सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • विद्यार्थी ज्वरोले बिरामी हुन थालेपछि विद्यालय बन्द

विद्यार्थी ज्वरोले बिरामी हुन थालेपछि विद्यालय बन्द

1525
Shares
विद्यार्थी ज्वरोले बिरामी हुन थालेपछि विद्यालय बन्द

बाजुरा | जिल्लाको पूर्वोत्तर स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिका भाइरल ज्वरो र रुघाखोकीले बिरामी हुन थालेपछि विद्यालय धमाधम बन्द गर्न थालिएका छन्।

स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि बन्द गरिएको छ। प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुखाखोकीले बालबालिका प्रभावित हुन थालेकाले जोखिम फैलिन नदिन विद्यालय बन्द गरेको बताए।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बालबालिकामा भाइरल ज्वरोको समस्या देखिएकाले विद्यालय बन्द गरेको जानकारी दिए। भाइरल ज्वरो नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई औषधि दिएर उपचारमा खटाउने उनले बताए।

एक साताअघि स्वामीकार्तिक गाउँपालिकाको जुकोटस्थित शम्भुसुनन्दा माध्यमिक विद्यालयका बालबालिकामा पनि भाइरल ज्वरोको समस्या देखिएको थियो। चिसो अत्यधिक बढेसँगै रुघाखोकी र भाइरल ज्वरोको सङ्क्रमण देखिन थालेको हो । लामो समयदेखि पानी नपर्दा धुलो र धुवाँका कारण समुदायमा रुघाखोकी फैलिएको स्वास्थ्यकर्मी बताउँछन्।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. रञ्जित शाहले रुघाखोकी सरुवा रोग भएका कारण हावा र हाँछ्युका माध्मबाट सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले सुरक्षित रहन आग्रह गरे।

1525
Shares

ट्रेन्डिङ