काभ्रे ; काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–११ स्थित पात्लेखेत गाउँमा बिहानको उज्यालो राम्ररी फैलिन नपाउँदै एक कर्मशील युवाको दैनिकी सुरु भइसकेको हुन्छ । पूर्वको डाँडाबाट घामका किरणहरू झुल्किनुअघि नै, जब गाउँ अझै सुतिरहेको हुन्छ, ३८ वर्षीय शिवहरि भुजेल भने आफ्नो ओछ्यान छाडेर कर्म क्षेत्र तर्फ अघि बढिसक्नुहुन्छ । बिहान करिब ५ बजे नै उहाँ घरबाट निस्किएर नजिकै रहेको पोल्ट्री फार्मतर्फ लाग्नुहुन्छ ।
फार्मको ढोका खोल्नासाथ खोरभित्र कुखुराको चहलपहल सुरु हुन्छ ।खोरभित्र पुगेर कुखुराहरूको स्वास्थ्य अवस्था नियाल्नु, बिरामी वा कमजोर भएका कुखुरालाई छुट्याउनु, सफा पानी र सन्तुलित दानाको व्यवस्था मिलाउनु उहाँको बिहानको पहिलो र अनिवार्य दायित्व हो। गाउँका अन्य घरहरूमा भर्खरै चुलो बालेर चिया पिउने तयारी हुँदै गर्दा शिवहरि भने कुखुराका खोर सफा गर्ने, दानाका बोरा ओसार्ने र फार्मको समग्र वातावरण व्यवस्थापन गर्ने कठिन शारीरिक श्रममा तल्लीन भइसक्नुभएको हुन्छ । तर, शिवहरिको यो लगनशीलता र व्यस्तता केवल एउटा पोल्ट्री फार्मको खोरभित्र मात्र सीमित छैन।
बिहानको फार्मको यो प्राविधिक र शारीरिक श्रम सकेलगत्तै उहाँको दिनको दोस्रो अध्याय सुरु हुन्छ । फार्मको काम सकेर घर फर्किई हतार–हतार नित्यकर्म र खानपिन पछि उहाँको पाइला सीधै स्थानीय हनुमान माध्यमिक विद्यालय तर्फ मोडिन्छ । संयोग र जीवनको सुन्दर मोड़ भनौँ, जुन विद्यालयको कक्षाकोठामा उहाँले बाल्यकालमा कखरा सिक्दै कक्षा १२ सम्मको शिक्षा हासिल गर्नुभएको थियो, आज त्यही विद्यालयमा उहाँ पछिल्लो दुई वर्षदेखि ‘कार्यालय सहयोगी’ का रूपमा निष्ठापूर्वक कार्यरत हुनुहुन्छ ।

कुनै समय विद्यार्थीका रूपमा गुरुहरूबाट ज्ञान र अनुशासन सिक्ने त्यही प्राङ्गणमा अहिले उहाँ विद्यालयका ढोकाहरू खोल्ने, समयमा घण्टी बजाउने, प्रशासनिक कागजातहरूको व्यवस्थापन गर्ने र विद्यालयको वातावरण स्वच्छ राख्ने जिम्मेवारी सम्हालि रहनु भएको छ । आफू पढेको विद्यालय प्रति एउटा छुट्टै आत्मीयता र श्रद्धा भाव भएकाले उहाँ आफ्नो ड्युटी समयभर पूर्ण इमानदारीका साथ सेवा पु¥याउनुहुन्छ । अपरान्ह विद्यालयको अन्तिम घण्टी बजिसके पछि र विद्यार्थी तथा शिक्षकहरू घर फर्किएपछि शिवहरिको पाइला थकाइ नमारेर फेरि पोल्ट्री फार्मतर्फ नै मोडिन्छ ।
परदेशको मरुभूमि, तीन वर्षको बाध्यता र मनको छटपटी
आज आफ्नै गाउँमा दुई फरक–फरक श्रम क्षेत्रमा समय र पसिना खर्च गरि रहनु भएका शिवहरिको विगत भने निकै सङ्घर्षपूर्ण र वेदनादायी थियो । केही वर्ष अघि सम्म उहाँ पनि नेपालका अन्य हजारौँ युवाहरू जस्तै वैदेशिक रोजगारीको सपना बोकेर भौँतारिनुभएको थियो ।
परिवारको एक्लो छोरा हुनुको नाताले वृद्ध बुबाआमाको नियमित हेरचाह र औषधि उपचारको दायित्व उहाँकै काँधमा थियो । साथै,श्रीमती दुई छोरी र एक छोरा सहितको ७ जनाको परिवारको पालनपोषण, शिक्षादीक्षा र भविष्य सुदृढ गर्ने ठूलो जिम्मेवारी पनि उहाँमाथि नै थियो । गाउँमा तत्कालै गतिलो आम्दानीको बाटो नदेखिएपछि उहाँले बाध्य भएर वैदेशिक रोजगारीको बाटो रोज्नुभयो र मलेसिया पुग्नुभयो ।
मलेसियामा उहाँले सेक्युरिटी गार्ड (सुरक्षा गार्ड) का रूपमा लगातार तीन वर्ष बिताउनुभयो । १२ घण्टाको कडा ड्युटी, कडा अनुशासन र अपरिचित मानिसहरूको बीचमा काम गर्दा आम्दानी र रोजगारीको अनुभव त भयो, तर त्यसबापत उहाँले तिरेको पारिवारिक मूल्य निकै ठूलो थियो ।घरमा दसैँ–तिहार जस्ता ठूला चाडपर्वहरू आउँदा, बुबाआमा बिरामी परेर अस्पताल भर्ना हुँदा वा छोराछोरीले बाबा सम्झेर रुँदा उहाँ केवल मोबाइलको भिडियो कलको स्क्रिनमा टोलाउन बाध्य हुनुहुन्थ्यो । “मलेसियामा पसिना बगाउँदा पैसा त हात पथ्र्यो, तर परिवारबाट टाढा रहँदाको त्यो एक्लोपन र मानसिक तनाव शब्दमा बयान गर्न सकिँदैनथ्यो,“ पुरानो दिन सम्झँदै भुजेल भन्नुहुन्छ, “त्यहाँ अरूका लागि १२–१४ घण्टा खट्दा लाग्थ्यो— यो मेहनत आफ्नै माटोमा गर्न पाए कति राम्रो हुन्थ्यो होला !“
परिवारका सदस्यहरूको सुखदुःखमा साथ दिन नपाएको त्यही छटपटीले उहाँलाई स्वदेश फर्किने बाटो देखायो । तीन वर्षको सम्झौता सकिए पछि उहाँले फेरि विदेश नफर्किने र आफ्नै गाउँठाउँमा उपलब्ध अवसरहरूलाई उपयोग गर्दै जीवन चलाउने दृढ सङ्कल्प गर्नुभयो । यही अठोटका साथ उहाँ वि स २०७६ सालमा स्वदेश फर्किनुभयो र गाउँकै एक पोल्ट्री फार्ममा कामदारका रूपमा जोडिनुभयो ।
सङ्घर्ष, बजारीकरणका चुनौती र समयको अचम्मको तालमेल
सुरुका दिनमा कुखुरा पालन सम्बन्धी व्यावसायिक अनुभव नभएका कारण शिवहरिका लागि यो काम बिल्कुलै नयाँ थियो । कुखुराको सरसफाइ, औषधीोपचारको समय, चल्लाको तापक्रम व्यवस्थापन र दानाको मात्रा मिलाउने काम उहाँले यहीँ खटिएर सिक्नुभयो । हाल उहाँ कार्यरत फार्ममा दुई हजार ब्रोइलर कुखुरा रहेका छन् । ब्रोइलर कुखुराको एक लट तयार हुन करिब ४५ दिनको समय लाग्छ । यस अवधिभर कुखुराको हरहिसाब र चौबीसै घण्टा रेखदेख गरेबापत उहाँले मासिक रु १८ हजार पारिश्रमिक पाउनुहुन्छ । फार्म आफ्नै लगानीको नभई अरूकै भए पनि उहाँ त्यसलाई आफ्नै सम्झेर दिनरात खट्नुहुन्छ ।
पोल्ट्री क्षेत्रमा बाहिरबाट हेर्दा सामान्य लागे पनि यसभित्र अनगिन्ती चुनौतीहरू छन ्। बजारमा चल्ला, दाना र औषधिको मूल्य दिन प्रतिदिन बढ्दै जानु तर उत्पादित कुखुराको बिक्री मूल्य सधैँ अस्थिर र उतारचढावपूर्ण हुनु यस क्षेत्रको ठूलो समस्या हो । “कहिलेकाहीँ लागत खर्च नै नउठ्ने गरी कुखुराको भाउ घट्दा व्यवसायीहरू घाटामा जान्छन्, जसको अप्रत्यक्ष असर हामी काम गर्नेहरूमा पनि पर्छ,“ उहाँ आफ्नो व्यावहारिक अनुभव सुनाउनुहुन्छ ।
यी चुनौती र बिहान ५ बजेदेखि राति सम्मको व्यस्तताका बीच शिवहरिले समयको उत्कृष्ट व्यवस्थापन गर्नुभएको छ । विद्यालयको जागिर र पोल्ट्री फार्मको श्रमलाई सँगै लैजान उहाँलाई घरपरिवारको बलियो साथ मिलेको छ । विशेष गरी उहाँ विद्यालयमा ड्युटीमा रहेका बेला उहाँकी ,श्रीमतीले फार्ममा पुगेर दाना–पानी दिने र कुखुराको रेखदेख गर्ने काममा पूर्ण सहयोग गर्नुहुन्छ । पारिवारिक समन्वय र सहकार्यकै कारण उहाँलाई यो दोहोरो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सहज भएको छ ।
माटोको सुगन्ध र आत्मसन्तुष्टिको नयाँ गोरेटो
आज परदेशको तीतो यथार्थलाई छाडेर आफ्नै गाउँमा पसिना बगाउँदै गर्दा भुजेलको अनुहारमा एउटा अलग्गै चमक र आत्मसन्तुष्टि देख्न सकिन्छ । बिहान सबेरैदेखि रातिसम्म खट्नुपर्दा शारीरिक थकान अवश्य हुन्छ, तर त्यो थकानभन्दा आफ्नै परिवारको सामिप्यताले दिने खुसी धेरै गुणा ठूलो छ ।बिहान काममा निस्किए पनि दिनको केही समय, साँझ–बिहान परिवारसँगै बसेर तातो भात खान पाउनु, आमाबुबाको रेखदेख आफैँले गर्न पाउनु र छोराछोरीको हुर्कँदो बाल्यकाल आफ्नै अगाडि देख्न पाउनु नै उहाँका लागि जीवनको सबैभन्दा ठूलो धन बनेको छ ।
“नेपालमा काम छैन भनेर विदेशिन ुअघि हामीले आफ्नै गाउँघरमा उपलब्ध साना–तिना अवसरहरू चिन्न सक्नुपर्छ,“ शिवहरि आत्मविश्वासका साथ सन्देश दिनुहुन्छ, “विदेशमा अरूका लागि जति कडा मेहनत गरिन्छ, त्यसको आधा मेहनत मात्र आफ्नै माटोमा गर्न सकियो भने परिवारको साथमा रहेर सहजै जीवनयापन गर्न सकिन्छ । काम कहिल्यै सानो वा ठूलो हुँदैन, इमानदारी र लगनशीलता नै ठूलो कुरा हो ।“
वैदेशिक रोजगारीको मोहभङ्ग भएर आफ्नै गाउँमा दोहोरो श्रम गर्दै आत्मनिर्भरताको बाटो समातेका शिवहरि भुजेल आज पात्लेखेत गाउँका लागि मात्र होइन, रोजगारीको खोजीमा विदेशिन तयार भएका हजारौँ नेपाली युवाहरूका लागि एउटा प्रत्यक्ष र प्रेरणादायी उदाहरण बन्नुभएको छ ।


