काठमाडौं। नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छिन् ।
सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले बिहीबार बिहान ६ : २३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथामा सबैभन्दा छिटो पुग्ने महिला आरोहीको कीर्तिमान बनाएकी हुन् ।
बुधबार दिउँसो ३ : ५२ मा आधार शिविरबाट आरोहण सुरू गरी बिहीबार बिहान ६:२३ बजे आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन् ।
यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाएकी थिइन् । पछि सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको कीर्तिमान फुञ्जोले तोडेकी हुन् ।