काठमाडौं । सहकारीको अपलचनमा फरार रहेका जीबी राईको राहदानी रोक्का भएको छ ।
६ वटा सहकारीको २ अर्ब ५८ करोड अपचलन गरेको आरोप लागेका जीवी राईको राहदानी जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा रोक्का भएको हो । यसअघि सहकारी ठगीको मात्रै कसुर लाग्दा पनि प्रहरीले जीबीको राहदानी रोक्काका लागि राहदानी विभागलाई अनुरोध गरेको थियो । तर विभागले ठगीमा मात्रै रोक्न अस्वीकार गरेको थियो ।
सहकारीकै रकम अपचलनमा गोर्खा मिडिया ग्रुपका दुई संचालक छविलाल जोशी र रवि लामिछाने पक्राउ पछि प्रहरीले संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । कास्कीस्थित सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा छवि, रविसँगै जीबीविरुद्ध पनि संगठित अपराधमा अनुसन्धान गरेपछि प्रहरीले राहदानी रोक्काका लागि पत्राचार गरेको थियो ।
संगठित अपराधको आरोपीका रुपमा जीबी राईको राहदानी रोक्का भएको हो । अब उनले नेपाली राहदानी बोकेर यात्रा गर्न सक्ने छैनन् । त्यसो त सहकारी ठगीकै आरोपमा जीबीविरुद्ध इन्टरपोलमार्फत् रेड नोटिस जारी भैसकेको छ । यता कार्तिक २ गते पक्राउ परेका रवि लामिछाने र छविलाल जोशीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।
आज ४ दिनको म्याद थप भएसँगै प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउन बाँकी छ । सम्पत्ति शुद्धिकरणमा म्याद थप गरिरहेको प्रहरीले आगामी ९ दिनमा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमार्फत् अदालतमा लैजानु पर्ने छ ।