गौशाला, २२ वैशाख । महोत्तरी जिल्लामा गएराति आधा किलोसम्मको असिना झरेसँगै भारी वर्षा भएको छ । तीव्र गतिको हावाहुरीसँगै सुरुमा सुक्खा ५० ग्रामदेखि पाँचसय ग्रामसम्मका असिना खसेको थियो भने त्यसपछि भारी वर्षा भएका कारण जिल्लाका विभिन्न गाउँठाउँमा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सुक्खा असिना, हावाहुरी र वर्षाका कारण दर्जनौँ घरका छाना उडाएको छ भने कतिको घर, गोठ, पसलसमेत भत्काएको स्थानीय पीडितले बताएका छन् ।
त्यस्तै, जिल्लाका सयौँ हेक्टर जग्गामा स्थानीय किसानले लगाएको तरकारीबाली पनि असिना, हावाहुरी र वर्षाले नष्ट बनाएको किसानले बताएका छन् । त्यसैगरी, तीव्रगतिका हावाहुरीका कारण जिल्लाका आधा दर्जनभन्दा बढी गाउँमा बिजुलीका पोल खसेर विद्युत् अवरुद्ध भएको छ र सयौँ रूख ढलेर बाटोघाटो र बिजुलीका तारसहित कतिको घरबार समेत तोडफोड गरेको विद्युत् प्राधिकरण शाखा जलेश्वरले जनाएको छ ।
भारी वर्षाले जिल्लाका मुख्य सडक, जलेश्वर–जनकपुर, जलेश्वर–मटिहानी, जलेश्वर –भिट्ठामोड र जलेश्वर – रौजामा भइरहेको निर्माण कार्यमा निकै क्षति पु¥याएको छ । वर्षाका कारण ती सबै सडकखण्डमा भइरहेको माटोको काममा सडकभरि हिलैहिलो बनाएको छ भने खाल्डाखुल्डीमा पानी जमेर यातायातमा समस्या उत्पन्न भएको छ । यसअघि कहिल्यै पनि नदेखिएको यस्तो ठूल्ठूलो असिनाले बाटोघाटोमा हिँड्ने धेरैजसो यात्रुलाई चोटपटकसमेत पु¥याएको बुझिएको छ । रासस