सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रधानमन्त्रीकी छाेरी, मन्त्रीका भाइ र ज्वाइँ जिताउने रणनीति

प्रधानमन्त्रीकी छाेरी, मन्त्रीका भाइ र ज्वाइँ जिताउने रणनीति

4090
Shares
प्रधानमन्त्रीकी छाेरी, मन्त्रीका भाइ र ज्वाइँ जिताउने रणनीति

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गर्ने भएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकारबाट बाहिरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौ महानगरपालिकामा गठबन्धन गरेपछि कांग्रेस र माओवादीले पनि गठबन्धन गरेका हुन्। कांग्रेस-माओवादी गठबन्धनमा प्रधानमन्त्री पुत्री रेणु दाहाल, सहरी विकास मन्त्री अर्जुननरसिंह केसीका बहिनी ज्वाइँ रामजी कुँवर र उद्योगमन्त्री नविन्द्रराज जोशीका भाइ राजुराज जोशीलाई जिताउने रणनीति देखिएको छ।
चितवनको भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारलाई नेपाली कांग्रेसले सघाउने, काठमाडौं र पोखरा महानगरपालिकामा काँग्रेसका उम्मेदवारलाई माओवादी केन्द्रले सघाउने सहमति भएको छ। भरतपुरमा कांग्रेसका उम्मेदवार दिनेश कोइरालालाई मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले नेता कृष्ण सिटौलालाई सम्झाउनु परेको स्रोतले जनाएको छ। कोइराला सिटौला निकट मानिन्छन्। कांग्रेस भित्रको शक्ति सन्तुलन मिलाउन सिटौलालाई भरतपुरको उम्मेदवार उठाउने आन्तरिक सहमति भएको थियो।
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका तर्फबाट मेयरमा रेणु दाहाल र उपमेयरमा सुरेन्द्र गुरुङले उम्मेदवारी दर्ता गराउनु भएको छ। अब काठमाडौ र पोखरा महानगरपालिकामा कांग्रेसका उम्मेदवारलाई माओवादीले सघाउने र भरतपुरमा माओवादी केन्द्रका उम्मेदवारलाई कांग्रेसले सघाउने सहमति प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच बिहीबार बालुवाटारमा भएको हो। माओवादीले भरतपुर र ललितपुर महानरपालिकामा आफ्ना उम्मेदवारलाई कांग्रेसले सघाउनु पर्ने अडान राखेको थियो। तर कांग्रेस ललितपुरमा माओवादी उम्मेदवारलाई सघाउन तयार भइसकेको छैन।
कांग्रेस र माओवादी केन्द्रका नेताबीच दुई पार्टीबीच मुलुकभर नै समझदारी कायम गर्नु पर्ने बारेमा छलफल भइरहेको छ। काठमाडौ महानगरपालिकामा कांग्रेससले राजुराज जोशीलाई मेयर र हरिप्रभा खडगीलाई उपमेयरको उम्मेदवार बनाएको छ। राजुराज जोशी उद्योगमन्त्री नविन्द्रराज जोशीका भाइ हुन। काठमाडौ महानगरपालिकामा माओवादीका तर्फबाट मेयरमा सर्वोत्तम डंगोल र उपमेयरमा सुशीला पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौ महानगरपालिकामा एमालेले विद्यासुन्दर शाक्यलाई मेयरमा र राप्रपाले राजाराम श्रेष्ठलाई उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्। पोखरा महानगरपालिकामा कांग्रेसले रामजी कुँवरलाई मेयर र सरस्वती गुरुङलाई उपमेयर बनाएको छ। माओवादीले भने विश्वप्रकाश लामिछानेलाई मेयरमा र उमा ढकाललाई उपमेयरमा उम्मेदवार बनाएको छ। रामजी कुँवर सहरी विकास मन्त्री अर्जुननरसिंह केसीका बहिनी ज्वाइँ हुन।

4090
Shares

ट्रेन्डिङ