सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • को होला राप्रपाकाे अध्यक्ष ?

को होला राप्रपाकाे अध्यक्ष ?

4510
Shares
को होला राप्रपाकाे अध्यक्ष ?

फाल्गुण ४, काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति बनाउने लक्ष्यसहित एकीकृत भएको राप्रपाको महाधिवेशन आउन एक साता बाँकी रहँदा तीन नेताले अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन् । तर, भावी अध्यक्ष को होला ? स्पष्ट भैसकेको छैन ।
वर्तमान अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनी र पूर्वराष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । आफ्नो दावेदारीसँगै नेताहरुले तयारी पनि थालेका छन् ।
आगामी फागुन ६ देखि ९ गतेसम्म राप्रपाको एकता महाधिवेशन काठमाडौंमा हुँदैछ । तीनै नेताले औपचारिक रुपमा उम्मेद्वारी घोषणा नगरेको भएपनि आफ्नो पक्षमा माहोल तयार पार्न भित्रभित्रै तीब्र लबिङ थालेका छन् ।
स्रोतका अनुसार अहिले तीन जनाले दाबेदारी प्रस्तुत गरेपनि अन्तिम समयमा लोहनी या राणामध्ये एक जना पछि हट्ने सम्भावना रहेको छ । तर, थापा भने कुनै पनि हालतमा चुनाव लड्ने पक्षमा छन् । राप्रपा अहिले संसदमा चौथो ठूल दल हो ।
राप्रपा नेता दिलनाथ गिरीले चुनावको तयारी तीब्र रुपमा अघि बढिरहेको भन्दै थापाको पक्षमा माहोल बन्दै गएको दाबी गरे । थापा निकटका उनले भने, ‘अध्यक्षमा कमल थापा प्रवल दाबेदार हो । तर, हामी निर्वाचनबाट भन्दा पनि सर्वसम्मत अध्यक्ष चयनको प्रयासमा छौं ।’
तर, लोहनी भने लोकतान्त्रिक पद्धतीबाट अध्यक्षको चयन हुने र त्यसमा आफ्नो दाबेदारी रहेको बताउँछन् । आफूलाई देशभरका नेता कार्यकर्ताले अध्यक्षमा उठ्न सुझाव दिएकाले सोहि अनुसार अघि बढेको भन्दै छिट्टै उम्मेदारी घोषणा गर्ने बताए ।
अर्का अध्यक्षका दाबेदार पशुपति शमशेर राणाले अध्यक्षमा दाबबेदारी प्रस्तुत गरेपनि बाहिर त्यति खुलिसकेका छैनन् । उनलाई प्रवक्ता ठाकुर शर्मालगायतले अध्यक्षमा लड्न सुझाएको बताइन्छ ।
राजतन्त्रको एजेन्डालाई थाती राख्दै दुई राप्रपा (राप्रपा र राप्रपा नेपाल) बीच एकीकरण भएको थियो । संवैधानिक राजतन्त्र पक्षधर राप्रपा नेपाल र गणतन्त्र पक्षधर राप्रपाबीच यो एजेन्डालाई आउँदो महाधिवेशनमा टुंग्याइने छ ।
पार्टीको महाधिवेशनबाट के एजेण्डा हुन्छ भन्ने सवालमा लोहनीले ‘राप्रपा कन्जरभेटिभ र सम्वर्द्धनवादी दल भएको’ भन्दै गणतन्त्रबाट पछि हट्ने संकेत गरे ।
कसको पक्षमा को–को ?
कमल थापाको पक्षमा टंक ढकाल, राजेन्द्र लिंदेन, रामकुमार सुब्बा, मोहन श्रेष्ठ, राजाराम बर्तौला, धवलबमशेर राणालगायतको समर्थन छ । सो टीमको प्रभावमा देशभरको नेता कार्यकर्ता पनि रहेको बताइन्छ । यसो त राणा समुहको भनिने किरण गिरीसमेत थापा क्याम्पमा आएको राप्रपामा चर्चा छ ।
यस्तै लोहनीलाई अध्यक्ष बनाउन निमकान्त काफ्ले, धु्रवबहादुर प्रधान, बसन्तमानसिंह अधिकारी, रोहित कार्की, सुनिल थापालगायत सकारात्मक रहेको बताइन्छ । तर, लोहनी कार्यकर्ता तहमा उति लोकप्रिय भने नरहेको बताइन्छ ।
यता राणालाई दीपक बोहरा, विक्रम पाण्डे, ठाकुर शर्मालगायतको समर्थन रहेको बताइन्छ ।
महाधिवेशनमा थापाको उम्मेद्वारी पक्कापक्की भएपनि आफ्नो समिकरण मिलाउन लोहनी र राणाबीच सम्बाद जारी रहेको स्रोतको भनाई छ ।
महाधिवेशनबा लागि (राप्रपा)को ७१ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । २९ जिल्लामा निर्वाचन र बाँकी जिल्लामा सर्वसम्मत अध्यक्षको चयन भएको राप्रपाका सहप्रवक्ता राजाराम बर्तौलाले जानकारी दिए । ती जिल्ला अधिवेशनबाट अध्यक्षका साथै ९–९ जना महाधिवेशन प्रतिनिधिको समय चयन गरिएको छ ।
यसअघि क्षेत्रीय अधिवेशन (२४० निर्वाचन क्षेत्रबाट ९– ९ जना प्रतिनिधिको चयन गरिएको थियो भने प्रत्येक महानगरपालिकाबाट ५, उपमहानगरपालिकाबाट ३, नगरबाट २–२ जना प्रतिनिधिको चयन गरिसकिएको छ ।
यस्तै जनबर्गीय संगठनबाट ४ तथा प्रवासका २१ देशबाट २४ जना प्रतिनिधिको चयन हुनेछन् । यी सबै जोड्दा ३४६० प्रतिनिधि हुनेछन् भने बाँकी ४० जना अध्यक्षले मनोनयन गर्नेछन् ।
राप्रपाको एकताको पहिलो महाधिवेशन फागुन ६ गतेदेखि ९ गतेसम्म राजधानीमा हुँदैछ । महाधिवेशनको लागि राप्रपाले देशव्यापी सदस्यतावितरणदेखि बडा, क्षेत्र हुँदै जिल्ला अधिवेशन सम्पन्न गरेको हो । राप्रपाले माघ २१ गते क्षेत्रीय अधिवेशन गरेको थियो भने २५ गते जिल्ला अधिवेशन गरेको हो ।
क्षेत्र, जिल्ला, महानगरपालिका, उपमहानरपालिका र नगरपालिकाबाट प्रतिनिधिहरुको नाम समेत केन्द्रमा पुगिसकेको अवस्थामा को अध्यक्ष हुन्छ भन्नेबारे अहिले नै भन्न सकिने अवस्था नरहेपनि नेताहरुबीच जोड घटाउको क्रम भने सुरु भइसकेका छ ।

4510
Shares

ट्रेन्डिङ