काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ निर्माण गर्न लागेको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् ।
महानगरपालिकाले ९ माघ २०८० देखि व्यापारिक क्षेत्र न्युरोडका सडक दायाँबायाँ पार्किङ हटाएपछि महानगरले पैदल यात्रुलाई सहज बनाउन फुटपाथको चौडाइ बढाउन निर्माण कार्य सुरु गरिसकेको छ ।
स्थानीयले ‘नयाँ सडक बचाऔं’, ‘न्युरोड साँघुरो गर्न पाइँदैन’ जस्ता नारा लेखिएका तुल बोकेर न्युरोड गेटदेखि विरोध प्रदर्शन गरिरहेका छन् ।
चालु आर्थिक वर्षको बजेटबाट यो न्यूरोडको फुटपाथ बढाउन बजेट महानगरले छुट्याएको थियो ।
करिब ३ करोड १९ लाख रुपैयाँ लागत अनुमान गरिएको कामका लागि करिब २ करोड ५६ लाख रुपैयाँ (२०.११ प्रतिशत) घटी रकममा काम सम्पन्न गर्न प्रस्ताव गर्ने आरोग्य साइटेक जेभीलाई मूल्यांकन समितिले ६ वैशाख २०८१ मा छनोट गर्यो ।
महानगरको सार्वजनिक विभागका अनुसार न्युरोड, धर्मपथ, शुक्रपथ, खिचापोखरीसहितका सडक खण्डका पैदल मार्ग फराकिला हुनेछन् । यी क्षेत्रहरू महानगरको वडा नम्बर २२, २३ र २४ मा पर्छन् ।