काठमाडौँ । त्रिभुवन विभानस्थल भन्सार कार्यालयले सुनसहित एक जनालाई पक्राउ गरेको छ । एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका चितवनका आशिष सुवेदी १ किलो १ सय ग्राम सुनसहित शुक्रबार पक्राउ परेका हुन् ।
रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा सुनलाई प्याक गरेर ल्याएको अवस्थामा सुवेदी पक्राउ परेका हुन् । भन्सारका कर्मचारीले नियमित जाँचका क्रममा शंका लागेर ‘ह्यान्ड क्यारी’ मा भएको सामान राम्रोसँग हेर्न थालेपछि सुवेदी डराएका थिए । सुनजस्तै पँहेलो देखिने छाम्दा गिलोगिलो प्लास्टिकको विशेष भाँडोमा राखेर सुन भित्र्याइएको थियो ।
विमानस्थल प्रमुख भन्सार अधिकृत ललिता ज्ञवालीका अनुसार सुनको शंका गरेर प्रारम्भिक सोधपुछ गर्ने बित्तिकै सुवेदीले आफूसँग कसैले पठाएको सुन रहेको बताएका थिए । ह्याण्ड क्यारीलाई एक्स–रेमा स्क्यान गर्ने बेला धातुजस्तो बस्तु देखेपछि सुनको शंका गरिएको थियो ।
भिजिट भिसामा दुबई गएकामा काम नपाएर फर्किने बेला अपरिचित व्यक्तिले सुन काठमाडौं पुर्याएमा १० हजार दिने आश्वासनमा आफू भरिया मात्र बनेको उनले बताए । सुन उनले गोप्य अंगमा लुकाएर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुवेदीलाई गौशाला प्रहरीमा राखिएको छ ।
ज्ञवालीले सुनको गुणस्तर र तौल यकिन गर्न बरामद भएको बस्तु आइतबार नेपाल राष्ट्र बैंकमा पठाउने जानकारी दिइन् । भन्सार अधिकारीहरूले सुवेदीको हाउभाउ र अवस्था देख्दा उनलाई कसैले प्रयोग गरेको अनुमान भन्सार अधिकारीहरुको रहेको छ ।
सुन पठाउने व्यक्तिले दिएको सम्पर्क सूत्रले सुवेदीलाई फोन गरेर भेट्ने स्थान दिएको थियो ।