भदौ २९,काभ्रे ;नेपाल जेसिज को आयोजना काभ्रे लेडी जेसिजको आतिथ्यतामा नेपाल जेसिज वर्ष २०२६ अन्तर्गत क्षेत्र ‘ग’ सम्मेलन आगामी असोज २ र ३ गते काभ्रेको बनेपा–५ स्थित स्मार्ट पार्टी प्यालेसमा आयोजना हुने भएको छ ।
युवामा नेतृत्व क्षमता, सकारात्मक सोच, सामाजिक उत्तरदायित्व तथा व्यक्तित्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको भदौ २८ पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल जेसिज वर्ष २०२६ का राष्ट्रिय अध्यक्ष जीवन कार्कीको मूल थिम ‘लक्ष्य राख, कदम चाल, सफलता प्राप्त गर’ तथा ‘परियोजना संकल्प २०२६’ लाई मुख्य आधार बनाइएको सम्मेलन निर्देशक सुमित्रा बादे श्रेष्ठले बताउनुभयो ।

सम्मेलनमा अनुभवी प्रशिक्षक तथा विज्ञ वक्ताले सहभागीलाई ज्ञान, सीप तथा प्रेरणा प्रदान गर्ने जनाउँदै ‘लक्ष्य राख, कदम चाल, सफलता प्राप्त गर’ भन्ने भावनालाई व्यवहारमा उतार्दै लक्ष्य निर्धारण गर्ने, त्यसका लागि सक्रिय रूपमा अघि बढ्ने र उपलब्धि हासिल गर्ने संस्कार विकास गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको निर्देशक श्रेष्ठले बताउनुभयो ।
सम्मेलनमा नेपालका विभिन्न चार क्षेत्र तथा १८६ शाखाबाट छ सयभन्दा बढी जेसिज सदस्यको सहभागिता रहने अपेक्षा गरिएको छ । सम्मेलनले काभ्रेको पर्यटन, संस्कृति, आतिथ्यता तथा स्थानीय पहिचानलाई राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने अवसरसमेत प्रदान गर्ने आयोजकको विश्वास रहेको काभ्रे लेडी जेसिजकी अध्यक्ष जेसी मनिका शाक्यले बताउनुभयो ।
उहाँका अनुसार सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनलाई सभ्य, भव्य, व्यवस्थित तथा ऐतिहासिक रूपमा सफल बनाउन जेसिज सदस्य, पूर्वअध्यक्ष, पदाधिकारी, शुभेच्छुक, स्थानीय तह, व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालासँग सहयोग र सहभागिताका लागि आयोजकले अपिल गरेको छ ।
यस वर्ष क्षेत्र ‘ग’ सम्मेलनको आतिथ्यता पाएको काभ्रे लेडी जेसिजले सम्मेलन सफल बनाउन विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट नगद तथा अन्य सहयोग प्राप्त भइरहेको उहाँले बताउनुभयो ।


