सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नमुना सडकको काम तीव्रगतिमा

नमुना सडकको काम तीव्रगतिमा

2810
Shares
नमुना सडकको काम तीव्रगतिमा

अन्तर्राष्ट्रिय महत्वका प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेका बुद्धजन्मस्थल लुम्बिनी पुग्न पूर्व– पश्चिम राजमार्गबाट नमुना सडकको परिकल्पना गरी निर्माण कार्यले गति लिएको छ ।
बुटवल– बेथरी सडकअन्तर्गत बुटवलको नहरपुरदेखि बेथरीसम्म नहरको दुबैतिर दुई–दुई लेनको सडक र नहरको छेउछाउमा हरियालीसहितको उद्यान बनाउने योजनासहितको नेपालमै सम्भवत नमुना र महत्वकांक्षी योजनाको रुपमा यसलाई अगाडि सारिएको छ ।
यो सडकलाई भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुद्धजन्मस्थल लुम्बिनीसँग जोड्ने महत्वपूर्ण आयोजनाको रुपमा लिइएको छ । पूर्व–पश्चिम राजमार्ग हुँदै विमानस्थल र बुद्धजन्मस्थल लुम्बिनी पुग्ने वा पूर्व–पश्चिम राजमार्ग निस्कने यात्रुुका लागि आवश्यक पर्ने वैकल्पिक सुन्दर सडकको रुपमा यसलाई अगाडि बढाइएको हो ।
अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी आवतजावतको प्रमुख मार्गको रुपमा अगाडि सारिएको यो सडक भविष्यमा पर्यटकीय सडकको रुपमा विकास गर्ने लक्ष छ । लुम्बिनी आउने पर्यटक लुम्बिनी बाहिरका पर्यटकीय क्षेत्रमा जाँदा यही सडकको उपयोग गर्नेछन् । यो सडक नमुना हुने भएकाले पर्यटकका लागि आकर्षणको केन्द्र बन्नेछ ।
रुपन्देहीको बेलवास–बेथरी चार लेन सडकको निर्माण कार्यले गति लिएको छ ।
अलग–अलग ठेक्का पाएका दुबै ठेकेदारले सडक निर्माणको गति तीव्र पारेका हुन् । सडक निर्माण अन्तर्गत बुटवलको नहरपुरदेखि मोतिपुरसम्म नहर सफा गरेर नहरको दुबैतर्फ पक्की पर्खाल उठाउने काम करिब सकिएको छ ।
त्यस्तै अमवादेखि बेथरीसम्म नहर सफा गर्ने, अतिक्रमित संरचना हटाउने र पक्की पर्खाल निर्माण गर्ने कामलाई तीव्र पारिएको छ । पहिलो चरणमा नरहको काम सकेर दुवैतर्फको बाटो पक्की गर्नेे योजना छ ।
रुपन्देही क्षेत्र न– ४ का साँसद तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले पाँच वर्षअघि यो सडकको परिकल्पना गर्नुभएको थियो । सोही अनुसार आफू अर्थमन्त्री हँुदा यो सडकका लागि बजेट विनियोजन गरी योजना अगाडि बढाएको उहाँले बताउनुभयो ।
सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीका अनुसार यो सडक मुलुककै नमुनायोग्य हुनेछ । बुटवलको बेलवास झोलुुङ्गेपुल चोकदेखि भैरहवा–लुम्बिनी सडकको बेथरीसम्म २१ किलोमिटर लामो यो सडकको बीचमा नहर छ । अधिकांश स्थानमा स्वतः ट्र्याक खुलिसकेकाले दुई वर्षभित्रै काम सम्पन्न हुने अनुमान कार्यालयको छ ।
नहरपुर–मोतिपुर–अमुवा हुँदै बेथरी पुगेर भैरहवा–लुम्बिनी खण्डमा जोडिने अहिलेको अव्यवस्थित नहरलाई व्यवस्थित गरेर १० फिटमा सीमित गरिने छ । दुबैतिर सात–सात मिटर फराकिलो सडक र त्यस बाहिर पौने दुई मिटरको साइकल लेन समेत बन्नेछ ।
यो सडकलाई गौतमबुद्ध विमानस्थल र बुद्धजन्मस्थल लुम्बिनीसँग जोड्ने महत्वपूर्ण पूर्वाधारमध्येको नमुना सडक हुने उहाँ बताउनुहुन्छ । गतवर्ष निर्माण सम्पन्न भएको बेलवास झोलुङ्गेपुलस्थित पक्की पुल र निर्माणाधिन बुद्धनगरस्थित पक्की पुलले यो सडकलाई बुटवलसँग पनि जोड्नेछन् ।
यो सडक निर्माणमा करिब रु दुई अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । सरकारले सन् २०१८ को जनवरीदेखि सञ्चालन गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न हुनुअघि यसका लागि आवश्यक पूर्वाधारको निर्माणलाई तीव्रता दिइरहको छ ।
बेलवास–बेथरीसँगै यसै वर्षदेखि भैरहवा लुम्बिनी– ६ लेन र बुटवल–पाल्पा– ४ लेन सडकको निर्माणका लागि समेत तयारी थालिएको छ । विमानस्थल सञ्चालन हुनुअघि बुटवल– भैरहवा– ६ लेन र आन्तरिक बुद्धिष्ट सर्किट र लुम्बिनी परिक्रमा पथको निर्माण सक्ने लक्ष्य छ । रासस

2810
Shares

ट्रेन्डिङ