भदौ ३१, काभ्रे : नेवार समुदायको मौलिक संस्कृति, जातीय पहिचान र भेषभूषाको संरक्षण गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ स्थित खरिबोटमा गणेश चतुर्थीको अवसरमा सुकुन्दा र्याली सम्पन्न भएको छ।
महाकाल गणेश मन्दिर व्यवस्थापन समितिको आयोजना तथा राधाकृष्ण मन्दिर कन्या पूजा समिति, खरिबोट र नेवा पुचको सहआयोजनामा मंगलबार र्याली निकालिएको हो।

र्यालीमा स्थानीय महिला तथा बालबालिका नेवारी भेषभूषामा सजिएर सुकुन्दा बोकी सहभागी भएका थिए। सुकुन्दामा दीप प्रज्वलन गरी धार्मिक तथा सांस्कृतिक महत्व झल्काउने गरी र्याली निकालिएको थियो। कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।
सुकुन्दा नेवार समुदायले धार्मिक तथा सांस्कृतिक अवसरमा प्रयोग गर्ने परम्परागत धातुको दीपपात्र हो। यसमा तेल वा घिउ राखेर बत्ती बाल्ने गरिन्छ। सुकुन्दालाई शुभ, ज्ञान र उज्यालोको प्रतीकका रूपमा लिइन्छ। नेवार समुदायका विभिन्न जात्रा, पर्व तथा धार्मिक कार्यक्रममा सुकुन्दा प्रयोग गर्ने तथा सुकुन्दा बोकेर र्याली निकाल्ने परम्परा रहिआएको छ।
महाकाल गणेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गौरी नारायण श्रेष्ठका अनुसार खरिबोटमा यो जात्रा परापूर्वकालदेखि नै चलिआएको थियो। बीचमा केही समय जात्रा सञ्चालन हुन नसके पनि आफू वडा सदस्य भएपछि पुनः जात्रालाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो। उहाँका अनुसार सुकुन्दा र्याली सञ्चालन भएको यस वर्ष छैटौँ वर्ष पूरा भएको छ।
“यो जात्रालाई निरन्तरता दिने र सबै जातजातिलाई समेट्ने जमर्को गरेका छौँ। । हाम्रो जातीय पहिचान र भेषभूषाको संरक्षण तथा संस्कृति जोगाउने उद्देश्यले सुकुन्दा र्यालीलाई अगाडि बढाएका हौँ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पनौतीमा विभिन्न जात्रा, पर्व तथा उत्सवलाई जीवन्त राखिएकोमा खुसी व्यक्त गर्नुभयो। पनौती ऐतिहासिक क्षेत्र भएकाले यहाँ विभिन्न जातजाति र समुदायको धार्मिक तथा सांस्कृतिक पहिचान जोडिएको बताउँदै उहाँले समाज रूपान्तरणका लागि सबै धर्म र जातजातिको भूमिका आवश्यक रहेको बताउनुभयो।
उहाँले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै नयाँ पुस्तालाई मौलिक संस्कृति र परम्परासँग जोड्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।


