सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • गरिबी न्यूनीकरण गर्न जुट्दै

गरिबी न्यूनीकरण गर्न जुट्दै

3635
Shares
गरिबी न्यूनीकरण गर्न जुट्दै

सिन्धुली, २९ मङ्सिर । जिल्लामा विभिन्न आयमूलक व्यवसाय सञ्चालन गरी ३० हजारभन्दा बढी व्यक्ति गरिबी न्यूनीकरण गर्न लागिपरेका छन् ।
गाउँमा नै आयमूलक व्यवसाय गर्न सहयोग पाएपछि जिल्लाका २ नगरपालिकासहित पचास गाविसका स्थानीयवासी आयमूलक व्यवसाय सञ्चालन गर्दै गरिबी न्यूनीकरण गर्न जुटेका हुन् । गरिबी निवारण कोषले जिल्लाका विपन्न व्यक्तिको पहिचान गरी उनीहरुलाई आयमूलक व्यवसाय सञ्चालन गर्न सहयोग गर्दैआएको छ ।
जिल्लामा १० वटा संस्थामार्फत कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लामा गरिबी निवारण कोषले २०६३ सालदेखि कार्यक्रम सुरु गरेको हो । नागरिकले गरिबी निवारण कोषबाट प्राप्त अनुदान बीउ पुँजीबाट सहुलियत दरमा ऋण लिई विभिन्न व्यवसाय सञ्चालन गर्दैआएका छन् ।
कोषबाट जिल्लामा रु ४४ करोड ७६ लाख ७५ हजार तथा समुदायको सो लगानीबाट रु ५१ लाख २१ हजार थपिएको गरिबी निवारण कोषका कार्यक्रम संयोजक टङ्कध्वज थापाले जानकारी दिनुभयो । गरिबी निवारण कोषले तरकारीखेती, भैँसीपालन, राँगापालन, गाईपालन, गोरुपालन, बाख्रापालन, बङ्गुरपालन, सिलाइबुनाइ, जुनारखेती, अम्रिसोखेती, अलैँचीखेतीलगायत आयआर्जनका सवालमा सहयोग गर्दै आएको छ ।
“व्यवसाय सञ्चालन गर्नेले मासिक रु पाँच हजारदेखि रु३० हजारसम्म आम्दानी गरिरहेका छन्,” संयोजक थापाले भन्नुभयो । गरिबी निवारण कोषको सहयोगमा आठ हजार ३२३ महिला र तीन हजार ५२९ पुरुष लाभान्वित भएको गरिबी निवारण कोषको तथ्याङ्कले देखाएको छ ।
कोषको अनुदान बीउ पुँजीबाट १२ प्रतिशत ब्याजदरमा सदस्यले ऋण लिएर व्यवसाय सञ्चालन गर्ने गरेका छन् । कोषले गठन गरेको सामुदायिक संस्थामा सदस्यले मासिक रु १० देखि रु १०० सम्म बचत गर्ने गरेका छन् । समुदायको आवश्यकता र मागका आधारमा कोषले लगानी गर्ने गरेको छ । रासस

3635
Shares

ट्रेन्डिङ