सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

स्ववियु निर्वाचन सुरु

3160
Shares
स्ववियु निर्वाचन सुरु

त्रिविले काठमाडौँ उपत्यकाका नौ आङ्गिक क्याम्पसमा आज स्ववियु निर्वाचन सुरु गरेको छ । जनप्रशासन क्याम्पस, आयुर्वेद क्याम्पस, चिकित्साशास्त्र अध्ययन संस्थान, नर्सिङ क्याम्पस, सानोठिमी क्याम्पस, भक्तपुर क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस र सहिद आदर्श क्याम्पसमा बिहान ९ बजेदेखि निर्वाचन सुरु भएको विश्वविद्यालय अन्तर्गत निर्वाचन समितिका संयोजक गङ्गा थापाले जानकारी दिनुभयो । मतदान साँझ ४ बजेसम्म हुने छ ।
त्यसैगरी काठमाडौँ उपत्यका बाहिरका १५ आङ्गिक क्याम्पसमा पनि आज निर्वाचन भइरहेको छ । नेविसङ्घ, अनेरास्ववियु (क्रान्तिकारी)लगायत विद्यार्थी सङ्गठनले अन्य क्याम्पसमा ताल्चा लगाएकाले निर्वाचन हुन बाँकी छ ।
काठमाडौँ उपत्यका तथा बाहिरका क्याम्पसमा विद्यार्थी सङ्गठनसँग समन्वय गरी निर्वाचन गरिने संयोजक थापाले जानकारी दिनुभयो । करिब आठ वर्षपछि स्ववियु निर्वाचन आज भइरहेको छ ।
अनेरास्ववियुका सचिव आरसी लामिछानेले ‘अनेरास्ववियुका वर्चस्व रहेका अधिकांश क्याम्पसमा अन्य सङ्गठनले अवरोध गरेका कारण’ चुनाव हुन नसकेको बताउँदै वार्ता गरी चाँडो निर्वाचन गराउने वातावरण बनाउन विद्यार्थी सङ्गठनहरुसँग आग्रह गर्नुभयो ।
भद्रपुर–मेची बहुमुखी क्याम्पस भद्रपुरमा आज बिहान ८ बजेदेखि स्ववियु निर्वाचन शान्तिपूर्वक भइरहेको छ ।
निर्वाचनमा एक हजार दुई सय ८५ मतदाता छन् । निर्वाचनमा पाँच विद्यार्थी सङ्गठनले उम्मेदवारी दिएका छन् । सोअनुसार प्रत्यक्षतर्फ सबै पदका ४४ जना उम्मेदवार रहेको तथा समानुपातिकतर्फ मतदानका आधारमा पदाधिकारी चयन हुने व्यवस्था रहेको निर्वाचन समितिका सदस्य हेमराज प्रसार्इंले जानकारी दिनुभयो ।
निर्वाचनमा अखिल(क्रान्तिकारी), नेविसङ्घ, राष्ट्रिय प्रजातान्त्रिक नेपाल विद्यार्थी सङ्गठन, अनेरास्ववियु र नयाँ शक्ति नेपाल विद्यार्थी सङ्गठनबाट उम्मेदवारी दिइएको छ ।

3160
Shares

ट्रेन्डिङ