सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सभागृहको सडक नखुल्दा यात्रुलाई सास्ती

सभागृहको सडक नखुल्दा यात्रुलाई सास्ती

2865
Shares
सभागृहको सडक नखुल्दा यात्रुलाई सास्ती

काठमाडौँ, ७ जेठ । एक सातादेखि राष्ट्रिय सभागृहबाट पद्मोदय मोडसम्मको सडक बन्द गरिँदा दैनिक सयौँ सवारी साधन र हजारौँ यात्रु सास्ती खेप्न बाध्य छन् । राजधानीको मुटुमा रहेको यो सडक बन्द हुँदा सहरका मुख्य भागमा जाम हुने गरेको छ । यो सडक बन्द भएको निहुँ पारेर उपत्यकामा सञ्चालन भइरहेका यातायात व्यवसायीले मन लागे सवारी चलाउने मन नलागे बाटो बन्द छ भन्दै ग्यारेजमा थन्क्याएर राख्दा यात्रु दोहोरो मर्कामा परेका छन् । सवारी नपाउँदा यात्रु राति अबेरसम्म पैदल हिँड्न बाध्य छन् ।
साँखु घर भई न्युरोडस्थित एक पसलमा कार्यरत समिना श्रेष्ठ यो सडक बन्द भएकैले बेलुकी सवारी पाउन नसकिएको सुनाउनुहुन्छ । “बेलुकी सवारी नपाउँदा कहिले दुई, तीनवटा सवारी परिवर्तन गरेर घर जानुपर्छ त कहिले हिँडेरै जानुपर्छ, सडक थोरै बन्द गरेपनि हामीले धेरै दुःख पाउनु परेको छ, जनप्रतिनिधि निर्वाचित भएपछि हाम्रा समस्या समाधान गर्लान् भनेको सुरुमै सास्ती खेप्नुप¥यो” – आफूले भोगेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो ।
रमाइलो त के छ भने यो सडक कसले बन्द गरेको भनी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक लोकेन्द्र मल्लसँग जिज्ञासा राख्दा माथिको आदेशमा बन्द गरिएको उहाँ बताउनुहुन्छ । माथिको कुन निकायको आदेशमा बन्द गरिएको भन्ने उहाँले खुलाउन चाहनुभएन । ट्राफिक प्रहरीले माथिको आदेशमा सडक बन्द गरेको बताएपछि गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीसँग सम्पर्क गर्दा मन्त्रालयले सडक बन्द गर्ने आदेश नदिएको जानकारी गराउनुभयो ।
“माथिको आदेशमा सडक बन्द गरिएको भनी अमूर्त कुरा गर्न मिल्दैन, कसले सडक बन्द गर्न भनेको छ चिठ्ठी छ भने देखाउन सक्नुपर्छ” – उहाँले भन्नुभयो । मत परिणाम सुन्न आउनेको भीड व्यवस्थापनकै लागि सडक बन्द गरिएको भन्ने तर्कसँग सहमत हुन नसकिने सडक प्रयोगकर्ताको भनाइ छ । सामाजिक सञ्जाल नहुँदाका बेला सभागृहमा मत परिणाम सुन्न भीड लागेजस्तो अहिले छैन । मत परिणामका विषयमा सूचना सम्प्रेषण गर्न प्रमुख सञ्चारमाध्यमका पत्रकार सभागृहभित्रै बसेका छन् ।
सूचना सार्वजनिक हुने बित्तिकै राष्ट्रियस्तरका सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण भइरहेको छ । अझ फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालका कारण मत गणनास्थलमा रहेका दलका प्रतिनिधि, सञ्चारकर्मीले नयाँ सूचना प्राप्त हुनासाथ सार्वजनिक गरिरहेकै छन् । यसैले गर्दा सभा गृह परिसरमा मत परिणाम सुन्न पहिले जति भीड छैन । कुनै दलले वडा विजय गर्दा सामान्य ¥याली निस्कने गरेको छ । यसका लागि सडक बन्द गरेर यात्रुलाई दुःख दिनु नपर्ने सवारी खोज्दै भौँतारिनु भएका श्यामसुन्दर श्रेष्ठ बताउनुहुन्छ ।
वैशाख ३१ गते स्थानीय तहको पहिलो चरणको निर्वाचन भएपछि त्यसै दिन रातिदेखि काठमाडौँ महानगरपालिको मतगणना सभागृहमा भइरहेको छ । अहिले १३ स्थानमा मतगणना भइरहे पनि सबै मतगणना सक्न अझै एक साता लाग्ने देखिन्छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामा सभागृहबाट पद्मोदय मोड सडकमा सवारी रोकेकै कारण मतगणना स्थललाई व्यवस्थापन गर्न सकिएको दाबी गर्नुहुन्छ ।
“सभागृहबाट पद्मोदय मोडसम्म सवारी चलाउन दिने हो भने सवारी र मानिसको भीड व्यवस्थापन गर्न सकिँदैन, अहिले सडकमा सवारी रोकेकैले मतगणनामा सहज भएको छ”–उहाँले भन्नुभयो । ट्राफिक प्रहरी महाशाखाले शङ्करदेवबाट पुराना बसपार्कसम्मको सडकको दायाँबायाँ दोहोरो सवारी पार्किङ गर्न दिँदा सवारी चलाउन अप्ठ्यारो भएको चालकको गुनासो छ । यो क्षेत्रमा पार्किङ निषेध नगर्दा पनि घन्टौँ जाममा बस्नुपर्ने बाध्यता रहेको चालक ज्ञानबहादुर तामाङले बताउनुभयो ।
अघिपछि सडकमा पार्किङ गर्ने सवारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिए पनि एक सातादेखि स्थानीय तह निर्वाचनकै कारण वास्ता नगरेको यहाँका स्थानीय व्यापारीको भनाइ छ । एकतर्फी मात्र भए पनि यो सडक खुलाए यात्रुले सास्ती खेप्नु नपर्ने उनीहरु बताउँछन् । रासस

2865
Shares

ट्रेन्डिङ