ।

कोरोना परीक्षणका लागि एन्टिजेन किटको अभाव भएका कारण सत प्रतिशत परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए । गौरीफन्टा नाकाबाट दैनिक झण्डै १ हजार जना भित्रिने गरेकामा तीमध्ये १ सयदेखि डेढ सयको संख्यामा मात्र परीक्षण हुने गरेको सुनारले बताए ।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ । तर, किट अभावमा भारतबाट भित्रिने सबैको नाकामै परीक्षण हुन नसक्दा कोरोना संक्रमणको दरमा कमी नआउने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।

तर स्वास्थ्य आपूर्ति केन्द्रले १५ सय किटको मौज्दात रहेको र २० हजार किट खरिदको प्रक्रिया थालिसकेको बताएको छ । स्वास्थ्य आपूर्ति केन्द्रका निमित्त प्रमुख पदम विष्टले २० हजार किट खरिदको लागि टेन्डर आह्वान गरेका बताए ।

२० हजार किट खरिदको लागि टेन्डर आह्वान गरेका छौँ । उनले भने, विभागबाट पनि किट माग गरेका छौँ, दुई÷चार दिन भित्रै किट आईपुग्छ ।

पछिल्लो एक सातामा गौरीफन्टा नाका भएर भारतका विभिन्न राज्यबाट झण्डै ८ हजार नेपाली भित्रिएका छन् । तीमध्ये निकै थोरैको मात्र परीक्षण हुने गरेको छ । उनीहरू सोझै गाउँ फर्किने गरेका छन् । यसरी कोरोना विकराल रूपमा फैलिने चिन्ता झनै बढेको छ । यो समाचार आजको राजधानी दैनिकमा दीपक ओलीले लेखेका छन् ।

5520
Shares

ट्रेन्डिङ