काभ्रे । पाँचखाल नगरपालिका–८ होक्सेमा स्थापना हुन लागेको अस्फाल्ट ब्याच मिक्स प्लान्ट वातावरणमैत्री प्रविधियुक्त भएकाले प्रदूषण नगर्ने निर्माण कम्पनीले दाबी गरेको छ। बुधबार धुलिखेलमा पत्रकार सम्मेलन गर्दै बन्दन भगवती निर्माण सेवा प्रा.लि.का प्रबन्ध निर्देशक रामजी पन्त ‘मुकेश’ले यस विषयमा फैलिएका भ्रमलाई खारेज गर्दै प्लान्ट वातावरणमैत्री र उच्च प्राविधिकस्तरको भएको स्पष्ट पार्नु भयो ।
उनका अनुसार, प्लान्ट अम्मान कम्पनीद्वारा निर्मित हो, जसले १५० वर्षदेखि निर्माण उद्योगमा ख्याति कमाएको छ। उनले बताएअनुसार, यो प्लान्ट युरोपेली मापदण्डअनुसार स्विस प्रविधिमा आधारित छ र वातावरण प्रदूषण रोक्न अत्याधुनिक प्रविधि जडान गरिएको छ। धुवा र धुलो नियन्त्रणका लागि कम्प्युटराइज प्रणाली जडान गरिएको उल्लेख गर्दै उनले यस प्लान्टबाट धुवाँ होइन, केवल बाफ मात्र निस्कने बताए। गिट्टीमा हुने धुलो पनि प्रशोधनपछि हिलोको रूपमा बाहिर आउने र त्यसलाई पुनः प्रयोग गर्न सकिने उनको भनाइ थियो।

कम्पनीले जनाएको अनुसार, प्लान्टमा ब्लु स्मोक ट्रीटमेन्ट सिस्टम, भिजुअल रिडक्सन डिभाइस र एडभान्स फिल्ट्रेसन सिस्टम जस्ता प्रविधि प्रयोग गरिएको छ, जसले धुलो उत्सर्जन ७० प्रतिशतसम्म घटाउने क्षमता राख्छ। साथै, २५४ वर्गमिटर क्षेत्रफलमा फैलिएका १६८ वटा फिल्टरमार्फत प्रदूषण न्यून पारिने र ध्वनि प्रदूषण नहुने गरी प्लान्ट डिजाइन गरिएको कम्पनीको दाबी छ। त्यस्तै, रिसाइकल्ड एस्फाल्ट पाभमेन्ट प्रविधिको प्रयोगले पुरानो सामग्री पुनः प्रयोग गर्न सकिने र ऊर्जा दक्ष एएस१ कन्ट्रोल सिस्टमले ऊर्जा खपत र सामग्री प्रयोग न्यूनतम हुने कम्पनीले बताएको छ।

कम्पनीका अनुसार, यो प्लान्ट राष्ट्रिय महत्वका सूर्यविनायक–साँगा–धुलिखेल सडक र आगामी धुलिखेल–खावा सडक निर्माणका लागि स्थापना गर्न लागिएको हो। यस प्लान्टमार्फत छोटो समयमा गुणस्तरीय निर्माण गर्न सकिने र प्रत्यक्ष अप्रत्यक्ष गरी करिब १०० जनालाई रोजगारी दिन सकिने कम्पनीको दाबी छ। प्लान्ट ३० रोपनी क्षेत्रमा स्थापना हुन लागिएको हो। कम्पनीले यी सडक आयोजना पूरा भएपछि प्लान्ट अन्यत्र सारिने र यसले स्थानीय बस्ती, वन क्षेत्र वा पुरातात्विक संरचनामा असर नगर्ने जनाएको छ।

मुकेशले अनर्गल प्रचारवाजीका कारण भ्रम सिर्जना भएको भन्दै त्यसमा कुनै सत्यता नभएको बताए। उनका अनुसार, यस्तै प्रविधिका प्लान्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर, पेप्सीकोला, बालाजु, भैसेपाटी, भक्तपुरको जगाती र काभ्रे बनेपाको जनागालमा पहिले नै सञ्चालनमा छन्।