काठमाडौँ । विदेश पठाउने बहाना बनाएर ५ जना युवतीहरूलाई बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई चितवनबाट पक्राउ गरेको छ ।
मकवानपुरको हेटौंडा घर भएका ४४ वर्षीय राज कुमार थिङ उर्फ राजु तामाङलाई नारायणगढ बाट पक्राउ गरिएको चितवनका एसपी गौतम मिश्रले बताए ।
गाउँका सोझासिधा युवतीहरूलाई बिना रकम विदेश पठाउँछु भनेर उनले नारायणगढबाट सुनौलिको बस चढाएर भारत पठाउन लागेका थिए । पासपोर्ट संकलन गरेर भारतबाट भिसा लगाइदिन्छु भनेर बेचबिखन गर्न लागेको सूचना पाएपछि आरोपीलाई पक्राउ गरिएको एसपी मिश्रले जानकारी दिए ।
उनले भारत लैजान लागेको अवस्थामा ५ जना युवतीहरूलाई प्रहरीले उद्धार गरेर सुरक्षित गृहमा पठाएको छ । आरोपीविरुद्ध मानव बेचबिखन मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको एसपी मिश्रले बताए ।