सुनसरी । सुनसरीका सञ्चारकर्मीले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले धम्कीपूर्ण अभिव्यक्तिविरुद्ध गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार एक कार्यक्रममा सहभागी हुन धरान पुगेका गृहमन्त्री लेखकलाई पत्रकार महासंघ सुनसरी शाखाले ध्यानाकर्षण पत्र बुझाएको हो ।
नगरप्रमुख साम्पाङले बारम्बार पत्रकार लक्षित धम्कीपूर्ण अभिव्यक्ति दिँदा काम गर्ने वातावरण नै नभएको र सञ्चारकर्मी असुरक्षित भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको शाखाका सचिव ध्रुव ढकालले बताए ।
पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्ष हर्ष सुब्बाले साम्पाङले बारम्बार पत्रकारलाई धम्काउँदासमेत प्रहरी–प्रशासनबाट कुनै कदम नचालिएको भन्दै यसमा गम्भीर हुन गृहमन्त्रीलाई आग्रह गरे । गृहमन्त्री लेखकले लोकतन्त्र र प्रेस एकअर्काका परिपूरक भएको उल्लेख गर्दै प्रेस स्वतन्त्र रहे लोकतन्त्र जीवन्त रहने बताए ।
साम्पाङविरुद्ध शुक्रबार इलाका प्रहरी कार्यालय धरानमा उजुरी पनि परेको छ । शाखाका जिल्ला अध्यक्ष जनकऋषि राई र महासंघका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहालले शान्ति सुरक्षासहित आवश्यक कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका हुन् ।
बुधबार साम्पाङले सामाजिक सञ्जालमार्फत राई र दाहाललाई धम्की दिएका थिए । उनको अभिव्यक्तिले आफूहरू असुरक्षित भएकाले उजुरी दिएको अध्यक्ष राईले बताए ।
दाहालले खोज पत्रकारिता केन्द्रका लागि ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ शीर्षकको समाचार लेखेका थिए । सोही समाचारप्रति लक्षित गर्दै प्रमुख साम्पाङले राई र दाहाललाई सामाजिक सञ्जालमार्फत धम्की दिएका थिए ।