काभ्रे ; तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन् । पर्वका लागि फूलको माग बढ्ने समय नजिकिएसँगै ५९ वर्षीय घिमिरे फूलको स्याहार र बिक्रीको तयारीमा व्यस्त हुनुहुन्छ । परदेशमा १७ वर्ष बिताएर फर्किनुभएका उहाँले पाँच रोपनीबाट सुरु गरेको फूलखेती अहिले १४ रोपनीमा विस्तार गर्नुभएको छ ।
नौ वर्षअघि स्वदेश फर्किनु भएका घिमिरेले सुरुका दुई–तीन वर्ष खासै काम गर्नुभएन । लामो समय काम गरेर बिताउनु भएका उहाँलाई घरमै निष्क्रिय भएर बस्न सहज भएन । आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोच आए पछि उहाँले कृषि व्यवसाय रोज्नुभयो । यसमा परिवारबाट पनि पूर्ण साथ र सहयोग प्राप्त भयो ।
पाँच वर्ष अघि कृषि व्यवसाय सुरु गर्नु भएका उहाँले सुरुका दुई वर्ष गोलभेँडा र काँक्रोखेती गर्नुभयो । तरकारी खेतीबाट अनुभव बटुल्नु भएका उहाँले पछि फूलखेतीको सम्भावना देख्नुभयो । दशैँ र तिहार जस्ता पर्वमा सयपत्री फूलको माग बढी हुने भएकाले त्यसलाई व्यावसायिक रूपमा उत्पादन गर्ने सोच बनाउनुभयो । सोही सोच अनुसार पाँच रोपनी क्षेत्रफलबाट फूलखेती सुरु गर्नुभयो ।

पहिलो वर्षको उत्पादन र बिक्रीको अनुभवले उहाँलाई यस व्यवसायमा अघि बढ्न थप हौसला मिल्यो । सुरुमा सीमित क्षेत्रफलमा गरिएको खेतीलाई विस्तार गर्दै अहिले १४ रोपनीमा पु¥याउनु भएको छ । उहाँले जापानी र थाई जातका हाइब्रिड सयपत्री फूल लगाउनु भएको छ ।
घिमिरेले खेतीका लागि कुल ५२ रोपनी जग्गा भाडामा लिनु भएको छ ।
त्यस मध्ये १४ रोपनीमा सयपत्री फूलखेती गर्नु भएको छ भने बाँकी ३८ रोपनीमा फर्सी, सागसब्जी, गोलभेँडा लगायतका तरकारी खेती गर्दै आउनु भएको छ । जग्गा भाडाबापत उहाँले वार्षिक रु सात लाख ५० हजार तिर्दै आउनु भएको छ । फूलखेतीको मौसम सकिए पछि पनि अन्य तरकारी उत्पादन गरी वर्षभरि नै जमिनको उपयोग गर्दै आउनु भएको छ ।
फूलखेतीका लागि बिरुवा रोप्ने काम साउन महिना देखि सुरु हुन्छ । रोपेको करिब तीन महिनामा फूल बिक्रीका लागि तयार हुने उहाँले बताउनुभयो । दशैँ र तिहारमा फूलको खपत बढी हुने भएकाले सोही समयलाई लक्षित गरेर खेती व्यवस्थापन गर्दै आउनु भएको छ ।
घिमिरेको फूलखेतीले उहाँलाई मात्र होइन, अन्य व्यक्तिलाई पनि रोजगारी दिएको छ । खेतीमा १० जना कामदार संलग्न छन् । फूल रोप्ने, गोडमेल गर्ने, स्याहार गर्ने र टिप्ने काममा उनीहरूको सहयोग लिने गरिएको छ । व्यावसायिक खेती विस्तार सँगै कामदारको आवश्यकता पनि बढेको उहाँले बताउनुभयो ।
गत वर्ष करिब छ हजार किलो फूल उत्पादन गर्नु भएका घिमिरेले बिक्रीबाट खर्च कटाउनुअघि करिब रु १८ लाख आम्दानी गर्नुभएको थियो । उत्पादित सयपत्री फूल बनेपालगायत काठमाडौंका विभिन्न बजारमा बिक्रीका लागि लैजाने गरिएको छ । विशेष गरी काठमाडौंको पशुपति, जडीबुटी र धुम्बाराही क्षेत्रमा फूल पु¥याएर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।
यस वर्ष पनि फूलको उत्पादन राम्रो भएको उहाँले बताउनुभयो । तर उत्पादन राम्रो हुँदैमा आम्दानी सुनिश्चित नहुने उहाँको अनुभव छ । बजारको माग र मूल्यले किसानको आम्दानी निर्धारण गर्ने भएकाले उहाँ अहिले फूल बिक्रीको उचित समय पर्खिरहनु भएको छ । यस वर्ष तिहार केही ढिलो परेकाले फूलको बिक्री र मूल्यमा असर पर्न सक्ने उहाँको अनुमान छ । उत्पादन राम्रो भए पनि तत्कालै सबै फूल बिक्री नगरी तिहारको मुखमा मूल्य बढ्ने आशा सहित बजारको अवस्था पर्खिरहेको उहाँले बताउनुभयो । यस वर्ष फूलको मूल्य प्रतिकिलो करिब रु २५० पुग्ने उहाँको अपेक्षा छ ।
“उत्पादन राम्रो भएको छ । अब बजारले कस्तो मूल्य दिन्छ भन्ने भोलिको कुरा हो । हतार गरेर फूल बिक्री गरेको छैन । तिहारको मुखमा राम्रो भाउ आउँछ कि भन्ने आशा छ”, उहाँले भन्नुभयो । किसानका लागि उत्पादन गर्नु एउटा पक्ष हो भने उत्पादित वस्तु उचित मूल्यमा बिक्री गर्नु अर्को चुनौती हो । फूलको उत्पादन राम्रो भए पनि बजारमा माग र मूल्य कस्तो हुन्छ भन्ने कुरा पहिल्यै निश्चित गर्न सकिँदैन । पर्वको समयमा एकैपटक धेरै किसानको उत्पादन बजारमा पुग्ने भएकाले मूल्यमा उतारचढाव हुन सक्ने जोखिम रहने उहाँको अनुभव छ । किसानले उत्पादन गरेको फूलको बजार सुनिश्चित हुन सके व्यवसायलाई थप व्यवस्थित बनाउन सहज हुने उहाँले बताउनुभयो ।
स्वदेशमै फूल उत्पादन भइरहेका बेला विदेशबाट फूल आयात हुने गरेको प्रति उहाँको असन्तुष्टि छ । नेपाली किसानले उत्पादन गरेका फूललाई प्राथमिकता दिन सके स्वदेशी उत्पादनको बजार विस्तार हुने र किसानलाई थप प्रोत्साहन मिल्ने उहाँले बताउनुभयो । विशेष गरी तिहारका बेला स्वदेशी फूलको माग र खपत बढाउन सके स्थानीय किसानले उत्पादन गरेको फूलले बजार पाउने उहाँको अपेक्षा छ ।
“कहिले काहीँ सन्तुष्ट छु, कहिले काहीँ असन्तुष्ट पनि हुन्छु । नेपालका किसानलाई सम्बन्धित निकायले पर्याप्त ध्यान दिनुपर्छ । स्वदेशमै उत्पादन भएका फूललाई प्राथमिकता दिएर विदेशबाट फूल आयात नगर्ने हो भने किसानलाई धेरै राहत हुन्थ्यो”, उहाँले भन्नुभयो ।विदेशमा लामो समय बिताएर फर्किनु भएका घिमिरे अहिले आफ्नै गाउँमा कृषि व्यवसायमा रमाउनु भएको छ ।
उहाँका लागि फूलखेती आम्दानीको माध्यम मात्र बनेको छैन, काम गर्ने इच्छा र अनुभवलाई आफ्नै माटोमा उपयोग गर्ने अवसर समेत बनेको छ । फूलको मौसममा सयपत्री र अन्य समयमा सागसब्जी तथा तरकारी उत्पादन गर्दै उहाँले वर्षभरि खेतबारीलाई व्यस्त राख्नुभएको छ ।
मेहनत गरेर उत्पादन गरेको फूलले उचित मूल्य पाउन सके किसानलाई यस क्षेत्रमा टिकिरहन सहज हुने उहाँको विश्वास छ । स्वदेशमै उत्पादन र बजारीकरणको वातावरण बन्न सके पुष्पखेतीले किसानको आम्दानी बढाउनुका साथै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सक्ने उहाँको अनुभव छ ।


