सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुक्खा पहिरोमा पाँचवटा सवारीसाधन पुरिए, दुईको मृत्यु

सुक्खा पहिरोमा पाँचवटा सवारीसाधन पुरिए, दुईको मृत्यु

2600
Shares
सुक्खा पहिरोमा पाँचवटा सवारीसाधन पुरिए, दुईको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ कविलासको घुमाउनेमा आज सुक्खा पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा बा १० प ४८४४ नं को मोटरसाइकलका चालक लमजुङ सुन्दरबजार–३ भोटेओडारका अन्दाजी ४५ वर्षीय रेशमराज राना रहेका छन् ।
सोही मोटरसाइकलको पछाडि सवार रानाका १५ वर्षीय छोरा सन्दिप घाइते भएका छन् । सन्दिपको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, मुग्लिन हुँदै नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ५४१९ नं को ट्याङ्करका सहचालक भारतको वेतिया घर भएका २५ वर्षीय विनयकुमार कोइरीको मृत्यु भएको छ । पुरिएको ट्याङ्कर निकाल्दै गर्दा उनको शव फेला परेको हो ।

ट्याङ्कर चालक पर्सा लक्ष्यमनुवा–१८ का ३६ वर्षीय बनु पटेल घाइते हुनुभएको छ । उहाँको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचार गराई रहनुभएका पटेलले अकस्मात ठूल्ठूला ढुङ्गा झरेको र ट्याङ्करसँगै अन्य सवारी साधन पनि पहिरोमा पुरिएको बताउनुभयो ।
पहिरोस्थलबाट रा १ ख ७७९ नं को मिनी ट्रक, बा १६ च ३९०७ नं को कार र ना ६ ख ६६६४ नं को ट्रक बाहिर निकालिएको छ । यी सवारीसाधनमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । विहान १०ः३० बजे अकस्मात पहिरो खसेको हो ।
अवरुद्ध सडक सञ्चालनमा
यसैबीच, सुक्खा पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड अपराह्नदेखि सञ्चालनमा आएको छ ।
चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार अवरुद्ध सडक अपराह्न ४ः३० बजेदेखि सञ्चालनमा आएको हो । पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यतर्फ गइरहेको प्रहरीले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड चौडा गर्ने कार्य भइरहेको छ । सोहीक्रममा भित्तो काटिएको क्षेत्रमा पहिरो खसेको हो । भित्तो काट्नका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सडकमा आवागमन रोकिएको थियो । सडकमा बिहान १० बजे अघि नै छिरेका सवारीका साधन वाहिर निक्लनुअघि नै दुर्घटना भएको हो । रासस

2600
Shares

ट्रेन्डिङ