सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • सैनिक अस्पतालबाट सर्वसाधारणले बहिरङ्ग सेवा पाउने

सैनिक अस्पतालबाट सर्वसाधारणले बहिरङ्ग सेवा पाउने

4360
Shares
सैनिक अस्पतालबाट सर्वसाधारणले बहिरङ्ग सेवा पाउने

नेपाली सेनाले वीरेन्द्र सैनिक अस्पतालमा सर्वसाधारणका लागि बहिरङ्ग सेवा उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य मन्त्रालय र नेपाली सेनाबीच आज भएको सैद्धान्तिक सहमति अनुसार नेपाली सेनाले आफ्नो स्थापना दिवस (शिवरात्रि)को अवसर पारेर आगामी फागनु १३ गतेदेखि सर्वसाधरणका लागि बहिरङ्ग उपचार सेवा उपलब्ध गराउने भएको हो ।
सरकारले विशिष्ट व्यक्तिलाई देशभित्रै स्तरीय उपचार सेवा उपलब्ध गराउन प्रेरित गर्न र सुरक्षाको प्रत्याभूति दिन सैनिक अस्पतालमा उपचार गर्ने प्रबन्ध गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सहमतिअनुसार फागनु १३ गतेदेखि अपराह्न ३.३० देखि ५ बजेसम्म सर्वसाधारणले नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालमा बहिरङ्ग सेवा पाउने छन् ।
त्यस्तै काठमाडौं बाहिर नेपाली सेनाको २४ स्थानमा भएका चिकित्सिकमार्फत पनि सर्वसाधारणलाई बहिरङ्ग सेवा उपलब्ध गराउने, नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालको विशिष्ट कक्षमा अति विशिष्ट व्यक्तिहरुको उपचारार्थ स्वास्थ्य मन्त्रालयले आवश्यक मद्दत गर्ने र यसलाई शीघ्र कार्यान्वयनमा ल्याउने सहमति भएको छ ।
स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र नेपाली सेना मिलेर विशेषज्ञ सेवा नपुगेका विभिन्न जिल्लामा शल्यक्रिया सुविधासहितको स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने पनि सहमति भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसका लागि नेपाली सेनाको मोबाइल अस्पताल प्रयोग गरिने सैद्धान्तिक सहमति भएको जनाएको छ । रासस

4360
Shares

ट्रेन्डिङ