असोज ३, काभ्रे : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले नेकपा (एमाले)सँग तत्काल पार्टी एकता हुने अवस्था नरहेको बताएका छन् ।
शनिबार बनेपामा नेकपा खानीखोला सम्पर्क समितिले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै पुनले एमालेभित्रको आन्तरिक बहस टुङ्गोमा नपुगेसम्म पार्टी एकताबारे अघि बढ्ने अवस्था नरहेको बताए ।
भविष्यमा एमालेसँग पार्टी एकता हुन सक्ने विषयमा नेतृत्व तहमा प्रारम्भिक छलफल भइरहेको जानकारी दिँदै उनले तत्कालै एकता र त्यसपछि पद बाँडफाँट हुने भन्ने चर्चामा सत्यता नरहेको स्पष्ट पारे ।

एमालेसँग प्रदेश सरकारमा सहकार्य भइसकेको उल्लेख गर्दै पुनले संविधान र लोकतन्त्रको रक्षा तथा वैदेशिक हस्तक्षेपको प्रतिवादका लागि वाम शक्तिहरूसँग सहकार्य जारी रहने बताए । आवश्यक परे नेपाली कांग्रेससँग समेत सहकार्य गर्न सकिने उनको भनाइ थियो ।


