सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेको बेथानचोकमा मोटरेबल पुल शिलान्यास

काभ्रेको बेथानचोकमा मोटरेबल पुल शिलान्यास

1925
Shares
काभ्रेको बेथानचोकमा मोटरेबल पुल शिलान्यास

काभ्रे | काभ्रेको बेथानचोक– २ स्थित पाटनेखोलामा मोटरेबल पुल शिलान्यास भएको छ। पनौती–खोपासी–ढुंखर्क–खानीखोला हुँदै प्रदश राजधानी हेटौँडा जोड्ने सडकको पाटनेखोलामा पक्की पुल शिलान्यास भएको हो। शुक्रबार नेपाल सरकारकी सहरी विकासमन्त्री सीता गुरुङले पुलको शिलान्यास गरेकी हुन्।

२० मिटर लामो पुल भ्याटसहित चार करोड ५६ लाख ६४ हजार एक सय ३२ रुपैयाँको लागतमा निर्माण हुन लागेको हो। सडक डिभिजन कार्यालय भक्तपुरमार्फत कात्तिक २३ गते खम्पाचे/गोल्मादेवी इन्जिनियरिङ जेभीसँग निर्माण सम्झौता भएको छ।

आयोजना ०८१ कात्तिक २२ गते सम्पन्न गर्ने सम्झौता भएको हो। आरसिसी पुल निर्माणका अलावा ग्याबिन वाल र पहुँच मार्गको काम पनि हुनेछ। पुल शिलान्यास गर्दै मन्त्री गुरुङले पनौती–खोपासी–ढुंखर्क हुँदै च्याम्राङबेँसी–फापरबारी हुँदै हेटौँडासम्म पुग्ने सडकलाई वैकल्पिक सहायक राजमार्गको रूपमा विकास गरेको बताइन्।

आफू ग्रामीण भेगबाट नै आएको हुनाले विकासका लागि ग्रामीण भेगलाई पहिलो प्राथमिकता दिने उनले बताइन्। आगामी दिनमा जनजीवनको भौतिक र आर्थिक अवस्था कसरी माथि उकास्ने भन्ने विषयमा छलफल गरी अगाडि बढेको पनि उनले बताइन्।

बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले सो क्षेत्रको विकासका लागि आफू निरन्तर लागेको बताए। गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाको विकासका लागि साझा प्रयास गरिएको बताए। गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर तिमल्सिनाले विकास निर्माण निरन्तर चल्ने प्रक्रिया भएकाले त्यसको जस लिन तँछाडमछाड गर्न नहुने बताए।

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले बेथानचोकको विकासमा सबै दल र जनप्रतिनिधि एकै ठाउँमा रहेको बताइन्।
बेथानचोक गाउँपालिका– २ का वडाध्यक्ष पुरुषोत्तम तिमल्सिनाले पनौती–खोपासी–ढुंखर्क हुँदै च्याम्राङबेँसी–फापरबारीसम्म पुग्ने सडकअन्तर्गत बनेको पुल सो क्षेत्रको विकासका लागि कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे।

उक्त पुल निर्माण भएपछि बेथानचोक गाउँपालिकाका विभिन्न स्थानमा आवतजावत गर्नलाई सहज हुनुका साथै खानीखोला गाउँपालिका हुँदै हेटौँडा जानलाई सहज हुनेछ।

1925
Shares

ट्रेन्डिङ