काठमाडौं । भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदैछन् ।
५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो उनी नयाँदिल्ली जान लागेका हुन् । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिँदैछन् ।
भारतीय जनता पार्टी(भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन(एनडीए) ले बहुमत ल्याएपछि मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्ने तयारीमा छन् ।
प्रधानमन्त्री दाहालका साथमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गंगा दाहाललगायत उच्चपदस्थ सरकारी कर्मचारी जाने बताइएको छ ।
यसअघि सन् २०१४ मा मोदी पहिलो कार्यकालका लागि भारतीय प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नयाँदिल्ली गएका थिए ।